
काठमाडौँ, ११ चैत। मुलुकका विभिन्न ठाउँमा भएका दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । धनुषा, पर्सा र मकवानपुरमा भएको दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।
धनुषाको औरही गाउँपालिका–१ पौडेश्वरस्थित सडकमा देउरीबाट तारापट्टीतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००९ प ०८१८ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार मिथिला बिहारी नगरपालिका–७ तारापट्टी बस्ने ३६ वर्षीया शिला देवी साहको मंगलबार राति मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका–१७ स्थित सडकमा जेएच २ बिक्यू ६९१९ नम्बरको ट्रकमा बीआर २२ एजेड ३११८ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका–१७ बस्ने ३० वर्षीय ईतियाज अंसारीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उता, मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.८ ख ८७६० नम्बरको ट्रक अनियन्त्रित भई गए राति दुर्घटना हुँदा ट्रकमा सवार पर्सा वीरगंज महानगरपालिका–३२ बस्ने २० वर्षीय सन्तोष यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै दुर्घटनामा घाइते भएका ट्रक चालकलाई थप उपचारको लागि चितवन तर्फ पठाइएको छ ।
तीनवटै घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
