समयको गर्तमा पर्त बन्दै बज्जिकाञ्चल निधि—सञ्जय सुदामा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन ८, शनिबार (५ साल अघि)
  • ५ पटक पढिएको
समयको गर्तमा पर्त बन्दै बज्जिकाञ्चल निधि—सञ्जय सुदामा

फाल्गुन ०८ गते
नेपालको पश्चिममा बारा जिल्लादेखि पूर्वमा महोत्तरी जिल्लासम्म चौडाई लिएर सरदर चुरेदेखि गङ्गासम्म लामो विभिन्न नदीहरुसँग विभिन्न संस्कारहरु बोकी एउटै सभ्यता लिएर बसेको क्षेत्र बज्जिकाञ्चल हो । यस क्षेत्रको गौरवमय इतिहास बज्जी गणराज्यको इतिहाससँग छ । यसै आँगनमा बुद्घका धेरैजसो वयहरु बिते । यहीँका लिच्छिवीहरु नेपाललाई आफ्नो कलाकौशलले सिञ्चेका हुन् भने ज्ञान र सौन्दर्यले दुनियाको ध्यान आफूतिर तानेका थिए । उत्तर भारतको केन्द्र नै बज्जिकाञ्चल हो । यो क्षेत्र सदियौँदेखि निकै ऊर्जावान रहेको छ । यस क्षेत्रमाथि नेपाल र भारत दुवै देशको उपेक्षाको कारणले यहाँको भाषा र संस्कृति मौलाउन सकेन ।
यहाँका बासिन्दाहरु कृषिमा आधारित भएका हुनाले सही अर्थमा माटोसंग जुटेका छन् । यहाँको विरासत भनेकै लोकगीत, लोककथाहरु, संस्कारहरु तथा धार्मिक मूल्यमान्यताहरु हुन् । यो विरासत मात्रै होइन, यो त यस क्षेत्रको अमूल्य निधि हो । आत्मा हो । म यसमध्ये केही कुराको मात्र चर्चा गर्न चाहन्छु । गीतको कुरा गर्दा मन गौरवले भरिएर आउँछ । सुन्छु यहाँका मानिसहरुले गीत गाएर मेघ बर्साउँथे रे । यो त भयो सुनेको कुरा । रोपाइँ हुँदा सोहरले सारा खेतसरेह नै गुन्जेको मैले आफ्नै आँखाले देखेको छु । रोपाइँ गर्ने रोपारहरु, बिरारमा बिउ उखेल्नेहरु स्वर मिलाएर गाउँदा मेरा रौँहरु ठाडा भइहाल्थे । यो दृश्य अहिले पनि रोपाइँको बेला जीवितै हेर्न सकिन्छ । सारा सिर्जना र दर्शनको गीत लाग्छ यो सोहर । सोहर यहीँ सीमित नभएर धेरै संस्कारहरुमा आफ्नो राम्रो स्थान राखेको छ । जन्म संस्कारको पर्याय बनेको यो सोहर विवाह, पूजाआजाजस्ता अवसरमा पनि गाइने गरिन्छ । कृष्ण अष्ठमीको अवसरमा गाइने सोहरहरुको आनन्द बेग्लै हुन्छ । विवाहमा पनि यसले राम्रै स्थान राखेको छ । मैले बुझेअनुसार रामलाई मान्ने राम पन्थीहरुको सोहरको धार अलग छ भने कृष्णलाई मान्ने कृष्ण पन्थीहरुको धार बेग्लै छ । निर्गुन पन्थी सोहर पनि होलान् ।
फागुका होली गीतहरुमा राम, कृष्ण, स्थानीय देवीदेवताका भक्ति तथा स्मरण गरिन्छ । साथै वन्धुत्वका र प्रेम परिणयका गीतहरु प्रशस्त छन् । गहुँ काटेर चैतमा गाइने चैतावर गीतहरु कम रोमाञ्चित गर्दैनथे । चैतावर बाह्रमासा गीतको एक प्रकार हो । विवाह संस्कारका अलग अलग गीतहरु जस्तो, परिछाओन गीत, दुआरी छेकाइ गीत, तिलक गीत, कोहवर गीत, बिदाइको गीत आदि हुन् । घर गोँसाइको रुपमा पुजिने यहाँ कुल देवी देवताहरुको गीतको अलग महत्त्व छ । यहाँ हरेक घरमा पुजिने अलग अलग देवता बनी, कारिक, गोविन्दका अलग अलग भजन गीतहरु छन् । कोही कोही कुल देवताको रुपमा शिव, हनुमान र काली पनि पुज्छन् । यी देवताहरुका अलगै गीतहरु छन् ।
तन्त्रमन्त्र तथा शक्ति उपासनामा विश्वास राख्नेहरुको जमातको बीचमा विभिन्न ग्राम देवताहरु जस्तो महरानी, ब्रह्म बाबा, शीतला माई, फुलेसरी माई, संसारी माई, सँपही माई, बौधी माई, नकटी माई, सुनर माई, पतोहिया माई आदिका भजन झुमरहरुको महत्त्व दशैँको बेला वा तत्तत् देवदेवीको विशेष पूजनको समयमा बढी रहन्छ । देवी देवताहरुलाई रिझाउन तिनीहरु मानर झाल बाजाउँदै विभिन्न गीतहरु गाएर भूत प्रेत भगाउने गर्छन् । दशैँ बाहेक अन्य दिनहरुमा पनि झाँक्रीहरुको दैलोमा टेका लाग्ने गर्छन् । यदि यसलाई अन्धविश्वास मान्ने हो भने यस्ता गतिविधिहरु अन्त हुँदै राम्रै पक्ष हुन् तर यी गीतहरु नै लोप हुँदै जानु चिन्ताको विषय हो ।
विवाहका विभिन्न विधिहरुमा गाइने गीतहरुको अवस्था यस्तै छ । एक दिन थियो जो जन्तीहरु आउँदा दुआरी लगाईको गीत गाइन्थ्यो । पछि दुल्हालाई पुज्ने बेलामा परिछाओन गीत गाइन्थ्यो । यस्तै तिलक चढाउने बेलामा तिलकदेउआको गीत, कन्यादानको बेलामा कन्यादानको गीत, सिउँदो हाल्ने बेलामा सिउँदो (सेनरदान) को गीत, कोहवरका आदिका गीतहरु के हाम्रा सम्पत्ति होइनन् ? पक्कै हुन् तर अहिले लोपोन्मुख अवस्थामा छन् । यसलाई यो अवस्थामा पुर्याउने हामीहरु मध्येकै आफूलाई मोडर्न भनाउँदाहरु हुन् । आफ्नो संस्कृतिलाई र संस्कारलाई बिर्सेर हाइ हेलो दिस् द्याटमा लाग्नेहरु कुन्नि के उचाईँ पाउछन् । के तिनीहरुलाई खल्दैन ? आफ्ना यी निधिहरु । आखिर कहाँ पुर्याउन चाहन्छन् आफ्ना भावी पुस्तालाई ? केका लागि ? खैर, के हो के हो ? उनीहरु आफ्नो कुरा आफैँ जानून् ।
मङ्सिर महिनामा धान कटाइको बेलामा गाउँ गाउँ डुल्ने भाँटहरुले गाउने गीतहरुले टोलभरिका आइमाई तथा केटाकेटीहरुलाई चुम्बकझैँ तानेर जम्मा गर्थे । तिनीहरुले भन्ने कवितहरु ठट्यौला खालका हुन्थे । तिनीहरुले भन्ने कवित पेट मिचिमिची हसाउँथ्यो । ती दिन, गीत कवितहरु आज हाम्रो लागि सपना भइसकेको छ । त्यस्तै हर घर आँगन चाहार्दै माग्दै गाउँदै हिड्नेको गीत सुन्न तपाईं हामी सबैको कान के लालायित छैनन् ? हो, हामी तिनीहरुलाई केही धान चामल दिएर पठाउँथ्याँै तर तिनीहरुले दिएर गएको माया र प्रेम अहिले पनि हाम्रो मन मुटुमा सल्बलाइरहेका छैनन् ? कहाँ गए ती दिनहरु ? त्यस्तै यही समयमा काठका घाडा लिएर आउने दुलदुल घोडाबालाहरु, उनीसँग ढोल र झाल बजाउनेहरु कति राम्रा गीतहरु गाउँथे । ढोल झालको ताल यस्तो कि पुरै वातावरणलाई नै गुँजायमान पाथ्र्यो । समग्र आवोहवा प्रभावमा तादात्मय भइहाल्थ्यो । दुलदुल घोडाबाला नाच्दै छेउमा यसरी कोडा बजारेर बजाउँथे कि केटाकेटीहरु डरले पछिपछि भाग्थे । लरकोरीहरुको काँखबाट बच्चा खोसेर घोडामा राखेर तिनीहरु नचाउँथे र लाख लाख शुभ आशीष दिन्थे । तबसम्म घोडाबाट उतार्दैनथे जबसम्म लरकोरीको घरबाट केही धान चामल मिल्दैनथ्यो । हजुरआमाहरु आफ्ना नाति नातिनाहरुलाई लिएर दौड्थे दुलदुल घोडाबालानिर । तिनीहरुलाई नचाउनलाई । लाख लाख आशीष दिलाउनलाई । आपूmले आशीर्वाद दिनु त छँदैछ तर यस्ता सार्वजनिक मानिसहरुबाट आशीर्वाद दिलाउने चाहना सबै मातापिता वा हजुरबुबा–हजुरआमामा हुन्थ्यो । आहा ! ती कति रमाइला दिनहरु थिए । आज त खोजेर पनि यो कुरा हेर्न मिल्दैन । आशीर्वादको संस्कारमाथि पनि हस्तक्षेप भएको छ ।
बज्जिकाञ्चलको अर्को निधि हो यहाँका लोक नाचहरु । पहिला पहिला जब ढोल नगाराहरु सजिहाल्थ्यो, समिआनामा दर्शकहरु बसिहाल्थे, लाग्थ्यो बज्किाञ्चल सजीव हुँदै छ । नाच हुन्थ्यो यहाँका लोक गाथाहरुको । लोक कथाहरुको । हाम्रा ती लोक नाचहरु कति छन् कति । यी नाचहरु मध्ये जोगी बिरजाभारका पात्रहरु हेमन्ती र बिरजाभारका अहिले पनि जनमानसमा स्थान बनाएर बसेको छ । बज्जिकाञ्चलका वीर लोरिक र भोरिकको वीरगथा नाच्ने लोरिकायनको नाच हामी बीचबाट हराइसके । खुर्दुक बाजासहित नगारा र सहनाईको तालमा धुरभर आफ्नो घाँघर फैलाएर नाच्ने नट नटिनका नाचहरु कता गए ? टाउकोमा काठ र कपडाले चुच्चो बनाई कागराजको अभिनय गर्ने पात्रहरु सबै हराएर गए । सतिविहुलाको नाच खेल्ने नाच पाटीहरु आज खोजेर पनि मिल्ने अवस्था छैन । चनु साह र बाला लखिन्दरका ती किरदारहरु सबै एका देशको कथासमान भइसके । अल्हा रुदलको वीरगथा नाच्ने नाचहरु, अल्हा, रुदल, सोनवा आदिको किरदार खेल्ने पात्रहररु सबै कथा कहानी भइसके । ढोल बजाउँदै अल्हा गाउने अल्हबैआहरु ढोलको ताल र वीर रसयुक्त गर्जनाले श्रोताहरुमा वीरताको भाव भरिदेदिन्थे । गायन शैली यस्तो हुन्थ्यो कि लाग्थ्यो अतीतका पात्रहरु आफ्नै आँखा अगाडि खडा छन् । घोडा दौडाइरहैका छन् । तरवार चलाइरहेका छन् । म तिनीहरुलाई वीरतापूर्ण भावले हेरेको आनन्द प्राप्त गरिरहेको छु ।
यी हाम्रा निधिहरु समयको गर्तमा एक पर्तसरह बन्दै गइरहेका छन् । हाम्रा भावी सन्ततिहरु यी आनन्दका उत्सवयुक्त पर्व र त्यसका गीतहरुबाट भिज्न पाउने छैनन् । ती नाचहरुहरुलाई हेरी इतिहास र संस्कृति नजिकबाट जिउन पाउने छैनन् । आज हामी पक्षाघात भएको सामाजिक संरचना र संस्कृति लिएर हिडिरहेका छौँ कि जस्तो भएको छ । यसो हुनुमा काठमाडौँ र दिल्ली त जिम्मेवार छँदै छ । हामी पनि कम जिम्मेवार छैनौँ । हामी आफ्ना यी निधिप्रति गैर जिम्मेवार भयौँ । अरुको तडकभडकमा आकर्षित भयौँ । आफ्ना संस्कृतिप्रति उदासीन भयौँ ।
उदासीनताको मर्म के हो ? हामी किन उदासीन भयौँ ? उदासीन भएर कसलाई घाटा भएको छ वा हाम्रो उदासीनताको फाइदा अरु कसैलाई पो भएको छ कि ? यी र यस्ता पक्षमाथि विचार गर्ने योग्य पात्रको नै कमी हुन थालेको जस्तो छ । सस्तो लोकप्रियता वा सस्तो आर्जन वा कमाइमुखी कामको पछाडि कुदेर हामी आफैँलाई बिर्सदैँ गइरहेका छौँ । हाम्रो संस्कृति हराइरहेको छ र कति त हराइ पनि सके । यसरी हराएको संस्कृतिलाई हामी फेरि फर्काउन सकौँला र । नभए अहिले जे जति उपलब्ध छन्, जीवित छन्, तिनीहरुको संरक्षण हुनुपर्छ, यसको जगेर्ना हुनुपर्छ र यसमा सबै क्षेत्रबाट हात उठ्नु जरुरी छ ।
सुदामा १० बलरा, सर्लाही

ताजा अपडेट

खोजी गर्नुहोस