छठघाटमा ६० वर्षीय वृद्धको हत्या गर्ने आरोपी पक्राउ
धनुषा ,१३ मंसिर। धनुषामा छठघाटमा ६० वर्षीय वृद्धको हत्या गरी फरार भएका आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–२ निवासी जयकुमार यादव रहेका छन् । उनी ‘बालक दास’ नामले समेत चिनिन्छन् ।
गत कात्तिक ३० गते बिहान शहीदनगर नगरपालिका–२ स्थित मतौनाको धनी पोखरी छठघाटमा पूजा सामग्री कुरेर बसिरहेका ६० वर्षीय रामजतन मृत अवस्थामा फेला परेका थिए । घटनास्थलमा रगतजस्तो पदार्थका दाग तथा कपालजस्तो वस्तु लागेको धारिलो हतियारसमेत बरामद भएको थियो ।
घटनाको अनुसन्धानका क्रममा पुरानो रिसइबीका कारण जयकुमार यादवले कुटपिट गरी रामजतनको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । घटनापछि यादव भारततर्फ फरार भएका थिए ।
फरार आरोपीको खोजी गर्ने क्रममा शनिवार भारतीय सीमा क्षेत्र जटहीमा उनी लुकिछिपी बसेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो । त्यसपछि खटिएको प्रहरी टोलीले नगराइन नगरपालिका–२ जटहीबाट राघोपुर जाने बाटो हुँदै भारतीय सीमा क्षेत्रमा पुगेर उनलाई पक्राउ गर्ने प्रयास गरेको थियो ।
प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा यादवले भारततर्फ भाग्ने प्रयास गरेका थिए। प्रहरीले आत्मसमर्पण गर्न चेतावनी दिँदासमेत नमानेपछि सुरुमा एक राउन्ड हवाई फायर गरिएको थियो । त्यसपछि पनि भाग्न खोजेपछि प्रहरीले थप चार राउन्ड गोली प्रहार गरेको डिएसपी खनालले बताए ।
प्रहरीको पाँच राउन्ड गोली प्रहारपछि नियन्त्रणमा लिइएका यादवको बायाँ तिघ्रामा एक र दाहिने घुँडामुनि दुई गरी तीन वटा गोली लागेको छ ।
गोली लागेर घाइते भएका यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।