Wartman Kal DainikOnline News Portal

मलेसिया प्रकरणमा तीन पूर्वमन्त्रीलाई राहत, अनुसन्धानका फाइलमा हस्ताक्षर फेला परेन

November 29, 2026 · Wartman Kal Dainik

काठमाडौँ,१३ मंसिर। मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाइएको प्रकरणमा अनुसन्धानले नयाँ गति लिएको छ।

हराएको भनिएको सरकारी फाइल भेटिएपछि तत्कालीन श्रममन्त्री रामेश्वरराय यादव र श्रमसचिव तथा पूर्वमुख्यसचिव एकनारायण अर्याल अनुसन्धानको केन्द्रमा तानिएका छन्।

फेला परेको फाइलमा यादव र अर्यालको हस्ताक्षर भेटिएको छ । तत्कालीन श्रममन्त्रीहरू शेरबहादुर कुँवर, डोलप्रसाद (डीपी) अर्याल र शरदसिंह भण्डारीको हस्ताक्षर भने नरहेको सीआआईबी स्रोतले बतायो । मन्त्रीस्तरीय भनिएको निर्णयमा पनि तत्कालीन श्रमसचिव अर्याल आफैँले हस्ताक्षर गरेको पाइएको स्रोतको भनाइ छ।

यससँगै मलेसिया प्रकरणमा पक्राउ परेका पूर्वश्रममन्त्री कुँवर तथा प्रश्नको घेरामा परेका मन्त्रीद्वय भण्डारी र अर्याललाई राहत मिल्ने भएको छ । कुँवरलाई भोलि सरकारी वकिलको कार्यालय पेश गर्ने तयारी छ । थप तथ्यहरू नभेटीउमा उनी हाजिरी जमानिमा छुट्न सक्छन् । कुँवरको पालामा गएको रकमको निर्णय मन्त्रीले नभई सचिवले गरेको देखिएकाले छाड्ने तयारी भएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

प्रमाणहरुले देखाए अनुसार मलेसियामा पैसा पठाउनका लागि पहिलो निर्णय हिरासतमा रहेका पूर्वमन्त्री रामेश्वर राय यादवले गरेका थिए । उनले २०७६-७७ सालका बीचमा तीनपटक मलेसियामा रकम पठाउने निर्णय आफैँले गरेको कागजात भेटिएको स्रोतले जनाएको छ । अर्याल श्रम सचिव हुनुअगावै यादव मन्त्री भएका थिए । यसले गर्दा उनी यो प्रकरणका सुरुवातकर्ता वा प्रमुख सुत्रधारका रुपमा देखा परेका छन् ।

यस प्रकरणमा यादवपछि तत्कालीन श्रमसचिव अर्यालको सक्रिय भूमिका देखिन्छ । अर्याल २०७८ मंसिर १५ देखि २०८० जेठ २९ सम्म श्रमसचिव थिए । यही अवधिमा मलेसिया जाने श्रमिकबाट उठाइएको रकम विदेश पठाउने निर्णय प्रक्रियामा उनको भूमिका देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् । उनले गरेको निर्णयकै आधारमा पटक-पटक पैसा पठाइएको हो ।

श्रममन्त्री शेरबहादुर कुँवरको कार्यकालमा पाँच पटक रकम मलेसिया पठाइएको अनुसन्धानमा देखिएको छ । तर नयाँ निर्णय नगरी अघिल्लो निर्णयकै आधारमा रकम पठाइएको हो । कुँवरको पालामा रकम पठाउन मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको भए पनि फेला परेको फाइलमा उनको हस्ताक्षर भेटिएको छैन ।

तत्कालीन श्रम मन्त्रीहरु डोलप्रसाद (डीपी) अर्याल र शरदसिंह भण्डारीको कार्यकालमा पनि रकम विदेश पठाइएको देखिएको छ । भण्डारी श्रममन्त्री रहेका बेला २०८० वैशाखदेखि माघसम्म पटक-पटक रकम मलेसिया पठाइएको विवरण सार्वजनिक भएको छ ।

त्यस्तै डीपी अर्याल दोस्रो पटक श्रममन्त्री बनेका बेला २०८१ वैशाख र जेठमा थप रकम विदेश पठाइएको देखिएको छ । तर उनीहरूको कार्यकालमा रकम पठाइए पनि मन्त्रीस्तरीय निर्णयमा हस्ताक्षर गरेको प्रमाण फेला परेन । फेला परेको फाइलमा उनीहरूको हस्ताक्षर नभेटिएको हुँदा तत्काल छानविनमा तान्न नसकिने सीआइवी स्रोतको भनाइ छ ।

मलेसिया प्रकरणमा अनुसन्धान अघि बढ्दै गर्दा श्रम मन्त्रालयबाट सम्बन्धित सरकारी फाइल हराएको विषयले विवाद थपिएको थियो । फाइल नभेटिँदा रकम विदेश पठाउने निर्णय कसले गरेको थियो भन्ने विषय स्पष्ट हुन सकेको थिएन । मन्त्रालयले फाइल खोज्न कार्यदल गठन गरेपछि विभिन्न शाखाका अभिलेख र कागजात खोजी गरिएको थियो ।

अन्ततः सक्कल फाइल फेला पारेर सीआईबीलाई हस्तान्तरण गरिएको छ । फाइलमा भएका निर्णय र हस्ताक्षरले अनुसन्धानको दिशा बदलिएको छ । मलेसिया जाने श्रमिकसँग रकम असुली र त्यसलाई विदेश पठाउने प्रकरणमा पूर्वश्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरसहित ११ जना हिरासतमा रहेका छन् ।

पूर्वमुख्यसचिव तथा तत्कालीन श्रमसचिव एकनारायण अर्याललाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । उनलाई ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट म्याद थप गरिएको छ ।

यस प्रकरणमा तत्कालीन श्रमसचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखहरू उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलगायतको भूमिका पनि अनुसन्धानमा छ ।

नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ मा भएको श्रम सम्झौतामा श्रमिकले स्वास्थ्य परीक्षणको अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था थिएन । स्वास्थ्य परीक्षणको खर्च रोजगारदाताले बेहोर्ने व्यवस्था थियो । तर, यसले मलेसियाको रोजगारी प्रभावित बनेको भन्दै नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा जनही १०० रिङ्गिट असुल गर्न थालियो ।

काठमाडौंमा ३६ वटा स्वास्थ्य संस्थाको सञ्जालमार्फत श्रमिकबाट अतिरिक्त रकम उठाइएको अनुसन्धानमा देखिएको छ । यो रकम माइक्रोटेक कम्पनीमार्फत मलेसियास्थित बेस्टिनेट कम्पनीको खातामा पठाइएको हो ।