Wartman Kal DainikOnline News Portal

नवलपरासीमा तस्कर र सशस्त्र प्रहरीबीच भिडन्त, चार प्रहरी घाइते

November 29, 2026 · Wartman Kal Dainik

नवलपरासी ,१३ मंसिर। नवलपरासीको सीमावर्ती गेर्मी नाकामा सशस्त्र प्रहरी र तस्करबीच झडप भएको छ। स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ६ राउन्ड हवाई फायर गरेको छ। घटनामा चार जना सशस्त्र प्रहरी घाइते भएको बताइएको छ।

जिल्लामा पछिल्लो समय तस्करहरूले सञ्जाल नै बनाएर फर्सीको बिउको तस्करी गराउँदै आएका छन्। सोही क्रममा पाल्हीनन्दन गाउँपालिका–५ स्थित गेर्मी नाका हुँदै फर्सीको बिउ भारत लैजाने क्रममा झडप भएको हो।

तस्करीमा संलग्न व्यक्तिहरूले शनिबार राति टाउकोमा फर्सीको बिउका बोरा राखेर लाइनबद्ध रूपमा सीमा पार गराउन खोजेका थिए। झन्डै ३० वटा बोरामा राखेर फर्सीको बिउ सीमा पार गराउन खोज्ने क्रममा गस्तीमा रहेको सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेपछि विवाद सुरु भएको स्थानीयले बताएका छन् ।

सशस्त्र प्रहरीको सङ्ख्या कम र तस्करीमा संलग्न व्यक्तिहरूको सङ्ख्या धेरै रहेकाले उनीहरूले प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए। त्यसपछि तस्करीमा संलग्न समूहले थप व्यक्तिहरू बोलाएर प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले हवाई फायर गरेको बताइएको छ।

हवाई फायरपछि तस्करहरू तितरबितर भएका थिए। ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते भएको स्थानीयले बताएका छन्। प्रमुख जिल्ला अधिकारी दीपक नेपालले तस्करीका सामान रोक्ने क्रममा हवाई फायर भएको बताए। अन्य विषय सशस्त्र प्रहरीका एसपीसँग बुझ्न उनले आग्रह गरे। यता झडपबारे सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण नवलपरासीका प्रमुख (एसपी) गोविन्दबहादुर खातीसँग बारम्बार सम्पर्क गर्न खोज्दा उनको फोन उठेन।

जिल्लाको प्रतापपुरस्थित पिपरपाती, बद्रीघाट, बेलाटारी, गोपीगञ्ज, रगरगञ्ज, महेशपुर, बसैयालगायतका सीमावर्ती क्षेत्रमा लाखौँ मूल्यका फर्सीका बिउ ल्याएर गोदाममा राख्ने र त्यहीँबाट भारत पुर्‍याउने गरेको बताइएको छ। यस्तै, खरबुजाको बिउ सुडान हुँदै नेपाल भित्रिने गरेको बताइएको छ।