ठमेलमा ठूलो परिमाणमा कोकिन बरामद, ८७ वर्षीय विदेशी नागरिक पक्राउ
काठमाडौँ,१३ मंसिर। काठमाडौँलाई लागुऔषध तस्करीको ‘ट्रान्जिट’ बनाएर भइरहेको अवैध कारोबारमा प्रहरीले ठुलो सफलता हात पारेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ठमेलबाट ८७ वर्षीय कोरियन नागरिकलाई पक्राउ गरेको छ ।
मंसिर ११ मा कोरियन नागरिक सुक चोन ली पक्राउ परेका हुन् । उनले विमानस्थल हुँदै पास गराएको ३ केजी कोकिन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूराेका एसएसपी सुवास बोहराले जानकारी दिएका छन्।
ब्यूरोको टोलीले उनलाई ठमेल स्थित एक होटलबाट पक्राउ गरेको हो । यसअघि कोकिन कारोबारमा कोरियन नागरिकको संलग्नता देखिएको थिएन । अनुसन्धानका क्रममा उक्त कोकिन लिन आएका भारतीय नागरिक दिपक उत्तम बाघमारेलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
उनी भारतीय प्रहरीका जवान रहेको अनुसन्धानबाट थाहा भएको छ । उनको साथबाट ‘स्टेट रिजर्भ पुलिस फोर्स मुम्बई’ परिचयपत्र फेला परेको ब्यूरोका अनुसन्धान अधिकृतहरू बताउँछन् ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार काठमाडौँमा कोकिनको कारोबारमा कोरियन नागरिक पक्राउ परेको यो पहिलो पटक हो । यो घटनाले लागुऔषध तस्करहरूले नेपाललाई नयाँ र अनपेक्षित गन्तव्यको रूपमा प्रयोग गर्न खोजेको देखिएको छ । कोकिन रिसिभ गर्न आएका व्यक्ति भारतीय प्रहरीको बहालवाला कर्मचारी हुनुले यो घटनालाई थप गम्भीर र रहस्यमय बनाएको छ । भारतीय प्रहरी बाघमारे पनि हवाईमार्गबाट नै काठमाडौँ आएका हुन् ।
बरामद कोकिनको अवैध बजार मूल्य प्रति ग्राम ५० हजारका दरले करिब १५ करोड रुपैयाँ हुन आउँछ। पक्राउ परेका कोरियाली नागरिकले कोकिन पेरुबाट म्याड्रिड (स्पेन) र दोहा हुँदै नोभेम्बर २६ मा नेपाल ल्याएको अनुसन्धानबाट खुलेको छ । उनले यो कोकिन नेपालबाट भारतको मुम्बई पुर्याउने योजना बनाएका थिए।
अनुसन्धान अधिकृतहरूका अनुसार पक्राउ परेकाहरूले कोकिन लुकाइएको सुटकेस आदानप्रदान गर्न ‘पासवर्ड’ को प्रयोगसमेत गरेका थिए। यसअघि ती कोरियन नागरिक १९ जुलाई २०२६ मा पनि नेपाल आएर ठमेलकै होटलमा ३ दिन बसेर फर्किएको रेकर्ड भेटिएको छ । दुवै जना आरोपीमाथि ब्यूराेले लागुऔषध मुद्दामा अनुसन्धान गरिरहेको छ।