कटहरिया–७ बगहीमा भव्य रूपमा सम्पन्न श्री श्री १००८ श्री विष्णु महायज्ञ, नौ दिनसम्म गाउँ भक्तिमय

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १८, बुधबार (२ दिन अघि)
  • ३०४ पटक पढिएको
कटहरिया–७ बगहीमा भव्य रूपमा सम्पन्न श्री श्री १००८ श्री विष्णु महायज्ञ, नौ दिनसम्म गाउँ भक्तिमय

रौतहट, १८ चैत। कटहरिया नगरपालिका–७ बगहीमा आयोजना गरिएको श्री श्री १००८ श्री विष्णु महायज्ञ भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। नौ दिनसम्म निरन्तर सञ्चालन भएको उक्त महायज्ञ मंगलबार समापन गरिएको आयोजकले जनाएको छ।

आयोजक विष्णु महायज्ञ मूल समितिका अनुसार चैत ७ गतेदेखि सुरु भएको “विश्व शान्ति महाविष्णु महायज्ञ” विविध धार्मिक कार्यक्रमसहित सम्पन्न भएको हो। महायज्ञको दोस्रो दिन चैत ८ गते श्रद्धालुहरूको सहभागितामा भव्य कलश यात्रा निकालिएको थियो भने चैत ९ गते अग्नि प्रवेश कार्यक्रम सम्पन्न गरिएको थियो।

महायज्ञ अवधिभर दैनिक रूपमा विद्वान आचार्यहरूद्वारा प्रवचन, भजन–कीर्तन, हवन, पूजाआजा लगायत धार्मिक अनुष्ठानहरू सञ्चालन गरिएको थियो। साथै, बृन्दावन मण्डलीद्वारा चैत ९ गतेदेखि चैत १७ गतेसम्म निरन्तर रूपमा प्रस्तुत गरिएको रासलीलाले गाउँलाई पूर्ण रूपमा भक्तिमय बनाएको थियो। रासलीला हेर्नका लागि टाढाटाढाबाट श्रद्धालुहरूको उल्लेख्य भीड लागेको आयोजकले जनाएको छ।

धार्मिक विश्वासअनुसार यस्ता महायज्ञहरूबाट समाजमा शान्ति, समृद्धि र सकारात्मक ऊर्जा प्रवाह हुने तथा भविष्यमा आउन सक्ने आपत–विपतको पूर्वसंकेत प्राप्त गरी समयमै सचेत हुन सकिने धारणा श्रद्धालुहरूले व्यक्त गरेका छन्।

स्थानीयवासीहरूले यस्ता धार्मिक कार्यक्रमहरूले समाजमा आपसी सद्भाव, एकता र सहिष्णुतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। बगही क्षेत्रमा यति ठूलो स्तरको धार्मिक महायज्ञ पहिलोपटक आयोजना भएको भन्दै स्थानीयहरूमा उत्साह, गर्व र एकताको भावना थप वृद्धि भएको देखिएको छ।

कटहरिया नगरपालिका–७ बगहीका प्रत्याशी वडाअध्यक्ष प्रहलाद साहले महायज्ञले सामाजिक सद्भावको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए। उनका अनुसार कार्यक्रममा कुनै प्रकारको जातीय विभेद देखिएको छैन भने मुस्लिम समुदायका सदस्यहरूले पनि स्वेच्छिक रूपमा सहयोग र सहभागिता जनाएका थिए।

“यो महायज्ञले सम्पूर्ण समुदायलाई एकताको सूत्रमा बाँधेको छ र आपसी मेलमिलापलाई अझ प्रगाढ बनाएको छ,” साहले बताए।

महायज्ञको समापनसँगै आयोजकले सहभागी सम्पूर्ण श्रद्धालु, सहयोगी, स्वयंसेवक तथा सुरक्षाकर्मीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा यस्ता धार्मिक तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस