कलश यात्रासँगै बगहीमा विष्णु महायज्ञको शुभारम्भ, भक्तजनको उत्साह

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ९, सोमबार (४ दिन अघि)
  • १०९ पटक पढिएको
कलश यात्रासँगै बगहीमा विष्णु महायज्ञको शुभारम्भ, भक्तजनको उत्साह

रौतहट, ०९ चैत। रौतहटको कटहरिया नगरपालिका–७ बगहीमा श्री श्री १००८ श्री विष्णु महायज्ञ भव्य रूपमा सुरु भएको छ। महायज्ञको पहिलो दिन आइतबार निकालिएको विशाल कलश यात्राले सम्पूर्ण क्षेत्रलाई भक्तिमय वातावरणमा रूपान्तरण गरेको छ ।

बगहीबाट सुरु गरिएको उक्त कलश यात्रामा करिब ११ सयभन्दा बढी महिला सहभागी भएका थिए भने बगही तथा आसपासका गाउँबाट हजारौँ श्रद्धालु नरनारीको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले कटहरिया नगरपालिकाको पश्चिम क्षेत्रमा पर्ने बकैया नदीबाट पवित्र जल संकलन गरी कलशमा भरेर महायज्ञस्थलसम्म पैदल यात्रा गरेका थिए।

वैदिक मन्त्रोच्चारण, शंख–घण्टाको धुन तथा “जय श्री राम” को गुञ्जायमान जयघोषबीच कन्याहरूले बोकेको पवित्र जल महायज्ञस्थलमा स्थापना गरिएको थियो। कलश यात्रामा हात्ती, घोडा, रथ, विभिन्न बाजागाजा तथा आकर्षक झाँकीहरूको प्रदर्शनले कार्यक्रमलाई अझ भव्य बनाएको थियो।

आयोजक विष्णु महायज्ञ मूल समितिका अनुसार चैत ७ गतेदेखि सुरु भएको विश्व शान्ति महाविष्णु महायज्ञ अन्तर्गत चैत ८ गते कलश यात्रा सम्पन्न गरिएको हो भने चैत ९ गते अग्नि प्रवेश कार्यक्रम हुनेछ। सोही दिनदेखि चैत १७ गतेसम्म बृन्दावन मण्डलीद्वारा रासलीला प्रस्तुत गरिने कार्यक्रम तय  गरिएको छ।

यस महायज्ञ अवधिभर दैनिक रूपमा प्रवचन, भजन–कीर्तन, धार्मिक अनुष्ठान तथा सांस्कृतिक नृत्य कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ। धार्मिक आस्थाले भविष्यमा आउन सक्ने आपत–विपतको पूर्वसंकेत प्राप्त भई समयमै सचेत हुन सकिने विश्वास समेत व्यक्त गरिएको छ।

स्थानीयवासीहरूले यस्ता धार्मिक महायज्ञले सामाजिक एकता, आपसी सद्भाव तथा धार्मिक सहिष्णुतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। बगही क्षेत्रमा यति ठूलो स्तरको धार्मिक कार्यक्रम आयोजना हुनुले स्थानीयमा उत्साह, गौरव र एकताको भावना अभिवृद्धि भएको देखिएको छ। कलश यात्रामा कटहरिया नगरपालिका–७ बगहीका वडाअध्यक्ष प्रत्याशी प्रहलाद साह, वडा अध्यक्ष सहिद मियाँ, वडा अध्यक्ष समिश विक्रम साह लगायत विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रमलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरी तथा स्थानीय स्वयंसेवकहरूको सक्रिय परिचालन गरिएको थियो।

सुरक्षा व्यवस्था कडा पारिएकोले कलश यात्रा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। महायज्ञले धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा क्षेत्रको पहिचानलाई थप उचाइ दिने विश्वास लिइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस