
रौतहट, १६ चैत। रौतहटमा प्रहरीले पछिल्लो समय चेकजाँच कडा बनाएसँगै चोरीका मोटरसाइकल र भन्सार छलीका सामान धमाधम फेला पर्न थालेका छन्। यसैक्रममा विभिन्न स्थानबाट २० वटा मोटरसाइकलसहित अवैध सामग्री बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालका अनुसार विभिन्न मिति र समयमा खटिएको प्रहरी टोलीले कागजपत्र नभएका २० थान मोटरसाइकल नियन्त्रणमा लिएको हो। बरामद मोटरसाइकलको अनुमानित मूल्य ११ लाख १० हजार रुपैयाँ रहेको छ।
यस्तै, गौर नगरपालिका–५ क्षेत्रमा गरिएको चेकजाँचका क्रममा खाद्यान्न तथा इलेक्ट्रोनिक सामान भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार उक्त सामानको मूल्य ६७ हजार ८९० रुपैयाँ बराबर रहेको छ।
बरामद मोटरसाइकल र अन्य सामान गरी कुल ११ लाख ७७ हजार ८९० रुपैयाँ बराबरको सामग्री आवश्यक कारबाहीका लागि आइतबार साँझ गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
स्थानीयका अनुसार पछिल्लो समय प्रहरीले कागजपत्रविहीन सवारीसाधनमाथि निगरानी बढाएपछि यस्ता गतिविधि नियन्त्रणमा आउन थालेको देखिएको ।
