
काठमाडौँ, ११ चैत। नेपाल मेडिकल काउन्सिलले दर्तावाला चिकित्सकलाई दर्ता प्रमाणपत्र आफू प्रत्यक्ष रूपमा कार्यरत स्वास्थ्य संस्थामा मात्र प्रयोग गर्न निर्देशन दिएको छ ।
काउन्सिलले चिकित्सकले एनएमसी रजिस्ट्रेसन सर्टिफिकेट आफू संलग्न नरहेका क्लिनिक वा अस्पतालमा राख्दा सर्वसाधारणमा भ्रम उत्पन्न हुने र यसले व्यावसायिक आचारसंहिताको उल्लंघन गर्न सक्ने जनाएको छ ।
रजिष्ट्रार डा. सतिसकुमार देव अनुसार कतिपय अवस्थामा चिकित्सकको नाम र दर्ता नम्बर कार्यरत नभएका संस्थामा समेत प्रयोग भइरहेका भेटिएको छ ।
यसले बिरामीहरूलाई गलत सन्देश दिने, सेवा प्रदायकको पहिचानमा अन्योल सिर्जना गर्ने र अन्ततः स्वास्थ्य सेवाप्रति विश्वासमा असर पार्ने जोखिम बढाएको डा. देव बताए ।
यस्ता गतिविधिले भविष्यमा कानुनी तथा प्रशासनिक जटिलता निम्त्याउन सक्ने चेतावनी दिँदै काउन्सिलले चिकित्सकलाई सचेत गरेको छ ।
साथै, आफ्ना विवरणहरूको दुरुपयोग हुन नदिन आवश्यक सतर्कता अपनाउन पनि निर्देशन दिइएको छ ।
काउन्सिलको सूचना अनुसार चिकित्सकहरूले आफू कार्यरत नरहेका पुराना स्वास्थ्य संस्थाबाट आफ्नो नाम, प्रमाणपत्र र दर्ता नम्बर तत्काल हटाउनुपर्नेछ ।
साइनबोर्ड, विज्ञापन सामग्री तथा दर्ता पुस्तकहरूमा आफ्नो विवरणको प्रयोग सही छ वा छैन भन्ने विषयमा नियमित निगरानी गर्न पनि भनेको छ ।
डा. देवले भने, ‘ चिकित्सकहरूलाई व्यावसायिक नैतिकता कायम राख्दै जिम्मेवार ढंगले आफ्नो विवरण प्रयोग गर्न अनुरोध गरेका छौं ।’
