
वीरगञ्ज, १० चैत। वीरगञ्ज उद्योग वाणिज्य सङ्घले पर्सा जिल्लाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार जना प्रतिनिधिसभा सदस्यहरूलाई विशेष समारोहबिच स्वागत तथा सम्मान गरेको छ ।
सङ्घले पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त, क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानु, क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौरसिया र क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्य लाई औपचारिक कार्यक्रममार्फत सम्मान गरेको हो ।
कार्यक्रममा सांसदहरूले सङ्घले विगत लामो समयदेखि उठाउँदै आएका उद्योगी तथा व्यवसायीका साझा समस्याहरूप्रति पूर्ण एकमत रहेको बताएका छन् । उनीहरूले समग्र आर्थिक विकास, उद्योग व्यवसाय प्रवर्द्धन र निजी क्षेत्रको समस्या समाधानका लागि सामूहिक रूपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले सङ्घले वर्षौँदेखि उठाएका साझा समस्या समाधान गर्न आफूले हर सम्भव प्रयास गर्ने बताए । उनले औद्योगिक कोरिडोर निर्माण र उधारो कानुन जस्ता महत्त्वपूर्ण मागहरूप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरे ।
“म स्वयम् उद्योग वाणिज्य सङ्घको सदस्यका रूपमा काम गर्दा उद्योगी–व्यवसायीले भोगिरहेका समस्याहरू राम्रोसँग बुझेको छु । तपाईँहरूको समस्या मेरो पनि समस्या हो । यसको समाधान गर्न म पूर्ण रूपमा प्रतिबद्ध छु,” पन्तले भने ।
उनले बालेन्द्र साह (बालेन) को नेतृत्वमा बन्ने सरकारले भ्रष्टाचार, कुशासन र बेथितिलाई जसरी पनि अन्त्य गर्ने दाबी गरे । “जनताले हामीलाई देशमा जरा गाडेर बसेको भ्रष्टाचार, कुशासन र बेथितिको अन्त्य गर्न पठाएको हो । यदि यो अन्त्य भएन भने म आफ्नै सरकारको प्रतिपक्ष बन्न पनि पछि पर्दिनँ,” उनले आश्वासन दिए ।
त्यस्तै पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानुले घरेलु, मालपोत, नापी, नारायणी अस्पताललगायत विभिन्न सरकारी कार्यालयहरूमा व्याप्त बिचौलिया प्रवृत्ति, सिफारिस र मुचुल्काको नाममा हुने अनियमितता तत्काल रोकिने बताए ।
निर्वाचन पूर्व नै आफूले अब बिचौलिया र दलालहरूको दोकानदारी बन्द हुने सुनाउँदै भने, “आज प्रत्येक सरकारी कार्यालयमा दलाली छ । बिचौलियाहरूले सरकारी कार्यालय घेरेर राखेका छन् । सरकार गठन भएपछि सर्वप्रथम बिचौलिया र दलालहरूको दोकान बन्द गरिनेछ ।”
उनले उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा सदस्यहरूबाट प्राप्त सुझावअनुसार नै काम गर्ने र भविष्यमा पनि निरन्तर संवाद कायम राख्ने बताए । वीरगञ्जको विकास र यहाँका जनताको जीवनस्तर उकास्ने नीतिहरू ल्याउन चारै सांसदहरूले संयुक्त रूपमा आवाज उठाउने पनि उनको भनाइ थियो ।
पर्सा क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौरसियाले आफू पनि निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै सदनमा प्रवेश गरेको बताउँदै उद्योगी–व्यवसायीले भोगिरहेको पीडा आफूले राम्रोसँग बुझेको उल्लेख गरे । उनले सदनमा निजी क्षेत्रको प्रतिनिधिका रूपमा निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाए ।
पर्सा क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्यले उद्योगी–व्यवसायीका समस्याहरू समाधान गर्न साझा पहल आवश्यक रहेको बताए । उनले पर्साको समग्र विकासका लागि वीरगञ्जसँगै ठोरीलगायतका क्षेत्रको विकासमा जोड दिए ।
शाक्यले आगामी केही दिनभित्रै ठोरीमा लगानी सम्मेलन आयोजना गर्न लागेको जानकारी दिँदै यसले पर्यटन विकास, नयाँ उद्योग स्थापना र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रम वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतम को सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य सुबोध कुमार गुप्ता, मधेस प्रदेशका अध्यक्ष अशोक कुमार टेमानी, सङ्घका पूर्व अध्यक्ष अशोक वैद्य, विभिन्न पदाधिकारी, सल्लाहकार तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
कार्यक्रमको सहजीकरण सङ्घका महासचिव शिवजी साहले गरेका थिए ।
