
काठमाडौं, ०९ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बन्न लागेको नयाँ सरकारले राज्यका विभिन्न निकायमा भएका राजनीतिक नियुक्तिहरूलाई एकै पटक खारेज गर्ने तयारी गरेको छ ।
रास्वपाले झन्डै १ हजार १ सय ७० वटा यस्ता राजनीतिक नियुक्तिहरू खारेज गर्ने योजना अघि सारेको छ । बालेनको कदमले संवैधानिक निकाय, सार्वजनिक संस्थान, नेपाल राष्ट्र बैंक, विभिन्न आयोगहरू, कूटनीतिक नियोग तथा बोर्डहरूमा राजनीतिक भागबन्डाका आधारमा भएका नियुक्तिहरूलाई लक्षित गरेको छ ।
बालेन चैत १३ गते प्रधानमन्त्री नियुक्त हुनेछन् । सोही दिन मन्त्रिमण्डल गठन गरी पहिलो क्याबिनेट बैठकमै यस्ता नियुक्ति खारेजीसम्बन्धी औपचारिक निर्णय लिने तयारी छ । रास्वपाका केन्द्रीय सदस्य तथा सांसद पुकार बमका अनुसार, मन्त्रिपरिषद्को पहिलो बैठकमै यो विषयमा निर्णय हुनेछ ।
रास्वपाका प्रवक्ता मनिष झाले यसलाई व्यक्ति विशेषविरुद्ध नभई राज्य संयन्त्रलाई कार्यकर्ता भर्ती केन्द्रबाट मुक्त गर्ने अभियानको रूपमा व्याख्या गरेका छन् । उनले भने, “राजनीतिक पृष्ठभूमिको व्यक्ति भए पनि क्षमता भएका नियुक्ति ठिकै छन् । तर, अनावश्यक कार्यकर्ता भरण पोषणका लागि राज्यलाई भार दिने नियुक्ति खारेज गरिनेछ । कतिपय आयोग र निकायहरू त हामीलाई चाहिएकै छैनन्, करदाताको पैसामा भार मात्र हो । उनीहरूले स्वैच्छिक रूपमा पद छोडिदिए राम्रो हुन्थ्यो ।”
रास्वपाले सरकार गठन हुनुअघि नै यस्ता पदाधिकारीहरूलाई नैतिकताको आधारमा स्वैच्छिक पदत्याग गर्न आग्रह गरेको छ । अन्यथा, सरकार गठनपछि यस्ता नियुक्ति खारेज वा निलम्बन गरिने सङ्केत दिइएको छ ।
रास्वपाको कदमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, राष्ट्रिय मानवअधिकार आयोग, निर्वाचन आयोग, राष्ट्रिय बैंकको गभर्नर, विभिन्न सरकारी संस्थानका अध्यक्ष/सदस्य, भाषा आयोग, दलित/मुस्लिम/महिला आयोग जस्ता महत्त्वपूर्ण निकायहरूलाई प्रत्यक्ष प्रभावित पार्ने देखिन्छ ।
रास्वपाले जनताले देख्ने गरी लोकप्रिय काम गर्ने योजना लिएको छ । जेनजी आन्दोलनपछि भएको चुनावमा झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको पार्टीले कर्मचारीतन्त्रमा सुधार र राज्य कोषमा अर्बौँ व्ययभार कटौती गर्ने विश्वास व्यक्त गरेको छ ।
यद्यपि, पार्टीले कुन–कुन निकाय वा पदहरू खाली गर्ने भन्ने विस्तृत सूची अझै सार्वजनिक गरेको छैन । थप छलफल र गृहकार्यपछि मात्र निर्णय हुने नेताहरूले बताएका छन् । कतिपय अवस्थामा पदाधिकारी फेर्ने मात्र नभई पद वा निकाय नै खारेज गर्नुपर्ने हुन सक्छ ।
