बिश्रामपुर र हरैयाका स्वास्थ्य चौकीमा सुधारको थालनी, बर्थिङ्ग सेवा पुनः सञ्चालनको तयारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २०, शुक्रबार (११ घण्टा अघि)
  • २१८ पटक पढिएको
बिश्रामपुर र हरैयाका स्वास्थ्य चौकीमा सुधारको थालनी, बर्थिङ्ग सेवा पुनः सञ्चालनको तयारी

रौतहट, २० चैत। लामो समयदेखि विभिन्न समस्या र अभावका कारण प्रभावकारी रूपमा सेवा दिन नसकेका बृन्दावन नगरपालिकाका बिश्रामपुर र हरैयास्थित स्वास्थ्य चौकीहरूमा सुधार तथा सेवा विस्तारको प्रक्रिया सुरु गरिएको छ। नगर प्रमुख बिनोद प्रसाद कुर्मिको सक्रिय पहलमा ती स्वास्थ्य संस्थाहरूलाई स्तरउन्नति गर्दै जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको हो।

बुधबार वडा नं. ३ बिश्रामपुरस्थित स्वास्थ्य चौकीमा नगर प्रमुख कुर्मि, वडाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पूर्व मेयर प्रत्याशी तथा स्थानीय भद्रभलादमीहरूको उपस्थितिमा अनुगमन तथा छलफल कार्यक्रम सम्पन्न भएको थियो। उक्त अवसरमा स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर पुनः सञ्चालन गर्ने, नियमित सरसफाइ कायम राख्ने तथा आवश्यक औषधि समयमै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ।

बिश्रामपुर स्वास्थ्य चौकीमा पहिले सञ्चालनमा रहेको बर्थिङ्ग सेन्टर केही कारणवश बन्द भएपछि स्थानीय गर्भवती महिलाहरूलाई प्रसूति सेवा लिन निकै कठिनाइ भोग्नुपरेको थियो। अब पुनः सो सेवा सुचारु गराउन नगर प्रमुखले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको र आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाइएको जनाइएको छ। यस कदमले स्थानीय स्तरमै सुरक्षित प्रसूति सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, वडा नं. ४ हरैयास्थित स्वास्थ्य चौकीको अवस्था पनि कमजोर रहेको पाइएपछि बिहीबार नगर प्रमुख कुर्मिले स्थलगत अनुगमन गरेका थिए। अनुगमनका क्रममा वडाअध्यक्ष श्यामनन्दन यादव, स्वास्थ्य शाखा अधिकृत रासनारायण पटेल, प्रेमलाल पटेल, रामकल्याण यादव, बतहु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण पटेल लगायतको उपस्थिति रहेको थियो।

निरीक्षणका क्रममा स्वास्थ्य चौकीमा औषधि अभाव, उपकरणको कमी तथा सरसफाइमा कमजोरी देखिएकोले ती समस्याहरू तुरुन्त समाधान गर्न निर्देशन दिइएको छ। नगर प्रमुख कुर्मिले आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा जनशक्ति व्यवस्थापन छिटोभन्दा छिटो मिलाउने प्रतिबद्धता जनाउँदै सेवा प्रवाहलाई प्रभावकारी, चुस्त र छरितो बनाउन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिएका छन्।

यसैबीच, नगरपालिकाको ‘ड्रिम प्रोजेक्ट’का रूपमा निर्माण भइरहेको प्रशासनिक भवनको पनि अनुगमन गरिएको छ। निर्माण कार्य सुस्त गतिमा भइरहेकोप्रति चासो व्यक्त गर्दै नगर प्रमुखले निर्माण कम्पनीलाई तीव्र गतिमा काम सम्पन्न गर्न कडा निर्देशन दिएका छन्। सो भवन सम्पन्न भएपछि नगरपालिकाको प्रशासनिक कामकाज अझ व्यवस्थित र प्रभावकारी हुने विश्वास लिइएको छ।

स्थानीय बासिन्दाहरूले स्वास्थ्य चौकीमा सुधारको पहल सुरु भएकोमा खुशी व्यक्त गर्दै यसलाई निरन्तरता दिन आग्रह गरेका छन्। नगरपालिकाले थालेको यो अभियान सफल भएमा ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पहुँचमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस