
रौतहट, १९ चैत ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालका लागि भारतीय राजदूतावास बीच सातवटा उच्च प्रभावका सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर भएका परियोजना अन्तर्गत नवलपुरको मध्यबिन्दु नगरपालिका–२ र तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा कोल्ड स्टोर निर्माणको लागि विकास परियोजना कार्यान्वयनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यस्तै मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित जनबल माध्यमिक विद्यालयको भवन, छात्रावास तथा क्यान्टिन निर्माण गरिनेछ ।
यसैगरी कैलालीको गौरीगंगा नगरपालिका–११ मा श्री कालिका आधारभूत विद्यालय भवन निर्माण, रौतहटको परोहा नगरपालिका–४ मा बर्थिङ सेन्टर निर्माण, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ मा श्री कस्तुरी माध्यमिक विद्यालय भवन तथा बाँकेको खजुरा गाउँपालिका–४ मा श्री जनकल्याण माध्यमिक विद्यालय भवन निर्माण गरिनेछ ।
दूतावासका अनुसार यी सबै परियोजनाहरू सम्बन्धित स्थानीय तह र संस्था मार्फत कार्यान्वयन गरिनेछ । भारत सरकारको अनुदान सहयोगमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै सञ्चालन हुने यस्ता परियोजनाहरूको लागत करिब ४७ करोड ३० लाख रुपैया रहेको जनाइएको छ ।
यो परियोजनाहरूले स्थानीय स्तरमा पूर्वाधार विकास, सेवा विस्तार र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । साथै नेपाल–भारत बीचको सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

उहाँ Wartman Kal Dainik डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |
