रास्वपामा मन्त्री चयनको अन्तिम तयारी तीव्र

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १०, मंगलबार (१० घण्टा अघि)
  • ६६ पटक पढिएको
रास्वपामा मन्त्री चयनको अन्तिम तयारी तीव्र

काठमाडौँ, १० चैत। रास्वपा बालेन शाह नेतृत्वको नयाँ सरकारमा बन्ने मन्त्री चयनको अन्तिम गृहकार्यमा जुटेको छ । रास्वपा स्रोतका अनुसार केही व्यक्तिहरुको मन्त्रालय टुंगो लागिसके पनि केहीको बाँकी छ । ती बाँकी भएकाहरुसँग पार्टी सभापति रवि लामिछाने अन्तिम छलफलमा छन् ।

बालेन यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारीमा छन् । सोही दिन सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ । हालसम्म १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद बनाउनेबारे छलफल भइरहेको स्रोत बताउँछ । रास्वपाले चुनावी वाचापत्रमा मन्त्रालय १८ मा सीमित गर्ने उल्लेख गरेकाले त्यो भन्दा ठूलो आकारको मन्त्रिपरिषद नबनाउनेबारे छलफल भइरहेको नेताहरुले बताएका छन् ।

केही मन्त्रालय गाभेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी भइरहेको बताउँदै रास्वपाका एक नेताले भने, ‘मन्त्रीमा कतिपय अनएक्सपेक्टेड नाम आउन सक्छ ।’

पार्टी सञ्चालनको लागि टिम चाहिने भएकाले सचिवालय तहका केही नेतालाई भने ‘रिजर्भ’ मा राख्ने तयारी रास्वपाको छ ।

विभिन्न नाममा छलफल

स्रोतका अनुसार बालेनले प्रधानमन्त्रीसँगै रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले मन्त्री बन्ने निश्चित छ । उनीहरुले गृह, अर्थ वा भौतिक मन्त्रालय सम्हाल्नेबारे छलफल भइरहेको स्रोतले बतायो । भौतिक पूर्वाधारमा सुनिल लम्सालको नाममा छलफल भइरहेको छ ।

परराष्ट्र मन्त्रालयमा शिशिर खनालको चर्चा छ । खनाल पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख समेत हुन् ।

सोविता गौतमलाई स्वास्थ्य वा कानुन मन्त्रालय दिनेबारे छलफल भइरहेको छ । त्यसो त सभामुख पदमा पनि सोविताको नाम चर्चामा आउने गरेको छ ।

सभामुख पदमा पूर्व सञ्चारमन्त्री जगदिश खरेल र प्रतिभा रावलको पनि चर्चा छ । खरेलको नाम सञ्चार मन्त्रालयमा पनि छलफल भइरहेको स्रोत बताउँछ ।

युवा तथा खेलकुदमा सुदन गुरुङको नाम पनि चर्चामा छ । मनिष झाको नाम पर्यटन वा सञ्चारमा छलफल भइरहेको छ । झालाई युवा तथा खेलकुद मन्त्री बनाउने प्रस्ताव समेत छ ।

मन्त्रीको रुपमा विभिन्न नामहरुमा छलफल भइरहेको तर टुंगो नलागेको रास्वपाका एक नेताले बताए ।

२१ फागुनको निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको थियो । समानुपातिकबाट उसले ५७ सिट थपेको छ । प्रतिनिधि सभामा कूल १८२ सिटसहितको रास्वपा झण्डै दुई तिहाइ बहुमतको बलियो सरकार गठनको गृहकार्यमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस