लागुऔषध सेवनपछि नाबालकबाट विभत्स हत्या

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १०, मंगलबार (१३ घण्टा अघि)
  • १०१ पटक पढिएको
लागुऔषध सेवनपछि नाबालकबाट विभत्स हत्या

रुपन्देही, १० चैत। रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १, सिसईको एक घटनाले धेरै अभिभावकलाई झस्काएको छ । लागुऔषधको लतमा लागेका १५ वर्षीय किशोरले गाउँमा सानो किराना चालएकी ६० वर्षीय महिलालाई रातीमा चुरोट किन्न उठाएर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

रातिमा गाउँमा भएको यस्तो विभत्स घटनाले समाजभित्र फैलिँदै गएको लागुऔषधको कहालीलाग्दो यथार्थ उजागर गरेपछि धेरैलाई झस्काएको हो । स्थानीय ६० वर्षीया रेनु पटवार गाउँमा सानो किराना पसल सञ्चालन गरेर बसेकी थिइन्, जो आफ्नो सानो पसलमै बसोबास गर्दै आएकी थिइन्, २ चैतको राति त्यही पसलमा नाती उमेरको किशोरको नृशंस हत्याको सिकार बनिन् ।

राति करिब ११ बजेतिर एक किशोर चुरोट किन्न भन्दै पसलमा आइपुगे । गाउँमा जुनसुकै बेला बोलाएर पसल खोल्ने चलनअनुसार रेनुले उठेर पसल खोलिन् र दुई खिल्ली चुरोट दिइन् । तर पैसा माग्दा किशोरले दिन मानेन । उनले रातीको समयमा उदारो नदिने बताएपछि सामान्य भनाभन चर्किँदै जाँदा विवादले हिंसात्मक रूप लियो ।

प्रहरीका अनुसार सोही पसलमा रहेको कैँचीले किशोरले रेनुको अनुहार, टाउको र घाँटीमा अन्धाधुन्ध प्रहार गरे । ‘चुरोट किन्ने क्रममा वादविवाद हुँदा सोही पसलमा भएको कैँचीले रेनुको अनुहार, टाउको, घाँटीलगायत विभिन्न भागमा बीभत्स तरिकाले प्रहार गरी हत्या गरेर कैँची घटनास्थलमै छाडी फरार भएको देखिन आएको छ’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।
त्यो रात केवल एउटा हत्या भएन, एउटा जीवन संघर्षको अन्त्य भयो । ६० वर्षे जीवनको यात्रामा संघर्ष गर्दै आएकी रेनुको प्राण पसलकै कुनामा टुंगियो, जहाँ उनी आफूलाई सुरक्षित ठान्थिन् ।

घटना चैत २ गते सोमबारको हो। मध्यरातको भइसकेको थियो। तर रूपन्देहीको शुद्धोधन गाउँपालिका–१, सिसईचोक सन्नाटामा डुबेको थियो। ६० वर्षीया रेनु पटवा आफ्नो सानो पसलको एउटा कुनामा थकित शरीर बिसाएर मीठो निद्रामा थिइन्। उनलाई के थाहा, वर्षौंदेखि आफैले देखेको, चिनेको र सायद आफ्नै नातिजस्तो ठानेको एउटा १५ वर्षको किशोर उनको काल बनेर ढोकामा उभिएको छ।

त्यो रात सिसई गाउले एउटा विभत्स दृश्य देख्नुपर्‍यो। लागुऔषधको नसामा लठ्ठिएका ती किशोरले सिरानीमा टाउको राखेर सुतेकी वृद्धामाथि कैँची प्रहार गरे। एउटा, दुईटा मात्र होइन, टाउको, अनुहार र घाँटीमा अन्धाधुन्ध प्रहार भइरह्यो। रगतको आहलमा छटपटाउँदै गर्दा रेनुको प्राणपखेरु उड्यो। ६० वर्षको संघर्षशील जीवन एउटा कैँचीको धार र नसाको आवेगमा एकैछिनमा समाप्त भयो।

इलाका प्रहरी कार्यालय बुटवलले गरेको प्रारम्भिक अनुसन्धानले समाजलाई झस्काएको छ। हत्याको आरोपमा पक्राउ परेका ती १५ वर्षीय युवक कोही अपरिचित थिएनन्, उनी त्यहीँकै छिमेकी थिए। सिसईको त्यो पसल अहिले सुनसान छ ।

घटनाको अनुसन्धान हेरेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवका अनुसार ती किशोर लागुऔषधका प्रयोगकर्ता थिए। प्रहरीमा दिएको प्रारम्भिक बयानमा उनले लागु औषध किन्नका लागि रकम अभाव भएकाले चोरी गर्न गएको र मृतकले देखेपछि हत्या गरेको खुलेको छ।

पक्राउ परेका किशोरले आफुले उक्त समयमा ब्राउन सुगर प्रयोग गरेको र चुरोट किन्न गएको बयानमा बताएकाे श्रीवास्तवकाे भनाइ छ। श्रीवास्तवका अनुसार गाउँको पसल जुनसुकै बेला पनि बोलाएर खोल्ने चलन रहेछ ति किशोर गएपछि मृतक रेनुले पसल खोलेको र पसल खोलेपछि विवाद भएको देखिन्छ। विवाद चर्किएपछि मृतककै पसलमा रहेको कैची झिकेर प्रहार गरेको  उनले बताए ।

‘यो केवल एउटा हत्याको घटना मात्र होइन, यो लागुऔषधले खाँदै गरेको हाम्रो नयाँ पुस्ताको ऐना हो,’ उनले भने,’एउटा अबोध बच्चा कसरी दानव बन्दोरहेछ भन्ने डरलाग्दो सत्य पनि हो ।’

घटनापछि विभिन्न कोणबाट अनुसन्धान गरेको प्रहरीले ती किशोरलाई चैत्र ७ गते नियन्त्रणमा लिएको थियो। रूपन्देही जिल्ला अदालतबाट म्याद थप गरी अहिले कर्तव्य ज्यानु मुद्दामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। गाउँटोलमा लुकिछिपी भइरहेका लागुऔषधको कारोबार नरोकिँदा र अभिभावकले सन्तानको बदलिँदो व्यवहारलाई ध्यान नदिँदा यस्ता घटनाहरू दोहोरिरहने चिन्ता बढाएको प्रहरी अधिकारीको विश्लेषण छ ।

घटनाबारे भोलिपल्ट बिहान मात्रै स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तव र इलाका प्रहरी कार्यालय रन्यौराबाट प्रहरी निरीक्षक प्रलाद केसीको कमान्डमा टोली घटनास्थल पुगेको थियो । मुचुल्का उठाएर अनुसन्धान अघि बढाइएको थियो ।

अनुसन्धानका क्रममा पक्राउ परेका किशोर लागुऔषध सेवनकर्ता रहेको खुलेको छ । उनले प्रारम्भिक बयानमा लागुऔषध सेवनका लागि पैसा आवश्यक परेकाले चोरी गर्ने उद्देश्यले गएको र विवाद भएपछि आवेगमा हत्या गरेको स्वीकारेका छन् ।

घटनापछि उनी आफ्नै घर फर्किएको, लुगा र शरीर सफा गरेर सामान्य रूपमा सुतेको समेत खुलेको छ । प्रहरीले विभिन्न विधि अपनाएर अनुसन्धान गर्दै जाँदा उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका किशोरलाई पाँच दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस