
काठमाडौं, २७ चैत। रोजगारीका लागि पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ नगरपालिका–१० बस्ने काभ्रे घर भएकी ४७ वर्षीया कुमारी मगर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
कुमारीले पोर्चुगल पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
