विवादित गीतका कारण नोरा फतेहीमाथि कारबाहीको माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ९, सोमबार (१ दिन अघि)
  • ११९ पटक पढिएको
विवादित गीतका कारण नोरा फतेहीमाथि कारबाहीको माग

काठमाडौं, ०९ चैत। क्यानडाली मुलकी बलिउड अभिनेत्री नोरा फतेही यतिबेला गम्भीर कानुनी र सामाजिक संकटमा फसेकी छन्। कन्नड फिल्म ‘केडी : द डेभिल’ को ‘सरके चुनर तेरी सरके’ बोलको गीतलाई लिएर सुरु भएको विवादले उग्र रूप लिएपछि उनलाई भारतबाटै डिपोर्ट गर्न माग गरिएको हो।

१० जना वकिलको एउटा समूहले भारतीय गृहमन्त्रालयमा औपचारिक उजुरी दिँदै नोराको श्रम स्वीकृति रद्द गर्न र उनलाई तत्काल क्यानडा फिर्ता पठाउन माग गरेको छ। उक्त गीतको हिन्दी संस्करणमा प्रयोग भएका शब्दहरूलाई लिएर सर्वत्र आलोचना भइरहेको छ।

वकिलहरूले आफ्नो उजुरीमा यो गीत अत्यन्तै अश्लील, यौन उत्तेजक र महिलाको अस्मितामाथि चोट पुर्‍याउने खालको रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार विदेशी नागरिकका रूपमा भारतमा काम गर्ने विशेषाधिकार पाएकी नोराले सार्वजनिक नैतिकता र मर्यादाको उल्लंघन गरेकी छन्।

यसका लागि विदेशी अधिनियम १९४६ र पासपोर्ट अधिनियम १९२० का विभिन्न प्रावधानहरू उद्धृत गर्दै उनीमाथि कडा कारबाहीको माग गरिएको छ। भारत सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाइसकेको छ भने राष्ट्रिय महिला आयोगले पनि यस विषयलाई गम्भीरताका साथ लिएको छ।

यस प्रकरणमा गीतका रचनाकार रकीब आलमले भने सारा दोष निर्देशक प्रेममाथि थोपरेका छन्। निर्देशकले कन्नड भाषाको गीतलाई जबरजस्ती शब्द-शब्द अनुवाद गर्न लगाएका कारण यस्तो स्थिति आएको उनको तर्क छ।

रोचक कुरा त के छ भने, सोही गीतमा देखिएका बलिउडका दिग्गज अभिनेता संजय दत्त र फिल्मका निर्माता-निर्देशकमाथि भन्दा बढी आक्रोश नोरा फतेहीप्रति देखिएको छ। वकिलहरूले नोराले भारतीय कानुन र सूचना प्रविधि ऐन २००० का कैयौँ धाराहरू उल्लंघन गरेको आरोप लगाएका छन्।

बढ्दो विवाद र सामाजिक सञ्जालमा भइरहेको ट्रोलिङका बिच नोरा फतेहीले आफ्नो बचाउमा स्पष्टीकरण दिएकी छन्। उनले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै आफूलाई गीतको हिन्दी अनुवाद र त्यसका शब्दहरूबारे कुनै जानकारी नभएको बताएकी छन्।

तीन वर्षअघि नै कन्नड भाषामा खिचिएको यो गीत संजय दत्त जस्ता ठूला कलाकारसँग काम गर्ने अवसर भएकाले आफूले स्वीकार गरेको उनको भनाइ छ। आफूलाई कन्नड भाषा नआउने र निर्माण पक्षले हिन्दी डब गर्दा आफ्ना शब्दहरू परिवर्तन गरेको बारे आफूसँग कुनै अनुमति नलिएको भन्दै उनले आफू निर्दोष रहेको दाबी गरेकी छन्।

ताजा अपडेट

खोजी गर्नुहोस