दुई दिने साप्ताहिक बिदाले शैक्षिक क्यालेन्डर प्रभावित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २९, आईतबार (४ घण्टा अघि)
  • ७३ पटक पढिएको
दुई दिने साप्ताहिक बिदाले शैक्षिक क्यालेन्डर प्रभावित

काठमाडौं, २९ चैत। नयाँ शैक्षिक सत्र अन्तर्गत विद्यालय भर्ना अभियान र पठनपाठन शुरु गर्ने समय अघिल्ला वर्षको तुलनामा केही पछि सार्ने सरकारको निर्णयलाई ‘ अव्यवहारिक’ भन्दै स्थानीय तह तथा केही सामुदायिक एवं निजी विद्यालयका अधिकारीहरूले पुनर्विचार गर्नका लागि माग गरेको छ ।

सरकारले ‘२०८३ सालको शैक्षिक सत्र वैशाख पन्ध्र गतेबाट शुरु गर्ने’ तथा शनिबार र आइतबार बिदा दिने निर्णय गरेसंगै बिहीबार शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै विद्यालयहरूलाई आउँदो वैशाख १५ बाट भर्ना अभियान थाल्न र २१ गतेबाट मात्रै नयाँ शैक्षिक सत्रको पठनपाठन शुरु गर्न भनेको छ । उक्त केन्द्रका अधिकारीहरूले ‘दुई दिन विदा दिने परिवर्तित सन्दर्भमा सहजीकरणका निम्ति आफूहरूलाई भनिएको र त्यसैको प्रतिक्रियामा सो ‘सर्कुलर’ गरिएको’ बताएका छन् ।

यस अघि वैशाख महिना लाग्ना साथ भर्ना अभियान शुरु हुन्थ्यो । सामुदायिक विद्यालयसम्बद्ध प्रधानअध्यापक संघ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र स्थानीय तहका पदाधिकारी तथा शिक्षाविद्ले सरकारको उक्त निर्णयले पठनपाठनमा प्रतिकूल प्रभाव पर्न सक्ने टिप्पणी गरेका छन् ।

धनुषाको एक स्थानीय तहले शैक्षिक सत्र सञ्चालनको शुरु हुने मितिसम्बन्धी संघीय सरकारको निर्णय गलत भएको टिप्पणी गरे पनि साप्ताहिक दुई दिने बिदाको निर्णय कार्यान्वयन गर्नै पर्ने बाध्यता रहेको जनाएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल -प्याब्सन) र सामुदायिक विद्यालयसम्बद्ध प्रधानअध्यापक संघका पदाधिकारीहरूले इन्धनको अभाव भएका बेला दुई दिन विदा दिने निर्णयलाई अन्यथा नठानिए पनि भर्ना अभियान र पठनपाठन ढिला थाल्ने निर्णयको कारणबारे बुझ्न नसकिएको जनाएका छन् ।

वैशाख २१ गतेबाट पठनपाठन शुरु गर्दा उक्त महिनाको शुल्कका सम्बन्धमा पनि विवाद उत्पन्न हुन सक्ने उनीहरु बताउँछन् । प्रधानाध्यापक संघद्वारा दुई दिन बिदा हुँदा पाठ्यभारमा असर पर्ने र ढिलो शुरु हुने भर्ना अभियानका कारण विद्यार्थी भर्ना संखया प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । एकजना शिक्षाविद्ले पनि अन्य विकसित देशको शिक्षणसिकाइ र नेपालको परिवेशको तुलना गर्न नमिल्ने बताए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस