वर्तमानकाल सम्वाददाता
बैशाख १३ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले मौन अवधिको समयमा आर्थिक चलखेल नगर्न अन्य दललाई चेतावनी दिएका छन् ।१५ वैशाखमा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । गृहमन्त्री लामिछानेले इलाममा भएको चुनावी सभामा मौन अवधिलाई मनी अवधि नबनाउन दलहरुलाई चेतावनी दिए ।
‘मौन अवधि भनेको मनि अवधि भएको कुरा तपाईहरुले सुन्नुभएको छ होला,’ गृहमन्त्री लामिछानेले भने,‘खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनि अवधिको प्रयोग नगरोस् । ’निर्वाचन आचार संहिताको पालना गर्न लामिछानेले आग्रह गरे । आचार संहिता उल्लंघन गर्नेलाई कानुनको दायरामा ल्याउने बताए ।
‘अधिकार र शक्तिको दुरुपयोग गरेर उम्मेदवारलाई जिताउनु छैन । मिलन लिम्बुलाई जिताएनन् भने पनि जनता जिन्दावाद,’ लामिछानेले भने ।चुनावको बेला पैसा बाँड्न हिडेकालाई नियन्त्रणमा लिने सुरक्षाकर्मीकोे उच्च मूल्यांकन हुने उनले बताए ।