वर्तमानकाल सम्वाददाता
बैशाख २२, रौतहट
सुख्खा मौषम सुरु भएसंगै रौतहट सहित मधेस प्रदेशका अधिकांश जिल्ला अहिले आगलागीका घटना हुने गरेको छ ।
रौतहटका विभिन्न स्थानमा गरी १८३ बटा आगलागीको घटना भएको मधेस प्रदेश प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्रै १८३ बटा आगलागीका घटनामा ४ करोड ९८ लाखको क्षति भएको छ । गर्मीयाम सुरु भएसँगै आगलागीका घटना बढ्न थालेको प्रहरीको भनाइ छ ।
पछिल्लो समय हरेक जिल्लामा आगलागीका घटना बढेको मधेस प्रदेश प्रहरीले जनाएको छ । प्रदेश प्रहरीले सङ्कलन गरेको
विवरणमा हरेक जिल्लामा आगलागीका घटना भएको छ । मधेस प्रदेश प्रहरीका अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्रै प्रदेशभर १२ सय आगलागीका घटना भएका छन् ।चालु आर्थिक वर्षको साउनदेखि वैशाख १५ गतेसम्ममा प्रदेशका ८ वटै जिल्लामा १ हजार १९९ वटा आगलागीका घटना भएको प्रहरी तथ्याङ्क छ । मधेसको सिरहा जिल्लामा सबैभन्दा बढी आगलागीको घटना भएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
आगलागीका घटना कम भएको जिल्ला सर्लाही हो । सिरहामा २१६ वटा र सर्लाहीमा १०४ आगलागीका घटना भएको प्रहरीको अभिलेख छ । यसैगरी सप्तरीमा १७२, धनुषामा १४५, महोत्तरीमा १३०, रौतहटमा १८३, बारामा १२१ र पर्सामा १२८ वटा आगलागीको घटना भएको प्रदेश प्रहरीको तथ्याङ्क छ । प्रहरीका अनुसार सप्तरीमा ५ करोड ४१ लाख, सिरहामा ८ करोड २० लाख, धनुषामा ८ करोड ४९ लाख, महोत्तरीमा ४ करोड १४ लाख, सर्लाहीमा ३ करोड ४१ लाख रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ । यसैगरी रौतहटमा ४ करोड ९८ लाख, बारामा ४ करोड १७ लाख र पर्सामा ५ करोड ७२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी विवरण छ ।
करिब १० महिनामको अवधीमा मधेस प्रदेशमा २० जनाको मृत्यु भएको प्रहरी तथ्याङ्क छ ।चालु आर्थिक वर्ष प्रदेशभर भएका आगलागीका घटनाबाट २० जनाको मृत्यु भएको तथा १२० जना घाइते भएको मधेस प्रदेश प्रहरी प्रवक्ता सुभास बोहोराले बताउनुभयो ।उहाँका अनुसार मानवीय क्षतिसँगै २०३ वटा चौपायाको मृत्यु भएको र ११२ वटा घाइते भएको विवरण छ । आगलागीबाट यो अवधिमा ५६१ वटा पक्की तथा कच्ची घर जलेर नष्ट भएको प्रहरी आँकडा छ । यसैगरी २२७ वटा गोठ जलेर नष्ट भएको मधेस प्रदेश प्रहरी प्रवक्ता बोहोरा बताउनुहुन्छ । एक्कासी गर्मी बढेसँगै आगलागीका घटना बढ्न थालेको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी प्रवक्ता बोहोराका अनुसार मधेस प्रदेशमा ह्वात्तै गर्मी बढ्दै गएको छ, तातो हावाहुरी पनि चलिरहेको छ ।