बैशाख ०३ गते
उच्च जोखिममा रहेको रौतहटमा पनि अब कोरोनाको डरले प्रवेश गरिसकेको छ । छिमेकी बारा जिल्लालाई सरकारले उच्च प्रभावित जिल्लाको रुपमा घोषणा गरिसकेको छ । पर्सा र बारामा दिनहुँ कोरोना संक्रमितको संख्या बढिरहेको छ । पर्सामा त झन् केही मानिसको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको समाचारहरु प्रकाशित भएका छन् । यसभन्दा पहिले वीरगंजमा कोरोनाको अत्यधिक विस्तार भएको समयमा नियन्त्रणको लागि सेना पनि परिचालन गरिएको थियो । अहिले पनि बजारमा भीडभाड कम नभएको र सतर्कता पनि नभएको देखिँदैछ । वीरगंजसित रौतहटको अत्यन्त निकटको सम्बन्ध रहेको छ । दिनहुँ सयौँ मानिस रौतहटबाट बारा हुँदै वीरगंज पुग्ने गरेका छन् । यस अवस्थामा पर्सा जिल्ला उच्च जोखिममा हुनु भनेको रौतहटमा पनि कोरोनाको डर बढ्नु हो ।
कोरोना संक्रमित रौतहटमा पनि देखिन थालेका छन् । जिल्ला अस्पताल गौरमा निकै कमको परीक्षण भएको छ तर केहीमा भने कोरोना संक्रमण देखा परेको छ । रौतहटमा पनि कोरोना संक्रमण देखा पर्न थालेपछि सर्वसाधारण सचेत हुनुपर्ने बेला भएको छ । रौतहटमा कोरोनाको संक्रमण देखा पर्न थाल्नु र छिमेकी बारा जिल्लालाई सरकारले उच्च जोखिमको जिल्लामा राख्नुले रौतहटमा पनि कतै लकडाउन हुने हो कि भन्ने आशंकाहरु गरिन थालिएको छ । मुख्य गरी बेपारमा संलग्न मानिसहरुले लेकडाउन नहोओस् भन्ने चिन्ता व्यक्त गर्दछन् तर ती बेपारीको मुखमा मास्क हुँदैन । कुनै सतर्कता पनि नअपनाउने र फेरि बन्द पनि नहोओस् भन्ने चाहना राख्ने । यसरी दुई विपरीत प्रवृत्तिकै कारण कोरोनाको खतरा झन् बढेको हो । कोरोनाको खतरा कम गर्न सम्भव भएसम्मको सतर्कता अपनाउनु जरुरी छ जसमा हामी निकै पछाडि परिरहेका छौँ ।
कोरोनाको डर सबैलाई छ र हुनु पर्छ पनि । कुनै पनि जात, धर्म र उमेरलाई कोरोनाले छोडेको छैन । सम्भव भएसम्मको सतर्कता अपनाउने हो भने जनजीवन सहज भइराख्छ पनि । हैनभने जनजीवन असहज नहोला भन्न सकिन्न । भारततिर पनि निर्बाध जानेहरु छन् र फर्किनेहरु पनि छन् । सीमा जोडिएका भारतीय बजारमा पुग्नेहरुले पनि के देखेका छन् भने कुनै सतर्कता अपनाइएको छैन । सकर्तता नअपनाउनेहरुको अनुकरण गरेर झन् असतर्क हुँदा यो रोगको डर बढेको हो । वास्तवमा अबको समयमा पनि कोरोना संक्रमणको खतरालाई नजरअन्दाज गर्ने हा ेभने गम्भीर परिणाम समाजले भोग्नु पर्ने स्थिति आउन सक्छ । यसकारण सबैभन्दा सजिलो हो कि कठिन समयमा सतर्कता अपनाउनु पर्दछ ।