बैशाख ०४ गते
भूमिका
धेरै वर्ष पहिले भतिजले विद्यालयीय शिक्षा सकाएर उच्च शिक्षा हासिल गर्नका लागि शहर जाँदा काकाले नयाँ वर्षको अवसर पारेर शुभकामना दिएका हुन्छन् । अहिले आएर भतिजको उमेर काकाले शुभकामना दिदाको उमेरको छ । उता काका भने जीवनको अन्तिम घडीमा सकिनसकि श्वास प्रश्वास क्रियालाई बन्द गर्न सकिरहेका छैनन् । काकाको उमेरमा अहिले भतिज आइपुग्दा बल्ल अनुभव बटुल्दै छ काकाले कस्तो खालको शुभकामना दिनु पथ्र्यो भनेर । अहिले आफ्नो काका मृत्युलाई कुरेर बसिरहेको अवस्थामा स्वय आफू पनि काका बनिसकेको छ ।
नयाँ वर्षलाई बडो रोचक तरिकाले बुझेको उसले सताब्दी, दशक, वर्ष, महिना, दिन, घण्टा, मिनेट, सेकेन्ड (मिलिसेकेन्ड, माइक्रोसेकेन्ड, नानोसेकेन्ड, पिकोसेकेन्ड) को चित्त बुझाउने आधार मान्दैन । १२ महिना पछि १३ महिना आउनु पर्नेमा पुनः फर्केर पहिलेको १ महिना आउनुले गणितको नियममा त्यति तुक रहेको मान्दैन ऊ । दिन उही, रात उही, मान्छे उही, समय, परिवेश पूरै उही हुँदा हुँदै पनि बेलुका सुत्दा पुरानो वर्ष बिहान उठ्दा नयाँ वर्ष भन्नु पर्दा खिन्न हुन्छ ऊ । नयाँ वर्षमा क्यालेन्डर फेर्ने पद्धतिलाई राम्रो मान्दैन ऊ । क्यालेन्डर मात्र हैन विचार र ब्यवहार फेर्नु पर्छ भन्ने ऊ कहिलेकाहिँ दिग्दारिपनले गर्दा हरेक बिहानीलाई नयाँ वर्ष, नयाँ दिन वा नयाँ जीवन नै मान्छ ऊ । महात्मा गान्धीले भने झैँ –“ म प्रत्येक रात निदाउँदा मर्छु र बिहान ब्युँझदा जन्मन्छु ्र” उसले पनि प्रत्येक बिहान ब्यँुझदा जीवनलाई नयाँ शिराबाट सुरु गर्ने कुरामा जोड दिन्छ । आफू सानो छँदा काकाले दिएका शुभकामनाका वाणीहरू अहिले आफू काका भइसक्दा यसरी बुझ्छ ऊ ।
शुभकामना नं १.
“ल बाबू ! धेरै पढ्नू,असल र ज्ञानी बन्नू्र”
उसले काकाको शुभकामनालाई शिरोधार्य गर्दै गयो । उसले कहिले पनि पहिलो शुभकामनालाई अपमान गरेन । भाग्यले साथ दिदै गयो । उसले धेरै पढ्यो । असल र ज्ञानी पनि भयो । जति धेरै पढ्दै गयो, असल र ज्ञानी बन्दै गयो त्यति नै ऊ साथीभाइ, अवस्था र परिवेशबाट एक्ँिलदै गएको आभाष भयो । उसलाई जागिर खानु थिएन किनभने काकाले उसलाई जागिर खानु भनेकै छैनन् । अर्को कुरा जागिर कस्तो, कुन ठाउँमा, के कसरी खाने भन्ने कुरा र पढाई वा शैक्षिक योग्यता नितान्त पृथक पक्ष हुन् । सबै पढेलेखेकाले कहाँ जागिर खाएका छन् र सबै जागिर खाइसकेकाले कहाँ पढेलेखेका छन् र ! उसलाई जागिर खुवाउने तौरतरिकाका बारेमा काका मौन थिए । उसले पनि त्यसलाई त्यति प्राथमिकतामा राखेन । एक एकल बौद्धिक र ज्ञानी जीवन पायो उसले ।
शुभकामना नं. २
“कसैको पनि कुभलो नाचिताउनू्र”
ऊ सदैब अरुको भलो चिताउँथ्यो । अरुको भलो गर्नाले आफ्नो पनि स्वतस्फूर्त भलो हुँदै जानेछ भन्ने मान्यतामा अडिग रहँदै जाँदा उसलाई बाटो बनाएर सयौं हजारौंले आफ्नो यात्रा तय गरिसके । उसले केवल बाटोको मात्र काम गर्यो तर गन्तब्यमा अरु पुगे । यी सब कुराको उसलाई त्यति ख्याल पनि भएन । इमान्दारितामा जीवन चलाउनेलाई यो कलियुगमा हुने यस्ता अनेकौं प्रकारका टिकडमबाजी प्रति के नै मतलब पो भयो र ! आखिर जीवनमा शान्तपूर्वक बाँच्नु थियो बाँचिरहेको छ सबैको भलो चिताएर ।
शुभकामना नं ३
“स्वस्थ हुनू, लामो आयु बाँच्नू”
स्वस्थ हुने भन्ने कुरा कुनै काका वा भगवान भरोसामा हुने हो कि स्वस्थ खानपान, स्वस्थ वातावरण लगाएत विविध पक्षलाई समायोजन गरेर लैजान सकेमा मात्र हुने हो । यो सोचनीय विषय होला । त्यही लामो आयू बाँचेकोले गर्दा हो कि सिंगो वातावरण प्रदूषित गराएर विभिन्न रोगब्याधी फैलाई अस्वस्थ शरीर निल्नु न ओकल्नुको अवस्थामा ल्याएको । वर्तमान परिवेशमा विश्वका अत्यधिक विकसित मुलुक होउन् वा विकासशील मुलुक सबै ग्रसित छन् । दिन दुगुना र रात चौगुनाका दरले नाटकीय ढंगबाट आविस्कार भएका उच्च कोटिका स्वास्थ्य सेवा तथा सुविधाले पोक्त भएर हो कि अन्नको परिमाणभन्दा औषधिको मात्रालाई बढी जोड दिएर बाच्नु परेको जीवन उसले पाएको ।
शुभकामना नं. ४
“जन्मभूमिलाई माया गर्नू ।”
“जननी जन्मभुमिश्च स्वर्गादपी गरीएसी “को पूर्ण अर्थ धेरैपछि मात्र बुझेको ऊ वास्तवमा आफ्नै जन्मभूमिलाई अंगालो मारेर बसिरह्यो । दुनियाँ साथी संगतिले सिंगो विश्वलाई एउटा घर वा परिवारजस्तो बनाएर देश बिदेश पानी पधेरो बनाई सक्दा पनि मातृभूमिप्रति अटल रहिरहन्छ ऊ । विश्वका हरेक कुना काप्चामा मानिस पुगेर हरेक चिजको भोग गरेर, देखेर विश्वबन्धुत्व कायम गरिसक्दा पनि उसलाई कुनै फरक पर्दैन र मनमा लिइरहन्छ उही वाक्य “जननी जन्मभूमिश्च स्वर्गादपी गरीएसी”
शुभकामना नं. ५
“मातापिताको सेवा गर्नू”
संसारमा सबै कुरा किनेर ल्याउन सकिन्छ अरे केबल आमा बुबाबाहेक । उसले पनि मातापितालाई भगवान सरह मानसम्मान गर्दै गयो । संगैका साथी को कहाँ पुगे; कसले कति कमाए, कसका बालच्चा कति भए । जीवनलाई कुन तरिकाबाट अगाडि बढाए, क–कसले आमाबुबालाई वृद्दाश्रममा थन्काएर पलाएन भए, श्रीमतीलाई सुखी र खुसी राख्न के सम्म गरे, यी यावत पक्ष उसका लागि सबल हुन कि दूर्वल हुन त्यो मतलब भएन । तर उ एउटा असल इमानदार र बौद्धिक भएकोले मातापिताको आशीर्वाद लिई रह्यो । बाँकी दुनियाँ कता दौडिरहेको छ भन्ने बारेमा उसलाई त्यति चासोको विषय रहेन ।
शुन्य समय
यस समय सम्म आइपुग्दा ऊ धेरै दशक पार गरिसकेको छ । उसले विगत सम्झन्छ, वर्तमानलाई नियाल्छ र भविष्यलाई कल्पना गर्छ । एक होइन अनेक आरोह अवरोह पार गर्दै आएको ऊ अबको आफनो यात्रालाई पृथक ढंगबाट हाक्ने मोडमा पुग्छ । उसले अगाडि नै भनिसक्यो समयका बारेमा । गणितको नियममा त्रुटी देखायो तै पनि घुम्दै फिर्दै नयाँ वर्ष आइपुगेछ । अब यस्तो मोडमा ऊ आइपुग्यो कि उसले आफ्नै भतिजलाई शुभकामना दिनु पर्ने भयो ।
शुभकामना
ल बाबू ! पढ्नु त पर्छ नै । यो दुनियाँमा शिक्षाभन्दा ठूलो सम्पत्ति अरु केही छैन । तर आफूलाई चाहिने शिक्षा के कस्तो प्रकारको र कति सम्मको हो त्यतिमात्र पढ्नू । शिक्षा र जागिर एकै प्रकारका होइनन् । पढाइ भिन्दै हो, जागिर भिन्दै हो । आम मानिसको बुझाई पढेर जागिर पाइन्छ भन्ने छ त्यो होइन । पढेर सर्टिफिकट पाइएला । त्यसले मात्र ढोका खोलिदिने हो । सर्टिफिकट सम्पत्ति होइन । ज्ञान र सिप हो सम्पत्ति । बाबू ! सधै भरि बाटो मात्र भइरहनु भन्दिन म । ठीक छ हजारौले तिमीलाई कुल्चेर गन्तब्य चुमे पनि तिमीले भलो गरौला तर त्यस बाटोमा हिड्ने अपराधिलाई तिमिले समातेर राख्नू । बाबू ! स्वास्थ्य नै धन हो भने कुरालाई ख्याल गर्नू । आयू लामो वा छोटो बाँच त्यो बेग्लै कुरा हो । तिमी जहाँसम्म बाँच्छौ त्यहाँसम्म स्वस्थ भएर बाँच भन्ने मेरो चाहना हो । बाँकी काम कर्तव्य तिमीमा भरपर्ने कुरो हो ।
त्यस्तै गरी जन्मभूमि र मातापिताको कुरा छ त्यो त यो दुनियामा कसैले कसैलाई सम्झाएर बुझाँएर भाषण दिएर हुने कुरा होइन । व्यक्तिले आध्यात्मिक रुपबाट स्वतस्फूर्त रुपमा अनुभव गर्ने भावना मात्र हो । यसमा मातापितालाई, जन्मभूमिलाई चित्त दुखाउने कोही कसैलाई कारवाही गर्ने कुरा होइन । मान्छे स्वार्थी छ त्यो वास्तविक हो । प्रगति गर्छ, विकास गर्छ, एक होइन अनेक गर्छ, बरु गर्ने काम कम गर्ला नगर्ने काम वढी गर्ला । जे होस, जहिले पनि आफनो आधार के हो ? त्यसलाई बिर्सेर पनि अपमान नगर्नू । यसैमा तिम्रो भलो हुनेछ ।
सूर्य सधै अटल छ, प्रज्ज्वलित छ, त्यसलाई बादलले छोप्ला, अध्याँरोले छोप्ला वा धुवाँ धुलो वा तुवाँलोले छोप्ला, केही फरक पर्दैन किनभने जसले छोपे पनि जीत सूर्यकै हुन्छ । सिङ्गो ब्रह्माण्डलाई जलाएर अन्तमा वर्षाको तारतम्य मिलाउने सूर्य नै हो ।