बैशाख ०४ गते
नेपाल–भारत सीमानाकामा हेल्थ डेस्क स्थापना गरी कोरोनाको जाँच सुरु गरिएको छ । यो निकै सकारात्मक कदम हो । नेपाल र भारतबीचको सिमाना खुल्ला भएको कारण यी दुई देशका नागरिकबीच स्वाभाविक आवागमन भइरहन्छ । चाडपर्वको समय होस्, लगनपातीको समय होस् चाहे सामान्य दिनहरु किन नहोऊन्, दुवै देशका नागरिकहरु एक अर्काको देशका अनेक कामले आवागमन गरिरहेका हुन्छन् । नेपाल र भारतको यो मौलिकता र सौन्दर्य हो ।
उसो त बेटीरोटीको सम्बन्ध पनि भन्दा रहेछन् । यताका बेटीको बिहे उता हुने र उताका बेटीको बिहे यता हुने कुराले दुई देशका नागरिकबीचको धार्मिक, साम्प्रदायिक, सामुदायिक, सांस्कृतिक, जातिय आदि अनेक किसिमको सम्बन्ध रहेको छ । साथै रोजगारीका लागि पनि एक देशका नागरिक सोझै अर्को देशमा पुग्दा रहेछन् । अनेक औपचारिक र अनौपचारिक क्षेत्रमा दुई देशका नागरिकहरुले दुई देशमा काम गरिरहेका छन् । साथै सरसामान किन्न पनि दुई देशका नागरिक एक अर्को देशमा जाने गरेका छन् । जनस्तरमा दुई देशका नागरिकबिच कुनै दुई देशका नागरिकजस्तो सम्बन्ध रहेको भन्दा नितान्त भाइचारा सम्बन्ध रहेको देखिन्छ ।
अहिले कोरोना संक्रमण निरन्तर बढिरहेको छ । गत वर्ष यस समयमा दुई देशमा नै लकडाउन घोषणा भइसकेको थियो तर अहिलेसम्म दुई देशमध्ये कुनैले पनि देशभर लागू हुने गरी लकडाउन घोषणा गरेको छैन । कोरोनाको कहर विस्तार भइरहेको भए पनि लकडाउन नहुँदा दुई देशका नागरिकस्तरमा आवागमन भइरहेको छ । यस अवस्थामा विभिन्न नाकाहरुमा हेल्प डेस्क स्थापना गरी कोरोनाको जाँच गरिनुलाई अत्यन्त राम्रो मान्न सकिन्छ । यसले दुवै देशलाई फाइदा हुने विश्वास गरिएको छ । सीमानाका गरिन थालिएको जाँचको सबै क्षेत्रबाट स्वागत गरिनु पर्दछ र साथै सम्भव भएसम्मको सकारात्मक सहयोग पनि गर्नु आवश्यक रहेको छ ।