रमेश कुमार यादब
चैत २१, रौतहट
रौतहटको वृन्दावन नगरपालिका–१ स्थित बागमती नदीको बगर क्षेत्रमा बहुमूल्य खयर जातका रूखहरू अवैध रूपमा मास्ने कार्य तीव्र रूपमा भइरहेको छ । खेतीयोग्य जमिन बनाउन संगठित रूपमा भइरहेको यस विनाशलाई तत्काल रोक्नुपर्ने माग स्थानीयहरूले गरेका छन् । तर, सम्बन्धित निकाय मूकदर्शक बनेको आरोप लगाइएको छ ।
संगठित रूपमा रूख कटानीको आरोप
वृन्दावन सब डिभिजन वन कार्यालय अन्तर्गत पर्ने यस क्षेत्रमा खयरका रूखहरू धमाधम काटिने क्रम बढ्दै गएको छ । डिभिजन वन कार्यालय, रौतहटको लापरबाहीका कारण बागमती नदीले वन क्षेत्र अधिग्रहण गरेको भूभाग खेतीयोग्य जमिनमा परिणत गर्ने कार्य दिनानुदिन बढ्दै गएको छ । स्थानीय बासिन्दाहरूका अनुसार यो कार्य व्यक्तिगत रूपमा नभई संगठित रूपमा भइरहेको छ ।
अन्य जिल्लाका व्यक्तिहरूको संलग्नता
यो अवैध गतिविधिमा रौतहटका मात्र नभई काभ्रे, मकवानपुर, सिन्धुली लगायतका जिल्लाबाट आएका व्यक्तिहरूको समेत संलग्नता रहेको खुल्न आएको छ । उनीहरूले हजारौं हेक्टर बगर क्षेत्र कब्जा गरी खेतीयोग्य जमिनमा परिवर्तन गरिसकेका छन् । स्थानीय बासिन्दा सुरेश यादवका अनुसार उक्त बगर क्षेत्रलाई खेतीयोग्य जमिन बनाउन दैनिक रूपमा १० भन्दा बढी ट्रयाक्टरहरू सञ्चालन भइरहेका छन् । उनले वन कार्यालयलाई पटक–पटक जानकारी गराए पनि कुनै कारबाही नभएको गुनासो गरेका छन् । यादवका अनुसार वन कार्यालयका कर्मचारीहरूकै मिलेमतोमा खयरका रूखहरू काट्ने कार्य भइरहेको छ ।
वन सम्पत्तिको दोहन, पशुपालनमा असर
खेत बनाउने नाममा अवैध रूपमा कटान गरिएका हजारौं खयरका रूखहरू बगरबाटै गायब हुने गरेका छन् । यसले वातावरणमा गम्भीर असर पार्नुका साथै वन्यजन्तुको वासस्थान समेत नष्ट भइरहेको छ । त्यति मात्र नभई उक्त क्षेत्रमा रहेका चौपायाका लागि चरिचरण गर्ने स्थान समेत घट्दै गएको छ । स्थानीय कृषकहरूको भनाइमा पहिले उक्त क्षेत्र गौ चरण क्षेत्रको रूपमा प्रयोग गरिन्थ्यो । तर अहिले चरिचरण गर्न गाईहरूका लागि समेत समस्या भइरहेको छ । स्थानीय कृषकहरूले चरन क्षेत्र नष्ट भएपछि गाई, भैंसी पाल्नसमेत समस्या परेको गुनासो गरेका छन् । उनीहरूले सम्बन्धित निकायलाई तत्काल अवैध रूख कटानी रोक्न आग्रह गरेका छन् ।
सम्बन्धित निकाय मौन, स्थानीय सरकारको ध्यानाकर्षण
स्थानीयवासीहरूले यो अवैध कार्य रोक्न बारम्बार सम्बन्धित निकायलाई जानकारी गराए पनि वन कार्यालयले कुनै ठोस कदम नचालेको गुनासो गरेका छन् । अहिले सम्म अवैध रूख कटानीमा संलग्न कोही पनि पक्राउ नपर्नु सम्बन्धित निकायको गैरजिम्मेवारीपनको संकेत भएको स्थानीयवासीहरूको आरोप छ ।

यस विषयमा वृन्दावन नगरपालिका प्रमुखसँग सम्पर्क गर्दा उनले अवैध रूख कटानी नियन्त्रण गर्न प्रयास भइरहेको बताए । हामिले पटक पटक वन कार्यालय प्रमुखसंग यस्ता जंगल फडानी कार्यलाई तुरुन्त रोक्न आग्रह गरेको तर उनीहरुबाट हामि यसलाई रोक्न प्रयास गरिरहेका छौ भनि आश्वासन मात्र आएको नगर प्रमुख बिनोद प्रसाद कुर्मिले बताए । यद्यपि, स्थानीय प्रशासनले वन माफियाहरूलाई संरक्षण गरिरहेको स्थानीयको आरोप छ ।
पर्यावरणविद्हरूले अवैध रूपमा रूख कटानी भइरहेकोले भू–क्षय, जल स्रोतको विनाश र वातावरणीय असन्तुलन निम्तिने चेतावनी दिएका छन् । यसकारण, स्थानीय प्रशासन, वन विभाग तथा अन्य सरोकारवाला निकायहरूले अविलम्ब हस्तक्षेप गरी अवैध रूख कटानी रोक्नुपर्ने माग गरिएको छ ।