रमेश कुमार यादब
चैत २१, रौतहट
रौतहटमा ८ दिनदेखि बेपत्ता भएकी एक ५० वर्षीया महिलाको शव फेला परेको छ । जिल्लाको पूर्वी क्षेत्रअन्तर्गत पर्ने वृन्दावन नगरपालिकाको वडा नम्बर १ बलरी खोरस्थित जंगलमा महिलाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ ।गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी राजन कार्कीका अनुसार उक्त शव वृन्दावन नगरपालिका वडा नम्बर १ की ५० वर्षीया फूलमतिया देवीको रहेको छ । उनी यही चैत १४ गतेदेखि हराइरहेकी थिइन् ।
परिवारले प्रहरीलाई खबर गरेपछि खोजी कार्य अघि बढाइएको थियो ।प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा खोजी गर्दा बिहीबार जंगलमा गाडिएको अवस्थामा वृन्दावन नगरपालिकाको वडा नम्बर १ निवासी रुपन राउत कुर्मिकी श्रीमती फूलमतिया देवीकी शव फेला परेको खुलेको हो । घटनास्थलमा पुगेका प्रहरी टोलीले शवको प्रारम्भिक निरीक्षण गर्दा हत्या गरेर गाडिएको अनुमान गरिएको छ ।घटनाको अनुसन्धानलाई तीव्र बनाउँदै प्रहरीले हालसम्म हत्यामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिसकेको छ ।
’बरामद शवको सनाखत भइसकेको छ, अब अनुसन्धानको क्रममा हत्या कसले र किन गर्यो भन्ने विषयमा गहिरो अध्ययन भइरहेको छ,’ डीएसपी कार्कीले बताए ।शव फेला परेको खबर सार्वजनिक भएपछि घटनास्थलमा स्थानीयवासीको भीड लागेको थियो । प्रहरीले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाइसकेको छ । साथै, घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ ।
मृतकका परिवारजन अहिले गहिरो शोकमा छन् र घटनाले स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ । यस हत्याकाण्ड रौतहट जिल्लामा सनसनी फैलाएको छ । स्थानियबासीले पीडित परिवारलाई न्याय दिलाउन दोषीलाई कडा कारबाहीको माग गरेका छन् । प्रहरी प्रशासनले घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । साथै यस हत्याकाण्डको यथार्थ पत्ता लगाउन प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।