रमेश कुमार यादब
चैत २४, रौतहट
केही दिनदेखि विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रपत्रिका, अनलाइन पोर्टल र एफएम रेडियोहरूमा डिभिजन वन कार्यालय रौतहटका गतिविधिहरूको चर्को आलोचना भइरहेका बेला डिभिजन वन प्रमुख हेमन्त साह नेतृत्वको टोलीले कडा अनुगमन सुरु गरेको छ । बृन्दावन नगरपालिका–१ स्थित बागमती नदीको बगर क्षेत्र आसपास अवैध रूपमा बहुमूल्य खयर जातका रुख मासेर खेतीयोग्य जमिन बनाउनुको साथै उक्त क्षेत्रमा रहेका चौपायाका लागि चरिचरण गर्ने स्थान समेत घट्दै गएको छ । स्थानीय कृषकहरूको भनाइमा पहिले उक्त क्षेत्र गौ चरण क्षेत्रको रूपमा प्रयोग गरिन्थ्यो ।
तर अहिले चरिचरण गर्न गाईहरूका लागि समेत समस्या भइरहेको छ । स्थानीय कृषकहरूले चरन क्षेत्र नष्ट भएपछि गाई, भैंसी पाल्न समेत समस्या परेको गुनासो लगातार बढदै गएपछि स्थानीयदेखि केन्द्रीय तहसम्म यसको चासो बढेको हो । यसै क्रममा डिभिजन वन कार्यालय रौतहट अन्तर्गत बृन्दावन सब (डिभिजन वन कार्यालय, बलरीको गस्ती टोलीले विशेष निगरानीका साथ अनुगमन गर्दा वन अतिक्रमण गरि रहेको अवस्थामा एक जनालाई रंगेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वृन्दावन नगरपालिका वडा नम्बर ४ का बासिन्दा बिल्टु राय यादव रहेका छन् । उनलाई खयरघारी वन फाँडि
रहेको अवस्थामा आईतबार पक्राउ गरिएको हो । बृन्दावन नगरपालिका वडा नम्बर १ को पुर्वतर्फ बागमती नदी, पश्चिमतर्फ बागमती नदीको पश्चिम भंगालो, उत्तरतर्फ खयरघारी वन र दक्षिणतर्फ ऐलानी खेतवारीले घेरेको करिब ०(५(० का (०.१८ हेक्टर) क्षेत्रफलमा रहेको वन क्षेत्रको झाडी तथा बुट्यान खुकुरीले फाँडेर अतिक्रमण गरिरहेको अवस्थामा यादवलाई नियन्त्रणमा लिइएको बृन्दावन सब(डिभिजन कार्यालय बलरीका वन अधिकृत ललन राउत कुर्मीले जानकारी दिनुभयो ।
पक्राउ परेका यादवविरुद्ध प्रचलित वन ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ । वन प्रमुख हेमन्त साहका अनुसार अबबाट अवैध वन फाँड्ने, अतिक्रमण गर्ने र बहुमूल्य काठ तस्करीमा संलग्नलाई कानुन बमोजिम कडाइका साथ कारबाही गरिनेछ । उहाँले भने, “बिगतका कमजोरीलाई सुधार्दै अब सशक्त अनुगमन मार्फत वन क्षेत्रको रक्षा गर्न हामी प्रतिबद्ध छौं । स्थानीयको सहयोगबिना संरक्षण सम्भव छैन, त्यसैले हामी सबैलाई अपील गर्छौं(वन जोगाउन सघाउनुहोस् ।
” स्थानीय बासिन्दा र सरोकारवाला निकायहरूले वन कार्यालयको पछिल्लो सक्रियतालाई सकारात्मक रूपमा लिएका छन् । उनीहरूका अनुसार यस किसिमको अभियान निरन्तर र निष्पक्ष रूपमा सञ्चालन गरिए मात्र वन अतिक्रमणको समस्यामा रोक लगाउन सकिन्छ । डिभिजन वन कार्यालयले स्थानीय बासिन्दा, समाजसेवी, सञ्चारकर्मी तथा युवाहरुलाई वन अतिक्रमण, काठ
तस्करी वा कुनै पनि अवैध गतिविधि बारे तत्काल जानकारी गराउन अनुरोध गरेको छ ।
साथै, संरक्षणप्रति सचेतना अभिवृद्धि गर्नका लागि विभिन्न विद्यालय तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरिएको वन प्रमुख साहले जनाउनु भएको छ । रौतहटको खयरघारी जस्ता बहुमूल्य वन क्षेत्रको संरक्षण आजको आवश्यकता हो । सरकारी निकाय र नागरिक समाजबीचको सहकार्यले मात्र वातावरणीय सन्तुलन कायम राख्न सकिन्छ । वन अतिक्रमण रोक्नका लागि सबै पक्षको सक्रियता जरुरी छ ।