रमेश कुमार यादब
चैत २९, रौतहट
पछिल्ला केही दिनदेखि रौतहट सहित तराईका विभिन्न जिल्लाहरूमा फैलिएको डढेलो व्यापक रूपले नियन्त्रणमा आएको छ । बुधबार बिहानदेखि परेको अविरल वर्षाका कारण डढेलो आफैं निभेपछि वन क्षेत्र सामान्य स्थिति फर्किएको हो । रौतहट, सर्लाही, बारा, महोत्तरी लगायतका जिल्लाको पूर्वपश्चिम राजमार्ग आसपास र चुरेवर्ती क्षेत्रका वन क्षेत्रमा फैलिएको डढेलोले ठूलो क्षति पु¥याएको थियो । विशेष गरी सामुदायिक र साझेदारी वनमा रहेका स–साना बिरुवा, घाँसपात र सुकेका रुखहरू पूर्णरूपमा जलेर नष्ट भएका छन् ।डिभिजन वन कार्यालय, रौतहटका प्रमुख हेमन्त साहका अनुसार अविरल वर्षाले डढेलो निभाउन मद्दत गरेको हो ।
“डढेलो तत्कालका लागि नियन्त्रणमा आएको छ र अबको केही दिन वन क्षेत्रमा थप निगरानी राखिनेछ,” प्रमुख साहले बताए ।
डढेलोको डरले त्रसित भएका चुरेवर्ती क्षेत्रका स्थानीय बासिन्दाले अहिले भने राहत महसुस गरेका छन् । डढेलो फैलिँदा नजिकका गाउँहरूमा रातभर निदाउन समेत नसकेको गुनासो स्थानीयले गर्दै आएका थिए । चन्द्रपुर नगरपालिकाको चुरेपाखामा रहेको जङ्गल क्षेत्र डढेलोबाट सबैभन्दा बढी प्रभावित भएको थियो ।
त्यसतै बृन्दावन नगरपालिका–१ स्थित बागमती नदीको बगर क्षेत्र आसपास अवैध रूपमा बहुमूल्य खयर जातका रुख मासेर खेतीयोग्य जमिन बनाउनुको साथै उक्त क्षेत्रमा रहेका चौपायाका लागि चरिचरण गर्ने स्थानलाई समेत तोडेर घर बनाउदैं लग्दा चौतर्फी आलोचना भएको थियो ।
उक्त कुराको मध्यनजर गर्दै डिभिजन वन कार्यालय, रौतहटका प्रमुख साह एक्सनमा आउदै वनको अनुगमन गर्नु भएको थियो । उक्त अनुगमनको क्रममा खयर घारी स्थित रहेको वन क्षेत्रको झाडी तथा बुट्यानलाई खुकुरीले फाँडेर अतिक्रमण गरिरहेको अवस्थामा बृन्दान नगरपालिकाको वार्ड नं.४ का बिल्टु राय यादवलाई नियन्त्रणमा लिई उहाँमाथि मुद्धा चलाईएको साहले बताउनु भयो ।
साथै जंगलमा कुनै पनि ब्यतिm प्रबेश गरि बनलाई फडानी गरिरहेको देख्दा सिधैं पक्राउ गरि बन कार्यालयमा बुझाउन निर्देशन दिएको डिभिजन वन कार्यालय, रौतहटका प्रमुख साहले बताउनु भयो । त्यसतै वर्षाले डढेलो नियन्त्रणमा ल्याए पनि कृषकहरूका लागि भने यसको असर मिलाजुलो देखिएको छ । चुरे क्षेत्रमा रहेका सिँचाइविहीन किसान वर्षाले मकै रोप्न सकिने भन्दै खुसी भएका छन् । तर, केही ठाउँमा गहुँ कटाईको समय परिरहेकाले वर्षाले समस्या समेत सिर्जना गरेको छ ।
बृन्दावन नगरपालिकाको वडानं. ३ बिश्रामपुरका किसान तथा वडासदस्य बिरेन्द्र प्रसाद यादवका अनुसार, “गहुँ धमाधम काट्ने समय भएकाले पानीले समस्या त भएको छ, तर चैते धान, उखु लगायतका बालीलाई भने अहिलेको पानीले अमृतको काम गरेको छ ।” उनले थपे, “हालसम्मको वर्षाले गहुँमा खासै क्षति नगरेको भए पनि यदि अझै पानी परिरह्यो भने गहुँ लगायतका अन्य बालीनालीमा क्षति पुर्याउन सक्छ ।”यही डढेलो र सुख्खायामका कारण बढेको धूलो र धुँवाले वायुप्रदूषणमा वृद्धि हुँदै गएका बेला आएको वर्षाले प्रदूषणको मात्रा घटाएको छ ।
चिकित्सकहरूको भनाइमा, प्रदूषणको मात्रा कम भएकाले प्रदूषणजन्य रोगहरू, विशेषगरी श्वासप्रश्वासका समस्या कम हुने अपेक्षा गरिएको छ । रौतहट बृन्दावन नगरपालिकाको ३ का जनस्वास्थ निरिक्षक राजेन्द्र यादबले भने , “केही हप्तादेखि रुघाखोकी, दम, एलर्जीका बिरामीको संख्या बढ्दै गएको थियो, अहिलेको पानीले धूलो थमाएर केही हदसम्म स्वास्थ्यमा सुधार ल्याउनेछ ।” यसरी, प्राकृतिक वर्षाले डढेलो नियन्त्रणका साथै कृषक र जनस्वास्थ्यलाई समेत राहत दिएको छ । यद्यपि, आगामी दिनमा मौसममा फेरि परिवर्तन आए त्यसले थप चुनौतीहरू पनि निम्त्याउन सक्ने अनुमान गरिएको छ ।