सुदामा, सर्लाही । फाल्गुन १५ गते
“गरि काव्य सुधा रस पान अरे
गर मानव जीवन सार्थक रे”
यो कवितांश कवि धरणीधर कोइरालाको ‘साहित्य सुधा’ भन्ने कविताबाट लिइएको छ । यसले साहित्यलाई अमृत मान्दै साहित्यको अध्ययन र साधनाबाट मानव जीवन सार्थक हुन्छ भन्ने सन्देश दिन्छ । आजको युग भागदौडको युुग हो । कसैको जीवनमा स्थिरता छैन । आराम र विराम छैन । शान्ति र चैन छैन । मान्छे मृगतृष्णामा बाँचिरहेका छन् । मान्छे दौडेको छ, दौडेको छ । एक छिन फुर्सद छैन कसैलाई । छोरा छोरी विद्यालयबाट घर फर्र्कदा आमा बुबा आफ्नो कार्यालयबाट आइसकेका हुँदैनन् । घरको साँचो हराएर हप्तैपिच्छे ताल्चा टुटिरहेको हुन्छ । आमा बुबाको मरेको मुख पनि प्रत्यक्ष देख्न पाउँदैनन् मलेसिया, कतार, युके, अस्टे«ेलिया, अमेरिका र यसरी अन्य पुगेका छोराछोरीहरु । आमा बुबाको महत्त्वकाङ्क्षामा पिल्सिएर पढाइ छोडी दिल्ली बम्बेजस्ता भारतीय सहरहरुमा कमाउन भाग्ने कम्ती उदाहरणहरु छैनन् हाम्रा सामु । लभ, प्यार, मोहव्वतको चक्करमा आजका यवायुवतीहरु आत्महत्यासमेत गर्न चुक्दैनन् । कति त पागल भएका उदाहरणहरु पनि छन् । हर ठूलाबाडा शहरहरुमा सुर्ती खाने, चुरोट तान्ने, जुवा तास खेल्नेजस्ता कुलतमा युवाहरु फँस्दै गइरहेका छन् । यो समस्या शैक्षिक संस्थाहरु जस्ता होस्टल र क्यामपसहरुमा महामारीको रुपमा फैलिरहेको देखिन्छ । रैगिंग तथा प्रैंकिङ्को होडमा मानवता तारतार गरिरहेका हाम्रा युवायुवतीहरु कम छैनन् । त्यसमाथि नसाखुरानीको चपेटमा परेका नयाँ पुस्ताको बिगबिगी शहरमा मात्र सीमित नभएर हाम्रा गाउँसम्म पनि बढिसकेको छ । तिनीहरु नियन्त्रणमा छैनन् । तिनीहरु आफ्नै आमाबुबालाई कुटपिट गरी घाइतेसमेत बनाउन चुक्दैनन् । यस्तोमा कुनै युवायुवती साहित्यिक मन मस्तिष्कको भेट्नु आजको युगमा आश्चर्यको कुरा हो । म कुरा गर्दैछु , महाकवि डॉ. अवधेश्वर अरुणका नाति नातिना राधिका सिंह ‘रोली’ र नचिकेत नमनको । उनीहरुले महाकविको व्यक्तित्व तथा कृतित्वको चर्चा गर्दै ‘हमारे बाबा डॉ. अवधेश्वर अरुण भन्ने पुस्तक लेखे ।
२० पृष्ठको यो पुस्तक आकारमा लघु भए पनि यो कुनै ठूलो साहित्यको कृतिभन्दा कम हैसियतको छैन । यिनीहरु उनै अवधेश्वर अरुण नाति नातिना हुन् जो बज्ज्किा साहित्यमा बज्जिका रामाएन जस्तो महान् कृति दिएका छन् । यो कृति बज्जिका साहित्यकै सर्वमान्य कृति हो । यसमा बज्जिकाञ्चल क्षेत्रको हरेक भाषिक भेदको प्रयोग गरिएको छ । भाव र आकारमा तुलसी दासको रामायनभन्दा पनि व्यापक र पृथक छ यो कृति । यसको अर्को विशेषता हो लय र शिल्प । बज्जिका भाषा र बज्जिकाञ्चललाई बाँध्ने कडीको रुपमा पनि यसलाई लिन सकिन्छ । आफूलाई श्रेष्ठ दोहाकार मान्नेहरुले पक्कै यो रामाएन पढेका छैनन् । नत्र यो दम्भ रहने थिएन । यस रामाएनभित्रका दोहाहरु गङ्गाजस्तै र निर्मल पवित्र छन् । दोहाको चरम उत्कर्ष तब हेर्न सकिन्छ जब दशरथका चारै छोरा राम, लक्ष्मण, भरत र सत्रुघ्न आफ्नो आँगनमा आफ्नै छाँयासित खेलिरहेका हुन्छन् । घरि दशरथको जुँगा तान्छन् घरि चन्द्रमाको लागि जिद्धी गर्छन् । साँझमा सन्झियाउँदा तिनै आमाहरुले टाउकोको चारैतिर दियो घुमाएर ठेठौना दिँदाका दृश्यहरु, आहा ! कसरी दोहाहरुमा सजीव भएर आएका । यो त महाकविको शिल्पकारिता हो । यस रामाएनमा चौपाई, सोरठा, रोलाजस्ता मात्रिक छन्दहरुको प्रयोग कुशलतासाथ गरिएको छ । महाकवि अवधेश्वर अरुणको भारती बज्जिका हिन्दी कोश पनि बज्जिका कोश क्षेत्रमा मिलको पत्थर समान नै छ ।
महाकवि अरुणका छोराहरु पनि साहित्यकार नै हुन् । डा. रणवीर कुमार सिंह हिन्दी साहित्यका नामी साहित्यकार हुन् भने डा. यशवंत कुमार पनि आफ्नै विशेषताका साथ हिन्दी साहित्यमा स्थापित हुन सफल भएका हुन् । यिनको विशेषता हो बज्जिका र बज्जिकाञ्चललाई हिन्दी भाषाको माध्यमबाट संसारभर चिनाउनु । यिनले बज्जिकाञ्चलके सिद्ध सन्त, विहारके लोकतीर्थ, बज्जिकाञ्चलके धार्मिक स्थलजस्ता कृतिहरु लेखेका छन् । हुन त मैले महान् कथाकार रमेश विकल र उनका छोरा विजय चालिसे, मकवानीबाला महाकाव्यका लेखक महाकवि सिन्धुलीय र उनका छोरा प्रोल्लास सिन्धुलीयजस्ता नेपाली साहित्यमा पनि यसरी दुई पुस्ता लागेको उदाहरण देखेको छु । तर बीसीएजस्तो प्राविधिक विषय लिएर साहित्यिक मन भएको राधिका सिंह ‘रोली’ र नचिकेत नमनजस्ता जीवट भएका लेखकहरु मैले आजसम्म देखेको छैन । हुन त नेपाली साहित्यमा यसरी लेख्ने तीन पुस्ता हँदै होइन भन्न खोजेको होइन । अवश्य होलान् । मेरो नजर र अध्ययन नपुगेर मलाई ज्ञात नभएको होला ।
महाकवि अरुण आफैँमा विराट प्रतिभा हुन् । मैले लक्ष्मीप्रसाद देवकोटालाई पनि राम्ररी पढेको छु । उनको विराटता पनि गजबको छ । देवकोटालाई सम्झँदा मलाई अरुणको सम्झना हुन्छ भने अरुणलाई सम्झँदा देवकोटाको सम्झना आउँछ । फेरि मैले तुलना गरेको होइन । दुवै आफ्ना ठाउँमा महान् छन् रोली र नमनले आफ्नो यस पुस्तकमार्फत अरुणको व्यक्तित्व र कृतित्वको चर्चा गर्नु सूर्यलाई बत्तीको उपमा दिनु बराबर छ तापनि यस पुस्तकले महाकवि अरुणको सामान्य परिचय दिन भने सक्षम छ । अरुणको जन्म, शिक्षा, साहित्यिक जीवन, प्रशासनिक जीवन, कृतिहरु आदिको चर्चाले यिनका केही नखुलेका पाटाहरु भने खोल्न सफल भएका छन् रोली र नमन । यो अति सराहनीय काम छ भाइ बहिनीको ।
मलाई लाग्छ, यी दुई भाइ बहिनीले साहित्य सुधा पान गरेर आफ्नो जीवन सार्थक बनाइसकेका छन् । र आफ्नो कृतिमार्फत अरुलाई पनि यस रसबाट भिजाउन खोजेका हुन् । यिनीहरुको साहित्यिक मन हुनु वंशानुगत गुनले पनि हुन सक्छ तर जरुरी भने छैन कि साहित्यकारका छोरा छोरी र नाति नातिना साहित्यकार नै होऊन् । राम्रा राम्रा आमा बुबाका छोराछोरीहरु पनि बिग्रेका उदाहरणहरु प्रशस्त छन् । यस उमेरका युवा युवतीहरुमा टिकटक तथा लाइकी भिडियो सूट गर्ने कामदेखि फुर्सद हुदैँन तर रोली र नचिकेत भने पुस्तक लेखनमा लागेका छन् । त्यो पनि आफ्नै बाजेको जीवन चित्र उतार्ने सफल प्रयास गर्नु । अहिलेको युग भट्कावको युग हो । कोही कसैलाई सुन्न चाहिरहेका छैनन् । घरका बरबुजुर्ग घुर भइसकेका छन् । छोरा बुहारीले त सुन्दैनन् । नाति नातिना त झन् तेस्रो पुस्ताका भइहाले । पुस्ताको अन्तर हुनु र विचारको अन्तर हुनुले पनि कुरा मिल्दैन बरबुजुर्गसँग । यसरी बाजेको जीवन चित्र उतार्नु संस्कारकै उपज होला जो बृद्ध बाजेप्रति यस्तो अनुराग देखियो । सलाम छ अरुण परिवारप्रति । जहाँ संस्कारी फूल फुले रोली र नचिकेत । मुजफ्फरपुरको पडाव पोखर रोड गल्ली नम्बर ३ झट्ट हेर्दा अरु गल्लीसरह सामान्य लाग्छ तर सामान्य भने कदापि होइन । यहाँ तीन पुस्ता लेखिरहेका छन् । अरुणझैँ सरल उनका छोराहरु र उनका छोराहरुझैँ सरल नाति नातिनाहरु छन् । यो साधारण घटना होइन । जो घटिरहेको छ । यस्तो घटनालाई महसुस गर्ने अवसर कसैकसैलाई मात्र मिल्छ । यसरी जसरी कतिपय आध्यात्मिक घटनाहरु हाम्रा सामु घटिरहेका हुन्छन् । जसलाई कसैकसैले मात्र अनुभूत गरिरहेका हुन्छन् । म भाग्यशाली छु जो यो घटना अनुभूत गर्ने अवसर जुर्यो ।
वास्तवमा आजको युग विकृति तथा विसंगतिले भरिएको युग हो । आजका युवा युवतीहरु त झन् गैरजिम्मेवार तथा अनुशासनहीन रवैआका छन् । बोली र व्यवहारमा संयमता विरलै हेर्न सकिन्छ । लुगा कपडा भडकाउ हुनु आम कुरा भइसकेको छ । यस्तोमा महाकवि अवधेश्वर अरुणको जीवन चित्र उतारेर रोली र नचिकेतले आजका युवा युवतीहरुलाई ऐना, देखाउने काम गरेका छन्, पथ प्रदर्शनको काम गरेका छन् तथा संस्कार र संयमताको पाठ पढाएका छन् । नयाँ पुस्तामा साहित्य सिर्जना गर्न सक्ने बाटो खोलेका छन् । साहित्य सुधा पान गराएका छन् । साथै तपाईं हामी सबैका सामु उदाहरणीय पात्र बनेका छन् । धन्य ! रोली र नचिकेत ।