
सर्लाही, २९ चैत। नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको रु आठ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ लुकाईछिपी रकम ल्याउँदै गर्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूमा सर्लाहीकै चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतो रहेका छन् । भारतबाट मोटरसाइकल चढेर नेपाल प्रवेश गरेका उनीहरूलाई शङ्का लागेर प्रहरीले चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उनीहरूको शरीर खानतलासी गर्दा स्रोत खुल्न नसकेको उक्त नगद बरामद भएको प्रहरीले जनाएको छ । बरामद रकमको वैधानिक स्रोत देखाउन नसकेपछि उनीहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
सीमा क्षेत्रमा हुने अवैध वित्तीय कारोबार र हुन्डी नियन्त्रणका लागि प्रहरीले निगरानी बढाएकै बेला यो सफलता हात लागेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
