तस्करी प्रकरणमा थपलियाको नाम जोडिँदा प्रहरी इमानदारितामाथि प्रश्न

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ८, मंगलबार (६ घण्टा अघि)
  • ७६ पटक पढिएको
तस्करी प्रकरणमा थपलियाको नाम जोडिँदा प्रहरी इमानदारितामाथि प्रश्न

वीरगञ्ज, ०८ वैशाख। सीमावर्ती नाकाहरूमा तस्करी र प्रहरीबिच हुने गरेको भनिएको मिलेमतो तथा आर्थिक लेनदेनका घटनाहरू क्रमशः सार्वजनिक हुन थालेका छन् । पछिल्ला केही दिनयता सप्तरी र धनुषामा सार्वजनिक भएका मोबाइल संवादहरूले सुरक्षा संयन्त्रको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।

सप्तरीमा प्रहरी उपरीक्षक (एसपी) गौतमकुमार केसीले सर्वसाधारणलाई गालीगलौज र धम्की दिएको अडियो संवाद सामाजिक सञ्जालमा भाइरल भएसँगै धनुषामा तस्कर र प्रहरीबिच आर्थिक लेनदेन मिलाउने विषयको अर्को संवाद सार्वजनिक भएको हो ।

सप्तरीको घटनालाई लिएर मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी कमल थापाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । उक्त समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई आवश्यक कारबाही सिफारिस गर्ने जिम्मेवारी दिइएको छ ।

भाइरल अडियो अनुसार एसपी केसीले तिलाठी कोइलाडी गाउँपालिका–४ का स्थानीय सञ्चारकर्मी प्रह्लाद सिंहसँगको फोन संवादमा राजविराज नगरपालिका–३ का मुस्तकिम आलमलाई ‘ठिक ठाउँमा ल्याउन’ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । घटनापछि केसीको चौतर्फी आलोचना भइरहेको छ ।

यद्यपि, एसपी केसीले भने रातिको समयमा फोन भएको स्वीकार गरे पनि आफूले गालीगलौज वा धम्की नदिएको दाबी गरेका छन् ।

उता धनुषामा भने प्रहरी–प्रहरीबिचकै आर्थिक लेनदेन नमिल्दा विवाद चर्किएको देखिएको छ । मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाको नाम जोडेर तस्कर राजीव महासेठले विभिन्न व्यापारीहरूसँग रकम असुली गर्ने गरेको र उक्त रकम प्रहरीमार्फत वितरण हुने गरेको दाबी मोबाइल संवादमार्फत सार्वजनिक भएको छ ।

घटना सार्वजनिक भएसँगै जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ सई सागर शमशेर राणालाई निलम्बन गरिएको छ । उनलाई प्रारम्भिक अनुसन्धानका क्रममा लेनदेनमा संलग्न देखिएको भन्दै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले कारबाही अघि बढाएको हो ।

तर राणाले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आफूलाई फसाउने प्रयास भएको दाबी गरेका छन् । उनले डिआइजी स्तरबाटै दबाब आएको भन्दै त्यसबाट जोगिन तस्करसँग सम्पर्क गरेको सङ्केत सार्वजनिक संवादमा देखिन्छ ।

घटनाले मधेस प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबिच आन्तरिक मतभेदसमेत सिर्जना भएको आशङ्का गरिएको छ । यद्यपि, धनुषा प्रहरीले औपचारिक रूपमा यस्तो मतभेद रहेको कुरालाई अस्वीकार गरेको छ ।

डिआइजी थपलियाले भने आफूलाई बदनाम गर्न योजनाबद्ध रूपमा संवाद सार्वजनिक गरिएको आरोप लगाउँदै घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । उनले संलग्न देखिएकामाथि थप अनुसन्धान गरी कडा कारबाही गरिने बताएका छन् ।

सार्वजनिक संवादमा सई जयलाल यादव र सई गोपाल थापा मगरको समेत संलग्नता देखिएको छ । स्रोतका अनुसार यादव लामो समयदेखि ‘घुमुवा’को रूपमा तस्करीसँग जोडिँदै आएका छन् भने मगर पनि असुलीमा सक्रिय रहेको बताइन्छ ।

तस्कर राजीव महासेठको नेतृत्वमा दैनिक ५० भन्दा बढी मोटरसाइकल प्रयोग गरी भारत–नेपाल सीमामा अवैध ओसारपसार हुने गरेको प्रहरी स्रोतको दाबी छ । सरकारले सर्वसाधारणका लागि न्यून मूल्यभन्दा बढीका सामान भन्सार बिना ल्याउन रोक लगाएको भए पनि तस्करहरूका लागि अवस्था सहज बनेको आरोप लाग्दै आएको छ ।

घटनामा संलग्न भनिएका व्यक्तिहरूमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न नागरिक समाज र सरोकारवालाहरूले माग गरेका छन् । विशेषगरी सुरक्षा निकायकै संलग्नता देखिने यस्ता घटनाले कानुनी शासन र जनविश्वासमा गम्भीर असर पार्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस