ज्ञापनपत्रलाई लिएर मौलापुरमा विवाद चर्कियो, सन्तोष साहको गम्भीर आरोप

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ८, मंगलबार (२ घण्टा अघि)
  • ११४ पटक पढिएको
ज्ञापनपत्रलाई लिएर मौलापुरमा विवाद चर्कियो, सन्तोष साहको गम्भीर आरोप

रौतहट, ०८ वैशाख। रौतहटको मौलापुर नगरपालिकामा हालै बुझाइएको ज्ञापन पत्रप्रति असन्तुष्टि जनाउँदै युवा समाजसेवी तथा युवानेता सन्तोष साह ले यसलाई “भ्रष्टाचार र तानाशाही प्रवृत्तिको अर्को षड्यन्त्र” भएको आरोप लगाएका छन्।

साहका अनुसार विगत ६–७ वर्षदेखि नगरपालिकामा आफ्ना आफन्त र नजिकका व्यक्तिहरूलाई प्रमुख पदमा राखेर अनियमितता गर्नेहरू अहिले कानुनअनुसार नियुक्त भएका हाकिमप्रति असन्तुष्ट हुँदै दबाब सिर्जना गर्न खोजिरहेका छन्। उनले पहिले यस्ता विषयमा कुनै आवाज नउठाउने समूह अहिले नियमअनुसार काम हुन थालेपछि ज्ञापन पत्र बुझाएर प्रशासनलाई प्रभावमा पार्न खोजेको दाबी गरेका छन्।

उनले मौलापुर नगरपालिकामा बुझाइएको उक्त ज्ञापन पत्र जनताको वास्तविक हितमा नभएको उल्लेख गर्दै त्यसमा जनसरोकारका मुख्य विषयहरू समेटिन नसकेको गुनासो गरे। “जनताको नाममा बुझाइएको भनिएको ज्ञापन पत्रमा जनताको आधारभूत चासो र आवश्यकताका विषयहरू नै समावेश छैनन्,” उनले भने।

साहले जनताको हितका लागि निम्न विषयहरू अनिवार्य रूपमा उठाइनुपर्ने बताएः

करारका सम्पूर्ण कर्मचारीको विवरण र उनीहरूको कार्यक्षेत्र स्पष्ट गर्नुपर्ने

पिकनिक पार्क तथा पार्क होटलको आय–व्यय पारदर्शी बनाइनुपर्ने

ती संरचनाहरूको लगानी र स्वामित्वको वास्तविकता सार्वजनिक गर्नुपर्ने

२०७९ सालपछि भएका विकास निर्माण कार्य र खर्चको विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने

नगरपालिकाले खरिद गरेको जमिनको संख्या, प्रयोजन र लगानीबारे स्पष्ट जानकारी दिनुपर्ने

उनले यी विषयहरू समावेश नभएसम्म कुनै पनि ज्ञापन पत्रलाई जनहितकारी मान्न नसकिने स्पष्ट पारे। साथै, यस्ता गतिविधि प्रशासनिक प्रमुखलाई तर्साउने, दबाब दिने र अस्थिरता सिर्जना गर्ने उद्देश्यले गरिएको हुन सक्ने उनको आशंका छ।

विद्युत् बिल र व्यक्तिगत खर्चजस्ता विषयलाई समेत अनावश्यक रूपमा जोडेर भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले पहिलेका हाकिमप्रति मौन रहने र नयाँ नेतृत्व आएपछि मात्र विरोध गर्ने प्रवृत्तिलाई “नियोजित रणनीति” को संज्ञा दिएका छन्।

साहले स्थानीय युवाहरू र सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै कानुन र पारदर्शिताको पक्षमा उभिन आह्वान गरेका छन्। “यदि साँच्चिकै जनताको हितका लागि ज्ञापन पत्र ल्याइएको हो भने हामी समर्थन गर्न तयार छौँ, तर त्यसमा जनताको वास्तविक माग समावेश हुनुपर्छ,” उनले भने।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस