अन्तर्राष्ट्रिय दबाब: बालेनलाई ट्रेड युनियन जोगाउन विश्व महासंघको आग्रह

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ८, मंगलबार (१ घण्टा अघि)
  • ६९ पटक पढिएको
अन्तर्राष्ट्रिय दबाब: बालेनलाई ट्रेड युनियन जोगाउन विश्व महासंघको आग्रह

काठमाडौं, ०८ वैशाख। विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालका ट्रेड युनियन खारेज नगर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई आग्रह गरेको छ ।

संगठनले यही वैशाख ६ गते (१९ अप्रिल २०२६) मा प्रधानमन्त्री बालेनलाई सम्बोधन गर्दै पत्र लेखेर नेपालका ट्रेड युनियन खारेज नगर्न भनेको हो ।

महासंघका महासचिव जोला सापेथाले हस्ताक्षर गरेको पत्रमा यदि ट्रेड युनियन खारेज गरिएमा अन्तर्राष्ट्रिय कानुन तथा नेपालको संविधानको मर्मविपरीत हुने र कामदारहरूको संगठन बनाउने, संगठित हुने तथा सामूहिक सौदाबाजी गर्ने अधिकारमा प्रत्यक्ष आघात पुग्ने उल्लेख छ ।

महासंघका अनुसार यस्तो निर्णयले सार्वजनिक प्रशासनको प्रभावकारिता कमजोर पार्नुका साथै सेवा प्रवाहमा प्रत्यक्ष असर पार्नेछ । साथै यसले कामदारहरूको आवाज दबाउने, सस्तो श्रम र कमजोर पारिश्रमिकलाई प्रोत्साहन गर्ने खतरा हुने पनि उल्लेख गरिएको छ ।

पत्रमा नेपालले अनुमोदन गरिसकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का सन्धि नम्बर ८७ (संगठन स्वतन्त्रता र अधिकार संरक्षण) र ९८ (संगठन गर्ने र सामूहिक सौदाबाजी गर्ने अधिकार) को स्मरण गराइएको छ ।

महासंघले नेपाल सरकारलाई कामदारहरूको संवैधानिक अधिकारको पूर्ण सम्मान गर्नुपर्ने, ट्रेड युनियनहरूसँग संवादमार्फत समाधान खोज्नुपर्ने र अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको पालना गर्न सुझाव समेत दिएको छ ।

यदि त्यसो नभए नेपालको अन्तर्राष्ट्रिय छवि कमजोर हुने र देशभित्र श्रम सम्बन्ध तथा सामाजिक स्थायित्वमा नकारात्मक असर पर्ने चेतावनी समेत दिइएको छ ।

प्रधानमन्त्री बालेन साहलाई लेखिएको पत्रमा नेपालका सार्वजनिक सेवा क्षेत्रका कामदारहरूसँग ऐक्यबद्धता जनाउँदै नेपाल सरकारलाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरिएको छ ।

विश्व ट्रेड युनियन महासंघ कस्तो संस्था हो ?

विश्व ट्रेड युनियन महासंघ विश्वभरका श्रमिक र ट्रेड युनियन संगठनहरुको साझा संस्था हो ।

दोस्रो विश्वयुद्धपछि सन् १९४५मा यसको स्थापना भएको थियो । यसको मुख्य उद्देश्य कामदारहरूको अधिकार संरक्षणका लागि पहल गर्नु हो । यसले श्रम अधिकार, सामाजिक न्याय र समानताको पक्षमा वकालत गर्दछ । साथै विभिन्न देशका ट्रेड युनियनहरूबीच सहकार्य र ऐक्यबद्धता जनाउँछ ।

यसले विशेष गरी विकासशील देशहरूका श्रमिक मुद्दामा सक्रिय भूमिका खेल्ने गरेको छ । अन्तर्राष्ट्रिय श्रम नीति, कामदार अधिकार उल्लंघन, निजीकरण, श्रम शोषणजस्ता विषयमा नियमित आवाज उठाउँछ ।

महासंघका सार्वजनिक सेवा, शिक्षा, स्वास्थ्यका अलग–अलग अन्तर्राष्ट्रिय शाखा (टीयूआई) हुन्छन् । र, ती शाखाले सदस्य देशका ट्रेड युनियनहरूमार्फत गतिविधि सञ्चालन गर्छन् ।

संयुक्त राष्ट्रसंघसँग सम्बन्धित अन्तर्राष्ट्रिय श्रम संगठन जस्ता निकायमा श्रमिक पक्षको धारणा प्रस्तुत गर्ने काम पनि यही मार्फत् हुने गरेको छ ।

विश्वभर भएका श्रमिक अधिकार उल्लंघनका घटनामा वक्तव्य, विरोधपत्र र अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने काम पनि यसले गर्दछ । यसको मुख्यालय ग्रिसको एथेन्समा छ । यसको नेतृत्व सदस्य ट्रेड युनियनहरूको प्रतिनिधित्व हुने कंग्रेसमार्फत लोकतान्त्रिक ढंगले चयन गरिन्छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस