प्रधानमन्त्रीले गृहमन्त्री सुधन गुरुङसँग मागे स्पष्टीकरण

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ८, मंगलबार (६ घण्टा अघि)
  • ७५ पटक पढिएको
प्रधानमन्त्रीले गृहमन्त्री सुधन गुरुङसँग मागे स्पष्टीकरण

काठमाडौं, ०८ वैशाख। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गृहमन्त्री सुधन गुरुङसँग सेयर लगानी र सम्पत्ति विवरण सम्बन्धी विवादमा लिखित स्पष्टीकरण लिएका छन् ।

सम्पत्ति विवरणमा सेयर खरिदको स्रोत नखुलाएको तथा सम्पत्ति शुद्धीकरण आरोपमा प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग सम्बन्ध जोडिएको विषय सार्वजनिक भएपछि गृहमन्त्रीमाथि प्रश्न उठेको हो ।

गृहमन्त्री गुरुङले आफूले ऋण लिएर सेयर खरिद गरेको दाबी गर्दै सार्वजनिक रूपमा स्पष्टीकरण दिएका थिए । सोही विषयमा प्रधानमन्त्रीको चासोपछि सोमबार साँझ ६ बजे लिखित स्पष्टीकरण बुझाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, ‘विवादास्पद व्यवसायी दीपक भट्टको कम्पनीसँग जोडिएको सेयर खरिदबारे प्रश्न उठेपछि गृहमन्त्रीले प्रधानमन्त्रीलाई लिखित स्पष्टीकरण दिनुभएको हो ।’ प्रधानमन्त्री शाहको सचिवालयले पनि यस विषयमा ध्यानाकर्षण भएको पुष्टि गरेको छ ।

यद्यपि, गृहमन्त्रीले दिएको स्पष्टीकरणपछि पनि उनका सेयर लगानी सम्बन्धी मुख्य प्रश्न अझै अनुत्तरित देखिएका छन् ।

गृहमन्त्री गुरुङले ‘ऋण लिएर सेयर किनेको’ बताएका छन् । उनले स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्समा लगानी गरेको स्वीकार गरेका छन् । तर उनको सम्पत्ति विवरणअनुसार कुल ४ करोड ३१ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व रहेको देखिन्छ । प्रश्न उठेको छ—के सबै सेयर ऋणबाटै किनेका हुन् वा केही मात्र ?

सम्पत्ति विवरणमा गुरुङले सेयरको स्रोत ‘व्यवसाय/पैतृक सम्पत्ति/लगानी’ उल्लेख गरेका छन् । तर पछिल्लो स्पष्टीकरणमा ‘ऋण’ मार्फत लगानी गरिएको बताएका छन् । यदि ऋण नै स्रोत हो भने प्रारम्भिक विवरणमा किन नखुलाइएको भन्ने प्रश्न उठेको छ ।

सम्पत्ति विवरणमा ‘ऋण लिए/दिएको’ शीर्षक खाली राखिएको छ । अन्य मन्त्रीहरूले सामान्य ऋणसमेत उल्लेख गरेको अवस्थामा गृहमन्त्रीले भने कुनै ऋण नदेखाउनु र पछि ऋण लिएको स्वीकार गर्नुबिच विरोधाभास देखिएको छ ।

गुरुङले आफ्नो सम्पत्ति विवरणमा सबै सेयर ‘साधारण’ भएको बताएका छन् । तर उपलब्ध विवरण अनुसार उनीसँग ठुलो हिस्सा ‘संस्थापक सेयर’ रहेको देखिन्छ । यो तथ्य किन नखुलाइएको भन्ने प्रश्न पनि उठेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका दीपक भट्टसँगको व्यावसायिक सम्बन्धबारे गृहमन्त्रीले स्पष्टीकरणमा केही उल्लेख गरेका छैनन् । भट्टको पहलमा स्थापित कम्पनीमा गुरुङको संस्थापक सेयर हुनु दुबैबिच गहिरो सम्बन्ध रहेको सङ्केत मानिएको छ ।

गृहमन्त्री गुरुङले आफ्नो स्पष्टीकरणमा ‘सेयर लगानी गर्नु कहिलेदेखि अपराध भयो?’ भन्ने प्रश्न उठाएका छन् । तर विश्लेषकहरूका अनुसार समस्या लगानीमा होइन, लगानीको स्रोत स्पष्ट नहुनुमा छ ।

यसैबिच, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा पनि यस विषयमा अपेक्षित छलफल हुन सकेन । पार्टी प्रवक्ता मनिष झाले प्रस्ताव र छलफल पर्याप्त नभएकाले निर्णयको चरणमा नपुगेको प्रतिक्रिया दिएका छन् ।

यसअघि पूर्व श्रम मन्त्री दीपककुमार साहमाथि पत्नीलाई सरकारी निकायमा नियुक्ति दिलाएको आरोपमा कारबाही सिफारिस भएपछि प्रधानमन्त्री शाहले उनलाई पदबाट हटाएका थिए । सोही आधारमा गृहमन्त्री गुरुङमाथि पनि पार्टीभित्र प्रश्न उठ्ने अपेक्षा गरिएको थियो ।

हालसम्म गृहमन्त्री गुरुङ तथा रास्वपाको अनुशासन आयोगबाट औपचारिक प्रतिक्रिया आइसकेको छैन । विवादित सेयर लगानीको स्रोतबारे स्पष्ट जवाफ नआएसम्म यो प्रकरण थप गहिरिने सङ्केत देखिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस