
काठमाडौं, २२ वैशाख। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक सङ्क्रमणबाट पूर्ण रूपमा मुक्त गर्न सरकारले कठोर कदम चालेको बताएका छन् ।
वर्षौँदेखि जरा गाडेको ‘पार्टीकरण’ को संस्कृतिले देशको समग्र प्रणाली ध्वस्त पारेको भन्दै अब योग्यता र क्षमता मात्र आधार बनाइने स्पष्ट उद्घोष गरेका हुन् ।
मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले विद्यार्थी तथा कर्मचारी सङ्गठनहरूलाई दलको हित सिद्ध गर्ने ‘स्लिपर सेल’ मा परिणत भएको आरोप लगाए । “वर्षौँदेखि योग्यताभन्दा पहुँच र क्षमताभन्दा झोला र झन्डाको मूल्य बढाइयो, जसले प्रणालीप्रति जनताको विश्वास कमजोर बनायो,” उनले लेखेका छन्, “त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो — शिक्षालयमा दलको झन्डा र कर्मचारीतन्त्रमा दलको झोला निषेध ।”
सरकारले हालै अध्यादेश जारी गरी यी क्षेत्रमा रहेका विकृति हटाउने निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री शाहले यो कदम राष्ट्रिय स्वतन्त्र पार्टीले सङ्गठन विस्तार गर्न नसकेर नभई विगतको पाठबाट सिकेर चालिएको स्पष्ट पारे । “चाहने हो भने ठुला सङ्गठन बनाउन सकिन्छ, तर थप दलगत सङ्गठन थप्दैमा शिक्षाको गुणस्तर वा प्रशासन सुधारिँदैन भन्ने विगतले देखाइसकेको छ,” उनको भनाइ छ ।
विद्यार्थीले गुरुबाट, कर्मचारीले विधिबाट सिकुन्
प्रधानमन्त्री शाहले विद्यार्थीले राजनीति नेताको भीडबाट नभएर गुरुबाट सिक्नुपर्ने र कर्मचारीले नेताको छहारीमा नरहेर विधिको मार्ग खोज्नुपर्नेमा जोड दिए । “हामी चाहन्छौँ विद्यार्थीले सभ्यता, विचार र जिम्मेवारीको राजनीति सिकुन् र कर्मचारीले विधिको बाटो रोजुन्,” उनले भने ।
यो निर्णय कुनै दलविरुद्ध नभई देशलाई दलगत कब्जाबाट मुक्त गरी संस्थागत मार्गमा ल्याउने प्रयास भएको उनको भनाइ छ । नियुक्ति, सरुवा र बढुवाको आधार अब दलगत निकटता नभई विधि, क्षमता र दक्षता मात्र हुने प्रतिबद्धता व्यक्त गर्दै उनले सबै पक्षबाट साथ र सहयोगको अपेक्षा गरेका छन् ।
“परिवर्तन भाषणले होइन, निर्णयले आउँछ,” भन्दै प्रधानमन्त्री शाहले आम नागरिकको जनचाहनाअनुसार नै यो ऐतिहासिक कदम चालिएको बताए । यसले पेसागत स्वतन्त्रतालाई अझ बलियो बनाउने र प्रणालीलाई मजबुत बनाउने उनको विश्वास छ ।

