मंगलबार स्कार्पीयो जिप दुघर्टनामा मृत्यु भएका ६ जनाको सामूहिक अन्त्येष्टि

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ पौष १५, बिहिबार (४ साल अघि)
  • ३४ पटक पढिएको
मंगलबार स्कार्पीयो जिप दुघर्टनामा मृत्यु भएका ६ जनाको सामूहिक अन्त्येष्टि

१५ पुस, रौतहट । गत मंगलबार स्कार्पीयो जिप दुघर्टनामा मृत्यु भएका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ ।

रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्डको गरुडा नगरपालिका-१ जयनगरमा भारतीय नम्बर बिआर०५पिए६९५३ नम्बरको जिप दुर्घटना हुँदा एउटै टोलका ६ जनाको मृत्यु भएको थियो ।

नगरकटियाबाट गम्हरीयाको लागि जन्ती हिँडेको जिपमा ९ जना सवार रहेका थिए । गाडी अनियन्त्रित भएर सडकभन्दा २९ फिट तल हिलोमा खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो । अन्य ३ जना अहिले उपचाररत छन् ।

अनियन्त्रित गाडी सडकभन्दा केही पर रहेको ३३ केभिएको बिजुलीको पोलमा ठोक्किएर तल हिलोमा झरेको थियो ।

मृतक सबैको बुधबार मुस्लिम धर्म अनुसार अन्त्येष्टि गरिएको हो । जनाजाको नमाज पढेपछि ६ जनाकै शवलाई मस्जिदबाट झण्डै २०० मिटर पश्चिमतर्फ रहेको कबि्रस्तानमा लगिएको थियो ।

अन्तिम संस्कारमा भाग लिन ठूलो संख्यामा जिल्लाका मुस्लिम समुदायका अगुवा तथा जनप्रतिनिधिहरू पुगेका थिए ।

६ जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका बारेमा प्रहरीले अनुसन्धान गर्नुपर्ने र दोषीलाई तत्काल कारबाही गरे मात्रै पीडित परिवारले न्याय पाउने स्थानीय शेख दाउदले बताए ।

दुर्घटनामा ३ जना घाइते छन् । घाइते शेख अलफाजको वीरगंजमा उपचार भइरहेको छ भने शेख अमानत र शेख करिमुल्लाहको गरुडामा उपचार जारी रहेको इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले बताए । फरार रहेका चालकको खोजी भइरहेको उनको भनाइ छ ।

शोकमा बस्ती

रौतहटको गढीमाई नगरपालिकाको वडा नं. ३ गम्हरीयाका एउटै बस्तीका ६ जनाको दुर्घटनामा मृत्यु भएपछि गाँउ शोकमा डुबेको छ ।

गाँउकै छिमेकी शलाउदिनको छोरा शेख इमारानको बिहेमा जन्ती हिँडेका मध्ये १६ वर्षीय शेख नौसाद, २२ वर्षीय शेख शैनुल्लाह, २५ वर्षीय शेख छोटु, १५ वर्षीय शेख अजिबुल्लाह, ५५ वर्षीय मुसाफिर अन्सारी र ४५ वर्षीय शेख अबुलेसको दुर्घटनामा मृत्यु भएको थियो ।

बिहेमा जन्ती हिँडेकाहरू कहिल्यै नफर्किने गरी अस्ताएपछि गाउँ नै स्तब्ध भएको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले बताए ।

“गाँउलेहरुलाई आकाशनै खसे जस्तो भएको छ । एउटै गाँउका ६ जनाले ज्यान गुमाउँदा सबैलाई पीडा भएको छ” मेयर यादवले भने, “घटनापछि गाडीका चालक फरार रहेकोले प्रहरीले खोजी गरेर छानबिन तथा कानूनी कारबाही गर्नुपर्छ ।”

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस