मुख्य सामग्रीमा जानुहोस्
११ मंसिर २०८३, शुक्रबारराति ८:०५
११ मंसिर २०८३ शुक्रबारराति ८:०५ Friday, November २७, २०२६

मिटरब्याजसम्बन्धी कानुन संशोधनको तयारी, कैद सजाय बढाउने प्रस्ताव

शेयर५००
Listen to this article
2 min listen · 300 words0:00 / 2:00
0:00
2:00

काठमाडौँ,११ मंसिर। अनुचित लेनदेन (मिटरब्याज) गर्ने तथा त्यससम्बन्धी पैसा उठाउन यातना दिनेमाथि सरकारले कडा प्रावधानसहित छुट्टै कानुन बनाउने प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालयले मिटरब्याज नियन्त्रण तथा नियमन विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारणसँग राय मागेको छ ।

विधेयकको मस्यौदामा प्रचलित कानुनभन्दा धेरै दरको ब्याज लिएमा, वास्तविकभन्दा धेरै लिखत बनाएमा तथा ऋण असुलीका लागि यातना दिएमा यो कानुन आकर्षित हुने उल्लेख छ ।

यस्तो कारोबारमा पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवानाको प्रस्ताव गरिएको छ । साथै, मिटरब्याजको कारोबार गरेको ठहर भएमा बढी असुलिएको ब्याज फिर्ता गर्नुपर्नेछ भने ऋण असुलीका लागि शारीरिक तथा मानसिक यातना दिएमा सात वर्षसम्म कैद सजायको व्यवस्था छ ।

लेनदेन गर्दा ब्याजसमेत जोडेर कागज गर्दा पनि सजाय हुने व्यवस्था मस्यौदामा छ । त्यस्तै, खाली चेक काट्न लगाउनेलाई पनि अपराधको व्याख्या गरिएको छ । यस्तो गरे तीन वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना सजायको प्रस्ताव गरिएको छ ।

अनुचित लेनदेनको आधारमा कसैको चल–अचल सम्पत्तिको हक हस्तान्तरण लिएमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । यस्ता मुद्दामा उजुरी गर्न ६ महिनाको हदम्याद राखिएको छ । अनुचित लेनदेनसम्बन्धी मुद्दा हेर्न हरेक जिल्लामा छुट्टै न्यायाधिकरण गठन गर्ने पनि प्रस्ताव छ ।

जिल्ला न्यायाधीशको अध्यक्षतामा बन्ने यस्तो प्राधिकरणमा न्यायसेवाका उपसचिव र प्रशासनतर्फका थप एक उपसचिव सदस्य हुनेछन् । सोही प्राधिकरणले मुद्दा किनारा लगाई क्षतिपूर्तिसमेत निर्धारण गर्नेछ ।

विधेयकमा यससम्बन्धी समस्या समाधानका लागि प्रधानमन्त्री कार्यालयका सचिवको अध्यक्षतामा उच्चस्तरीय समन्वय समितिको पनि व्यवस्था गरिएको छ । जसमा गृह मन्त्रालयका सहसचिव तथा मिटरब्याजपीडितको तर्फबाट एक प्रतिनिधि हुनेछन् । गत २ साउनमा मिटरब्याजपीडितसँग भएको नौबुँदे सहमतिअनुसार यससम्बन्धी छुट्टै कानुन बन्न लागेको हो ।

खासगरी तराई–मधेशका जिल्लामा साहु–महाजनबाट विपन्न निमुखाको घरजग्गा नै बन्धक राखेर मिटरब्याजमा ऋण दिने, किर्ते कागजात गरेर बढी ऋण लगेको बनाउने र ऋणको दोब्बर, तेब्बरसम्म तिर्दा पनि चुक्ता गर्न बाँकी रहेको भनेर घरजग्गा नै हडप्नेसम्मको बेथिति व्यापक छ । यसरी बिचल्लीमा परेका पीडितहरूले सरकारसँग पटक–पटक गुनासो गर्दै आएका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर५००
watermankal

watermankal

Online News Portal