रमेश कुमार यादब
चैत ०८, रौतहट
बेमौसमी बर्षाको कारण रौतहट स्थित ईटा उत्पादक व्यवसायीलाई करोडौंको नोक्सान भएको छ । बुधबार बिहानै देखि परेको पानीले पोल्नको लागि तयार पारिएको काँचो ईटा गलेर जिल्लाभरीका ईटा उत्पादकलाई करिब ६ करोड भन्दा बढीको क्षती भएको ईटा उत्पादक संघले जनाएको छ । मौसममा परिवर्तन भइ बुधबार परेको पानीले सुकाएर राखिएको ईटामा क्षति पुरयाएको ईटा व्यावसायीले बताएका छन् । आज परेको पानीका कारण पोल्नको लागि भटीमा हाल्न तयार पारिएको ईटामा क्षति पुगेर एउटा ईटा भटामा मात्रै करिब १२ लाखको क्षति भएको ब्यावसायीहरुको भनाइ छ ।
वर्षभरी बेच्नका लागी तयार भईरहेको ईट्टा पानीले नष्ट गरेपछि ईट्टा व्यवसायीहरु आर्थिक समस्यामा परेका छन्। बुधबारका दिन बिहानै देखि परेको पानीले गर्दा आफनो ईटा भटामा मात्रै पोल्नका लागि तयार पारिएको १२ लाख बराबरको ईटा भिजेर नष्ट भएको बृन्दावन नगरपालिकाको वार्ड नं.३ स्थित रहेको कृष्णा ईटा उधोगका सञ्चालक प्रेम शंकर यादवले जानकारी दिए । उनले मजदुरहरुले बनाएर राखेको ईटाहरु बेमौसमि परेको पानीले भिजेर पूर्ण रुपमा नष्ट भएको बताए । ईटा भटामा पोल्न तयारी अवस्थामा सुकाएर राखिएको लाखौ ईटाहरु पानी परेपछि नष्ट हुन पुगेको यादवको भनाई छ ।
बेमौसमी पानीले गर्दा ईटा नष्ट भएपछि ब्यावसायीहरुको टाट पल्टने अवस्था सिर्जना भएको यादवले बताए।‘चिम्निीमा पोल्न तयारी अवस्थामा राखिएको लाखौ ईटा पानी परेर नष्ट भयो, यादवले भने,’यसले रौतहटका सम्पूर्ण ईटा ब्यावसायीहरुलाई ठूलो आर्थिक नोक्सानी झेल्नु परेको छ।’ उनले अब ईटा ब्यवसायीहरु धरासायी हुने क्रममा रहेकोले क्षतिपुर्ति दिन माँग गरेका छन् । यादवले अहिले ईटा नष्ट भएसँगै कोईला पनि पाउन मुशिकल भएको बताए ।
त्यसतै बृन्दावन नगरपालिकाको वार्ड नं.७ अन्तर्गत पर्ने एमबि ईटा उधोगले पनि चिम्नीमा हाल्न सुकाएर त्यारी अवस्थामा राखेको करिब १० लाख बराबरको ईट्टा गलेर क्षति पुगेको सन्चालक उमेद साहले बताए । पोल्नको लागि तयार पारिएको सम्पुर्ण कच्चा ईटा नष्ट भएर गएकोले उधोगीहरु ठूलो आर्थिक सँकटमा परेको एसपिएल ईटा उधोगका सन्चालक एवम् रौतहट ईटा उधोग ब्यावसायी सँघका अध्यक्ष रामबिनोद साहले बताए ।
उनले बेमौसमी बर्षाका कारण रौतहटका सबै ईटा उधोगीको कच्चा ईटा नष्ट भएकोले चिम्निी निभाउने अवस्था आएको बताए । ‘रौतहटमा रहेका सबै ईटा उधोगको कच्चा ईटा पानीले गर्दा नष्ट भएको छ,साहले भने,उधोगीहरुले आ(आफनो चिम्निी निभाउने अवस्थामा पुगेका छन् ।
’पानीले क्षति गरेको ईटाको यकिन मुल्य भन्न नसकिने अवस्था रहेको तर करौडौँ रुपैयाको कच्चा ईट्टा पानीले नष्ट गरिदिएको साहले बताए । रौतहट जिल्लाभरीमा यस आर्थिक बर्षमा घरेलुु तथा साना उधोग कार्यालयमा दर्ता रहेका लगभग ५० वटा ईटा भट्टाहरु सञ्चालनमा रहेका सँघका अध्यक्ष साहले जानकारी दिए।