वर्तमानकाल सम्वाददाता
बैशाख १३ गते ।
मटिहानी नगरपालिका–६ को जरलहवा गाछी गाउँमा सल्किएको ७ घन्टापछि आगो नियन्त्रणमा आएको छ । आगोले विपन्न समुदायको सिंगो गाउँनै खरानी बनाएको छ । १२ बजेबाट सुरु भएको आगो ७ बजेबाट नियन्त्रणमा आएको नगरपालिकाले जनाएको छ । मुस्लिम बस्तीको मियाटोलबाट परालको कुन्युमा लागेको आगो गाउँमा सल्किएपछि मियाटोल र हत्ता टोलका १ सय १० घर पूर्ण रुपमा जलेर खरानी भएको मेयर हरिप्रसाद मण्डलले जानकारी दिए ।
मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको बारुणयन्त्रसंगै नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी र स्थानीयको प्रयासपछि आगो नियन्त्रणमा आएको मेयर मण्डलले बताए ।
आगो लागेको बस्तीमा पशु चौपायासंगै स्थानीयको धनमाल पूर्णरुपमा जलेको तर अहिले क्षतिको यकिन विवरण भने भन्न नसकिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।अग्नीपीडितलाई अब कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा
रेडक्रससंगै विभिन्न निकायसँग समन्वय भइरहेकाले आवश्यकराहत सहित तत्काललाई विद्यालय र धर्मशालाहरुमा बस्ने व्यवस्था गरिने गेलालले बताए । मटिहानीका जनतालाई ठूलो विपद् परेकाले सबैले यो दुखमा सहयोग गरिदिन मेयर मण्डलले सबैमा अनुरोध गरेका छन् ।