
सर्लाही,०७ मंसिर। उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा आफन्तले आगजनी र तोडफोड गरेका छन् । उनीहरूले अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी गर्नुका साथै तोडफोड गरेका हुन् ।
बरहथवा नगरपालिका–५, हात्तीढुंगा पानिटंकी टोलकी २१ वर्षीया सीमा रामदेवीको उपचारका क्रममा मृत्यु भएपछि घटना भएको हो । नौ महिनाकी गर्भवती उनी तीन दिनदेखि बिरामी थिइन् । उनको बरहथवा नगर अस्पतालमा उपचार भइरहेको थियो ।
प्रहरीका अनुसार शनिबार साँझ करिब ६ बजे उपचारका क्रममा उनी अचानक बेहोस भएकी थिइन् । चिकित्सकको लापरबाहीका कारण बिरामीको अवस्था बिग्रिएको भन्दै आफन्तले अस्पतालमा तोडफोड र आगजनी गरेका थिए ।
त्यसपछि थप उपचारका लागि उनलाई चन्द्रनिगाहपुरस्थित अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले राति १० बजेर ५३ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।
घटनापछि बरहथवा नगर अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी र तोडफोड भएको प्रहरीले जनाएको छ । आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । घटनाबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पतालका सूचना अधिकारी राजेश गुप्ताले जानकारी दिए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएको छ । आगजनीमा संलग्न रहेको आरोप लागेका अस्पतालका करार कर्मचारी धिरज महरा र सुरेश महरा भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको छ ।
घटनापछि अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । आइतबार बिहानसम्म अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मृतक महिलाको मृत्यु चिकित्सकीय लापरबाहीका कारण भएको हो वा होइन भन्ने विषयमा भने आधिकारिक पुष्टि भएको छैन ।
