रौतहट । फाल्गुन २१ गते
कुन ठाउँ कति समृद्ध छ भन्ने नाप्ने विश्वव्यापी सूचक हो मानव विकास सूचकांक । छोटकरीमा एचडिआइ भनेर चिनिने यो मानव विकास सूचकांकमा रौतहट चाहिँ नेपालमै सबैभन्दा पछाडि देखिएको थियो । पछिल्लो जनगणनाले यसरी देखाएको थियो र अब फेरि जनगणना आउँदैछ । यसको अर्थ यो पनि हो कि तथ्यांकमा नयाँपन देखाउने समय आउनै लागेको छ अर्थात् एक दशकमा रौतहटले कति प्रगति ग¥यो, देशका अन्य जिल्लाले गरेको प्रगतिभन्दा रौतहटको प्रगति कति रहेको छ, रौतहटले अन्य जिल्लाभन्दा अझ धेरै गतिमा विकास गर्नुपर्ने थियो त्यसमा रौतहटले कति उपलब्धि हासिल गर्न सक्यो ? आउन लागेको जनगणनामा रौतहटबासीले लेखाउने सही विवरणले रौतहटको यथार्थ फेरि देखिने कुरामा विश्वस्त हुन सकिन्छ ।
रौतहट यदि देशमा सबैभन्दा पछाडि छ भने यसरी रौतहटलाई पछाडि बनाउन वा बनाइराख्न मेरो भूमिका के रहेको छ भनेर हरेक व्यक्तिले आफैले आफैलाई प्रश्न गर्दा पनि हुन्छ कि ? अथवा, मानव विकास सूचकांकमा सबैभन्दा पछाडि परेको रौतहटलाई अगाडि बढाउन म के गर्न सक्छु भनेर हरेक नागरिकले आफैँलाई प्रश्न गर्दा पनि हुन्छ कि ? उत्तरमा जे भेटिन्छ, त्यसलाई सकारात्मक र सिर्जनात्मक किसिमले आफ्नो क्षेत्रमा र आफ्नो व्यवहारमा लागू गर्ने प्रयास गर्दा रौतहटको अवस्थामा सुधार आउला र यो सुधार दीर्घकालीन हुने कुरामा दुई मत रहेको छैन । साँच्चै अरुलाई औला ठड्याउनु जति सजिलो छ, आफूले आफ्नो व्यवहारमा त्यही कुरा लागू गर्न त्यत्ति नै अप्ठ्यारो पनि हुन्छ । उपदेश दिन र गाली वा आलोचना गर्नजस्तो सजिलो सकारात्मकतालाई व्यावहारिक रुप दिन होइन रहेछ भन्ने कुरो सबैले बुझेका छौँ ।
बरु कुरा काट्न छाडेर काम गर्नतिर पो लाग्ने कि ? मानव विकास सूचकांकमा हामीले हाम्रो जिल्लालाई आफ्नो व्यक्तिगत, पारिवारिक तथा सामाजिक वा सामूहिक रुपमा अगाडि बढाउने किसिमले सोच्ने र व्यवहारमा उतार्ने कि ?