रौतहट । फाल्गुन २१ गते
एक दिन मिसेज आइन्स्टाइनले आफ्ना श्रीमानको ल्याबीय एकाग्रतालाई भङ्ग गर्दै ठूलो स्वरमा भनिन्– “महाशय ! कति जहिले पनि त्यही सामान जोड्दै फुटाउँदै के –के गर्दैमा व्यस्त हुनुहुन्छ ? कहिलेकाहीँ त घुमफिर र मनोरञ्जन गर्न बाहिर निस्कौँ न ।” आइन्स्टाइन मौन रही आफ्नो काममा तल्लीन भइरहे र भने – “मेरो लागि सम्पूर्ण मनोरञ्जन यही ल्याव हो । तिमीलाई कहाँ जानु छ जाऊ ।” यस प्रसङ्गले के देखाउँछ भने यदि उनी आफ्नो ल्यावमा त्यसरी मनोरञ्जनमा नडुबेर बाहिरी मनोरञ्जनको खोजीमा निस्केको भए आज यस दुनियाँमा विज्ञानका पिता भनेर अरु कुनै व्यक्ति निस्कन्थ्यो कि निस्कँदैनथ्यो त्यो सोचनीय पक्ष बन्थ्यो होला ।
वर्तमान समयमा सिङ्गो विश्व मानव समुदाय मनोरञ्जनको पछाडि दौडिरहेको अवस्था छ । वास्तवमा के हो त मनोरञ्जन ? सामान्यतया मानवको दैनिकी जे छ त्योभन्दा पृथक अनुभव बटुल्नुलाई नै मनोरञ्जन भनिन्छ होला । आज बालबालिकाहरु औपचारिक अध्ययन वा पढाइ, लेखाइभन्दा कार्टुन विशेषतर्फ बढी लालायित छन् । युवा युवतीहरु पब्जी र टिकटकमा भिडिरहेका छन् । गृहिणीहरु टेलिसिरियलमा व्यस्त छन् । अफिसियलहरु नेट इन्टरनेटमा मनोरञ्जन खोजिरहेका छन् । सवैले आ–आफ्नो क्षेत्रलाई दिक्क र पट्यारलाग्दो रुपमा लिएर छुट्टै आनन्द र मनोरञ्ज्नको पछि दौडिनुले आफ्नो काम, पेशा वा सेवाप्रतिको मोह घट्दै गइरहेको छ कि भन्ने अनुमान लगाउन सकिन्छ । मान्छेले आफू जुन आधारमा जहाँ अडेको छ त्यसैमा मनोरञ्जन गर्न सक्नु पर्नेमा पृथक मनोरञ्जनलाई अंगाल्न पुग्दा मुख्य आधार विचलित हुन पुगेको अवस्था छ ।
प्राकृतिकतालाई स्वीकार गर्न नसक्नुको कारण मानिसले कृत्रिमतालाई अंगालिरहेको छ जुन क्षणिक हो । मेकअप एउटा जल्दोवल्दो उदाहरणीय मनोरञ्जन हो अहिलेको रंगीन दुनियामा । भनिएको छ कि तीन प्रतिशतभन्दा कम मान्छेले मात्र आफ्नो काम वा सेवालाई पूर्ण मनोरञ्जनात्मक तरिकाले व्यतीत गरे र सफल भए । उनीहरु मरे तर विचार बाँचिरहेको छ । बाँकी सन्तानब्बे प्रतिशत मान्छेहरु हाड, छाला र मांशपेशीको पिण्डमा मात्र सीमित रहेर बाँचे तर विचार भने मरिरहेको छ । विज्ञानको चरम विकास र अनुसन्धानले गर्दा पनि मानवतालाई मनोरञ्जनतर्फ उद्यत गरेको छ । यसका साथै अत्याधुनिक औजार र मेसिनको प्रयोगले पनि मानिस फुर्सदिलो हुन गई मनोरञ्जनतर्फ आकर्षित भएको पाइन्छ । अन्यथा मान्छे आफ्नो जीविकोपार्जनका लागि दिनरात कुनै न कुनै पेशामा तल्लीन भइरहन्थ्यो होला । बदलिँदो समयसँगै सिङ्गो विश्व आज एक इन्चको मोवाइल स्क्रीनमा अट्ने भएको छ । विश्वको एउटा कुनामा भएको कुनै पनि घटना एक पिको सेकेन्डभित्रै संसारभरि छताछुल्ल भइरहेको छ । यस अवस्थामा सोही छताछुल्लता नै एक नौलो मनोरञ्जनको आधारस्तम्भ बन्न गइरहेको छ । अर्कोतर्फ मान्छेको आर्थिक अवस्थामा स्तरोन्नति हुँदै जाँदा पनि स्वभावैले मनोरञ्जनको दायरा फराकिलो बन्दै गइरहेको अवस्था छ । जुन कुरा समय सान्दर्भिक ठानिन्छ ।
मान्छे जति जति आधुनिक युगतर्फ लम्किदै गएको छ तापनि उसमा नकारात्मक भावना भने यथावत नै छ । स्वभावैले उसले नकारात्मक सोचबाट मुक्त रहनका लागि पनि मनोरञ्जन एक विकल्पका रुपमा छान्छ । आज यस दुनियाँमा हरेक कुरा डिजाइन गर्ने मानिसहरुको कमी छैन । विडम्बना ! जीवन डिजाइन गर्ने मानिसले भने खडेरी नै परेको छ । सही र उपयुक्त तरिकाले जीवनलाई डिजाइन गर्न नसक्ुनले नै मान्छे आज परस्त्री÷ परपुरुष गमन, लुटपाट, हत्या हिंसा, बलात्कार, चोरी डकैती, लागु औषध, भ्रष्टाचार लगायत अनेकौँ असामाजिक क्रियाकलापमा संलग्न हुन पुगेको छ । कतिपयले त त्यस्ता गतिविधिलाई मनोरञ्जनको एक अंशका रुपमा पनि लिएका छन् । यस्ता गतिविधिले घर–परिवार, समाज, राष्ट्र र विश्व समुदायलाई नै अधोगतितर्फ धकेल्नुका साथै आगामी पुस्तालाई समेत भ्रष्ट वातावरणमा होमिन उद्यत बनाएको देखिन्छ ।
नौ सय उन्नाइस पटकसम्म अथक प्रयास गर्दा गर्दै हजाराँै पटकमा बत्ती बाल्न सफल विश्व प्रसिद्ध वैज्ञानिक थोमस एल्वा एडिसनले आफ्नो त्यस क्रियाकलापमा निराश भएनन् । उनले त्यही निराशताको परिधिभित्र रहेर मनोरञ्जन खोज्दै जाँदा अन्ततः दुनियाँलाई उज्यालो दिएर गए । मान्छेले असफलता नै सफलताको सूचक हो भन्ने कुरा यहाँवाट सिक्न सक्नुपर्छ । आविष्कार भन्ने कुरा जो कोहीबाट जहिले चाहियो तहिले भैहाल्छ भन्ने कुरा व्यावहारिक नहुन पनि सक्छ । समय, सामग्री, मस्तिष्कको उच्चतम प्रयोग र वित्तीय अवस्था मजबुत हुँदा हुँदै पनि मान्छे आफूले चाहे वमोजिम जीवन चलाउन सकेको छैन । अर्कोतर्फ लामो समयसम्म संघर्ष गर्दा गर्दै असफल भएको मानिसलाई सफलता चुम्ने आधारविन्दुको नजिकै पुगिसक्दा पनि नकारात्मक विचारले थिच्छ किनभने मान्छे स्वभावैले सौखिन प्राणी हो । यही हो मानवले परापूर्वकालदेखि वर्तमान युगसम्म आइपुग्दा नछुटाई ल्याएको मानवीय गुण जुन आगामी पुस्तामा पनि स्वतस्र्फूतरुपमा हस्तान्तरित हुँदै जान्छ ।
आज मान्छे हुँदा खाने होस् वा हुने खाने होस् जे जसरी र जुन अवस्थामा छ त्यति सकारात्मक छैन । सिङ्गो व्रह्माण्डमाथि राज चलाउँदा पनि ऊ सन्तुष्ट र पूर्ण छैन । ऊ आफू लगायत अरुले गरेका काम कारबाहीप्रति पनि खुशी छैन । जहिले र जहाँ पनि पूर्णता नपाएको कारणले होला मान्छेले मनोरञ्जनलाई जीवन जिउने एउटा माध्यम बनाएको छ । मान्छेले प्रायजसो मेसिनरी सामाग्री खरिद गर्दा के कसरी त्यसलाई प्रयोगमा ल्याउने भनेर त्यसको पूर्ण विवरण सहितको क्याटलग ल्याउँछ र त्यसबाट भरपूर फाइदा उठाउँछ । उसले त्यसको सकारात्मक र नकारात्मक प्रभावका साथसाथै मर्मत संभारसमेत गरी अधिकतम सन्तुष्टि प्राप्त गर्छ । दुर्भाग्यवस मान्छेले त्यही क्याटलग पाएन । जीवन प्रगतिपथतर्फ लम्कनु पर्ने दुर्गति उन्मुख बन्न पुग्यो । मान्छेले सकारात्मक र दीर्घ सपना नदेखेको होइन, खाली ऊ क्षणिक सपनामा अल्झियो मनोरञ्जनका नाममा । शेक्सपियरको भनाइमा तिमी कर्ममा महान बन जसरी विचारमा छौ । यस भनाइले अनावश्यक गन्थनमै मान्छेले घण्टौको समय व्यतित गर्छ, त्यस प्रवृत्तिलाई कर्ममा प्रवृत्त हुन आह्वान गरेको छ । समयको महत्वलाई वुझ्न नसक्दा जिन्दगीको उत्तराद्र्धमा पश्चात्ताप गर्छ मान्छे । चार घन्टा मस्त निद्रामा भएको मान्छेलाई व्युँझन एक सेकेण्ड न लाग्ने हो । नव्वे वर्षसम्म बाँचेको मान्छे त्यही एक सेकेन्डभित्र मर्ने हो । समयको यो चक्रमा चल्नु छ मान्छेलाई । अनि त मान्छे उखान बनाउँछ – आज मरे भोलि दुई दिन । बाँचुञ्जेल खाऊ, पिऊ मोजमस्ती गर । मान्छे मर्ने भएकै कारणले यो सव भएको हो । यदि बाँचिरहने भएको भए यो केही हुँदैनथ्यो होला किनभने ऊ मर्दै मर्दैन त यो नाटक किन गर्नु पथ्र्यो ।
रगतको नातामा हैन पराइको नातामा मनोरञ्जन खोज्छ मान्छे । परिवारमा वसेर भोजन गर्दा मनोरञ्जन हुँदैन र ऊ पाँच दिनको पारिवारिक खर्च वोकेर एक छाक खानका लागि लामो दूरीको यात्रा तय गर्छ । पारिवारिक दूरी लम्व्याउँदै जाने र विकर्षणतर्फ उन्मुख हुने भएकाले गर्दा उसले खोजेको मनोरञ्जन नै उसलाई तड्पिई तड्पिई बाँच्न बाध्य गराउँछ र त्यसबाट सदाका लागि छुटकारा पाउन मनोरञ्जनको अर्को गन्तव्य तय गर्छ जुन अनुभवविहीन हुन्छ ।