रौतहट । फाल्गुन २२ गते
विक्रम संवत् २०३५ जेठ १८ गते वृन्दावन नगरपालिका २ विश्रामपुरमा जन्मेका राम अधार पासवान एक यस्ता व्यक्तित्व हुन् जो बज्जिका साहित्यमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । उनी उनै कवि हुन जो वि.स. २०७६ सालमा ‘सुखदुख’ बज्जिका कृति लिएर आए । सरल स्वभाव भएका र मिठो बोल्ने कवि पासवान पूर्णिमा साहित्यिक त्रैमासिक पत्रिकाको सम्पादन गरेका हुन् भने बज्जिकार्पण साहित्यिक त्रैमासिकको सहसम्पादक भई अहिले पनि काम गरिरहेका छन् । स्नातकोत्तर शिक्षा हासिल गरेका कवि पासवान पेशाले अध्यापक भए पनि मूलतः उनी कोमल हृदयका कवि हुन् । हुन त उनी आफूलाई एकाङ्की र प्रबन्धमा नअजमाएका होइनन् । उनी एकाङ्की र प्रबन्ध दुबैमा पूर्ण सफल पनि देखिएका छन् । यसले उनमा बहुमुखी प्रतिभा प्रस्फुटित हुदैँ गरेको सङ्केत पनि पाउन सकिन्छ ।
भलाबुरा, होली, सै सरदार, इमानदारी, रही लैके बुझी तैके, केकरा कि थाह, नारी, सुखदुख, हमहू कुछ जरुर छी, छोट कोट, काहे करैछी हमरासे भेदभावजस्ता एघार कविताहरु तथा सहभोज एकाङ्की एवम् वसन्त ऋतुके सांस्कृतिक महत्व प्रबन्ध रहेको सुखदुख बज्जिका कृतिमा जम्मा तेह्रवटा रचनाहरु रहेका छन् । उनी भलाबुरा कवितामा गीताको उपदेश दिँदै समाजमा रहेका नराम्रा पक्षको कारण पत्ता लगाई त्यसको समूल निवारण गर्नुपर्ने आह्वान गरेका छन् र सामाजिक विसंगप्रति चिन्ता र क्षोभ व्यक्त गरेका छन् । मधेशी संस्कृतिको महान् उत्सव होलीको चर्चा गर्दै होलीको भाव र प्रभावमाथि प्रकाश पारेका छन् उनी । सै सरदार कवितामा आमा बुवाले छोराछोरीको लागि गरेको काम र कर्तव्यको रिन छोराछोरीले कहिल्यै तिर्न नसक्ने बताउँदै आफू जति ठूलो भए पनि ठूलाबडासामु सानै रहने बताएका छन् र सै सरदार अर्थात ठूलाबडा नै सबभन्दा ठूला हुन्छन् भनी ठोकुवा गरेका छन् । उनी इमानदारी कवितामा इमानदारीको बाटो काँडादार भए पनि गुलाफजस्तै सुन्दर प्रतिफल एक दिन अवश्य मिल्ने भावाभिव्यक्ति दिएका छन् । सुन्दर अन्त्यानुप्रासयुक्त रचित कविता रही लैके बुझी तैकेमा उनी बालबालिकाको कोरा दिमागमा समाजले जाति र छुवाछुतजस्ता भेदभावको बीज रोपेको कुरा ठूलो हुँदै गएपछि कविलाई स्वयम् बोध हुँदै गएको र कुनै कर्म जातीय आधारमा रुढ नहुने बडा कुशलता साथ वर्णन गरेका छन् । यस कविताको शील्पकारिता गज्जवको छ । केकरा कि थाह कवितामा उनी अन्धोले आँखाको महत्व बुझ्ने र आँखाबालाले नबुझ्ने भन्दै गरिब, अनाथ रअसहायहरुमाथि सहानुभूति देखाएका छन् । नारीले दुनियाँ हाँक्ने क्षमता राखेको, नारी वैतरणी पार गराउने शक्ति भएको, नारी घर संचालनमा मुख्य हुनु र नारी नै सारा फसाद र कलहको मूल हो भन्दै उनी नारी कवितामा रमरम हास्य रस उरेलेका हुन् । सुखदुख कवितामा उनी सुखलाई सुगम मान्ने र दुःखलाई दुर्गम मान्ने उपदेश दिएका छन् । आफ्ना मन र इन्द्रियहरुमाथिको जीत नै सुखका स्रोत हुन् भन्दै मन र इन्द्रियहरुमाथिको हार नै दुःखका स्रोत हुन् भनेका छन् । यस कवितामा उनी सुख र दुःख दिन र रात जस्तै, घाम र छाँयाजस्तै हाम्रो जीवनका अङ्ग भई रहने हुनाले यसलाई देह र आत्मासरह बुझ्ने गीताको दर्शनलाई बज्जिका भाषामा रोचक तरिकाले प्रस्तुत गरेका छन् । हमहू कुछ जरुर छी कवितामा उनी दलित र शोषितहरुको स्वाभिमानको स्वर उठाएका छन् । आत्मगौरवको पाठ चरितार्थ गरेका छन् । गरिब, दलित र शोषित हुनुमा ठूलाबडाको हात रहेको र उनीहरु आफ्नो स्वार्थ सिद्ध गर्न अगाडि बढ्न नदिएको भन्दै सामन्त वर्गलाई ऐना देखाउने काम गरेका छन् । बाल कविताको रुपमा रहेको उनको छोट कोट कविता अलगै र स्वाद र भावको छ । लयात्मक तथा अनुप्रासयुक्त यो कविता बालगीतको रुपमा रेकर्ड गर्नलायक छ । यो कविता बालबालिकाहरुको मन छुने खालको प्रभावी कविताको रुपमा रहेको छ । अन्तिम कविताको रुपमा रहेको छ काहे करैछी हमरासे भेदभाव । यस कवितामा पनि उनी रही लैके बुझी तैके र हमहू कुछ जरुर छी जस्तै जातीय भेदभावजस्ता विसंगतिमाथि औँला ठड्याएका छन् भने लिङ्ग, जात र धर्मभन्दा माथि उठ्न आह््वान गरेका छन् ।
रिया, रिमा, इन्दु, प्रकाश, बुधन, ढोढाजस्ता पात्रहरु राखी सिर्जना गरिएको सहभोज एकाङ्कीमा अरु कविताहरुमा जस्तै छुवाछुतको प्रस्तुति बडा रोचक ढङ्गले गरेका छन् । विभिन्न उतार चढावले भरिएको यसको कथानक सुखान्त छ । अर्थात यस एकाङ्कीको अन्त्य छुवाछुतको अन्त्यको साथै अन्त्य भएको छ । एकाङ्कीमा उनी यसरी सफल देखिएका छन् कि मानौँ उनी सिद्धहस्त एकाङ्कीकार हुन् । त्यस्तै वसन्त ऋतुको सांस्कृतिक महत्व प्रबन्धमा उनी वर्ष, महिना, ऋतु आदिको चर्चा गर्दै वसन्तमा मनाइने बज्जी लोकपर्वहरुका वर्णनको तरिका एवम् शैलीशिल्प उच्च कोटिको छ ।
यी विशेषताहरु हुँदाहुँदै एउटै कृतिमा बढीभन्दा बढी एउटै विषय छुवाछुतका विषयवस्तुहरु राखिनु कहाँ कहाँ नरमाइलो जस्तो लाग्नु अस्वाभाविक होइन । कविले यस्ता कुराहरुमा सजग रह्नु आवश्यक देखिन्छ । सञ्जय मित्रद्वारा लेखिएको आलेखमा पनि यस कृतिको विशेषता जातीय जागरण रहेको स्वीकार गर्दै कवि पासवानको सामथ्र्यको गुनगान गरिएको छ भने यसमा यस कृतिबाट हाम्रा समाजका केही मान्यता, केही चिन्तन र केही व्यवहारहरुको हुने विश्वाससमेत लिइएको छ । यस कृतिले कवि पासवानको व्यक्तित्व उठान हुने कुराको ठोकुवा आलेखभित्र प्रष्ट रहेको छ । सधैँ हाँसिलो अनुहार मिठो र मसिनो स्वरका राजा कवि पासवान जब साहित्यिक कार्यक्रमहरुमा कविता वाचन गर्थे उनको मुस्कान व्याप्त हुन्थ्यो र स्रोता तथा अन्य कविहरु मन्त्रमुग्ध भइहाल्थे । मैले उनको ती छवि पछिसम्म सम्झन्थेँ । एक्कासि साहित्यिक सङ्गतबाट हराउनु, कार्यक्रमहरुमा बिल्कुलै देखा नपर्नु, पत्रिकाहरुमा रचनाहरु नछापिनु र सम्पर्कविहीन हँुदै साहित्यिक सम्बन्ध तोड्नु के यो कविले आफूप्रति अन्याय त गरिरहेका छैनन् ? परिपक्वताको लगभग समिप पुगेका कवि हरेक हिसाबले सक्षम हुँदाहुदैँ हराउनु बज्जिकाको लागि चिन्ताकै विषय हो । प्रखर बन्दै गरेको कलम अहिले खिया लागेको अवस्थामा त छैन ? यो पनि हुन सक्छ कि उनी लेखिरहेका होलान् तर मैलाई ज्ञात छैन कि ? यो पनि हुन सक्छ उनी छद्म नामले लेखिरहेका छन् र हामीलाई छकाइरहेका छन् । उनको योजना कहिँ हामीलाई आश्चर्यमा पार्ने त होइन ? जे होस् कवि पासवान हराउनु दुःखद कुरा हो । यो क्षति बज्जिकाको लागि अपूरणीय छ । कहिले लाग्छ उनी बेहोसीका सिकार त भइहाले । यदि यो कुरा सत्य हो भने उनले बेहोसी छोड्नुपर्छ । कि उनी अस्वस्थ भएर अशक्त भइहाले ? कुनै खतरनाक रोग त लागेन उनलाई ? यदि यस्तै हो भने म भगवानसँग लाख लाख प्रार्थना गर्छु कि हे भगवान कवि राम अधार पासवानलाई छिट्टै स्वस्थ गरी हाम्रो मित्रता पुनर्जीवित गरिदेऊ र बज्जिका साहित्यलाई अपाङ्ग हुनबाट जोगाऊ । फेरि उनको त्यही हँसिलो अनुहार र मीठो स्वरमा सशक्त कविताहरु सुन्न पाऊँ । कही जातीय उत्थानबाला, कहीँ हाँस्य त कहीँ बाल मनलाई बहलाउने बाल कविताका साथै सामाजिक कविताहरु र शोषण दमनका कविताहरु ।
सुदामा, बलरा १०, सर्लाही