रौतहट । फाल्गुन २२ गते
नेपाली राजनीतिलाई जहिले पनि अस्थिरताको राजनीति भन्ने आरोप लाग्ने गरेको छ । अझ भूमिगत समूहको डर भने नेपाली समाजमा केही बढी नै हुने गरेको पाइएको छ । राणाशासनमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध थियो । २००७ को सफल जनान्दोलनले सम्बन्धित व्यवस्थालाई नै हटाउन सफल भयो र प्रजातन्त्र आयो । पञ्चायती व्यवस्था सुरु हुँदा पनि दलहरुमाथि प्रतिबन्ध लागेको थियो तर पञ्चायती व्यवस्थाभरि नै सबै दलहरुले भूमिगत अवस्थामा शान्तिपूर्ण आन्दोलन गरे तथा २०४६ मा प्रजातन्त्र ल्याए । तर २०५२ देखि भूमिगत नेपाल कम्युनिष्ट पार्टी माओवादीले सशस्त्र आन्दोलन नै सुरु ग¥यो । २०६३ मा माओवादी आन्दोलनले शान्तिपूर्ण अवतरण पाउँदा अन्य सानातिना क्षेत्रीय दलहरुको भूमिगत बिगबिगी सुरु भएको थियो । त्यो मत्थर हुन नपाउँदै विप्लव समूहको पनि सशस्त्र गतिविधि सुरु भएको थियो तर अहिले राजनैतिक रुपमै शान्तिपूर्ण अवतरण भएको छ ।
विप्लव समूहको शान्तिपूर्ण राजनैतिक अवतरणले वर्तमान सरकारले दुई विद्रोहीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सफल भएको यश कमाउन सफल भएको छ । यसअघि सिके राउत समूहको स्वतन्त्र मधेस गठबन्धनसित शान्तिपूर्ण सहमतिमा हस्ताक्षर भएको थियो र समूहले नाम नै परिवर्तन गरी जनमत पार्टी राखेको थियो । यसै गरी विप्लव समूहले पनि शान्तिपूर्ण राजनैतिक प्रतिस्पर्धालाई स्वीकार गरेको छ । अब राजनैतिक दृष्टिकोणले देशमा विद्रोहात्मक वा हिंसात्मक आन्दोलन हुने सम्भावनालाई अस्वीकार गरेको छ भने शान्तिपूर्ण राजनैतिक वातावरण तयार भएको देखिएको छ । विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु अहिलेको समयमा निकै ठूलो काम भएको हो भन्ने कुरामा दुई मत नहोला । देशको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणमा यस सम्झौता वा सहमतिको महत्वपूर्ण भूमिका हुने विश्वास गरिएको छ ।