फाल्गुन २५ गते
नारी दिवसको दिनमा अधिकारका कुरा धेरै भए । विश्वभरका नारीको अधिकार तथा कर्तव्यको बारेमा धेरै चर्चा परिचर्चाहरु भए । यो स्वाभाविक हो । संसारका करिब आधा जनसंख्या महिलाको भएको र महिलाहरुले धेरै प्रकारका विभेद भोग्नु परिरहेको यथार्थमा आधारित भएर महिलालाई सबै किसिमको विभेदबाट मुक्त बनाउनु पर्नेमा वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले खासै मतभिन्नता रहेको पाइन्न ।
महिला र पुरुष दुवै एकै रथका दुई पांग्रा हुन् । महिलाबिना संसार चल्न सक्दैन । जैविक भिन्नताबाहेक महिला र पुरुषमा अन्य भिन्नता रहेको पाइँदैन । जैविक भिन्नताकै कारण महिलामाथि धेरै किसिमका विभेदहरु गरिन्छन् । अझ कतिपय देशहरुमा त महिलालाई अझै पनि धेरै कम अधिकारहरु प्राप्त भएका छन् । हाम्रै देशमा पनि महिलाले जति धेरै अधिकार प्राप्त गरेको भए पनि असन्तुष्टिहरु अझ धेरै बाँकी छन् भन्ने कुरो आजको दिनमा महिला अधिकारको विषयमा भएका चर्चाहरुले पनि साबित गरेका छन् ।
महिलाहरु कमजोर होइनन् । महिलाहरु पनि सक्षम छन् । महिलाले गर्न नसक्ने अहिलेको जमानामा कुनै पनि पेसा रहेको छैन । यस अवस्थामा पनि महिलालाई लैंगिक दृष्टिकोणले विभेद गरिनु न्यायसंगत हुँदैन तर पनि पछौटे चिन्तनको समाज र पुरुषको सत्ता गुम्ने डरले गर्दा कतिपय अवस्थामा पुरुषहरु हैकमवादी भइदिन्छन् । वास्तवमा हरेकको क्षमताको सम्मान हुने हो भने महिला र पुरुषको लैंगिक विभेदलाई कम गर्ने निक्कै हदसम्म सहयोग पुग्ने थियो । अहिले पनि नेपाली महिलाले प्राप्त गरेका राजनैतिक अधिकार तथा महिलाहरुले गरेका राम्रा कामको प्रशंसाले महिलाको क्षेत्रमा धेरै काम भएको बुझ्न सकिन्छ तर अझै पनि धेरै काम गर्न बाँकी छ भन्ने कुरालाई पनि हामीले नै बुझ्नु परेको छ ।
वर्तमान पुस्ताले महिलालाई सचेत बनाउने र आत्मनिर्भर बनाउने दिशामा काम गर्न सक्यो भने महिलाको सर्वांगीण विकासको लागि धेरै काम हुने देखिन्छ सकारात्मक दिशामा ।