चैत्र १३ गते ।
सहर स्वभावैले सर्व गुण सम्पन्न एक निश्चित भू–भाग जहाँ सामान्यभन्दा पनि असामान्य मानव बस्तीले खचाखच भएको ठाउँलाई भनिन्छ । मानवको उत्पत्ति सँगसँगै क्रमबद्ध रुपमा सोही ठाउँहरु आफ्नो स्वरुपलाई बदल्दै जाँदा सहर हुन पुगेको पाइन्छ । सहरको परिभाषा देश, समय र परिस्थितिअनुसार फरक फरक ढङ्गले अथ्र्याउँदै आएको पाइन्छ । सामान्य अर्थमा सहर भन्नाले ठूला ठूला सडक, बजार उद्योग, कारोबार आदि साधन सम्पन्न भएको ठूलो बाक्लो बस्ती, नगर, वा पुर भन्ने जनाउँछ । नेपालको परिवेशमा योभन्दा पहिले महानगर, उपमहानगर र नगरपालिकालाई सहर र त्यहाँ बसोबास गर्ने मान्छेलाई सहरिया भनिन्थ्यो र गाउँ विकास समितिभित्र बस्नेलाई गाउँले भनिन्थ्यो । वर्तमान समयसम्म आउँदा राज्यको माथिल्लो निकायबाट नै सहर शब्द प्यारो भएरै होला अन्धाधुन्ध तरिकाले सहरी क्षेत्र घोषणा गर्दै आएको । अहिले गाउँपालिकाभित्र बस्नेलाई गाउँले भनिन्छ । राज्यले सहरमा बस्ने मानिसको संख्या बढी देखाउनलाई यस्तो गरेको हो कि भन्ने अनुमान पनि लगाउन सकिन्छ ।
सहर त्यत्तिकै सहर भइहाल्ने चाहिँ होइन । नेपालको परिवेशमा निश्चित जनसंख्या, वार्षिक आम्दानीका साथसाथै अन्य विकासका पूर्वाधारहरुको आधार तय भएमा त्यसलाई सहर घोषणा गर्ने गरिएको छ । विडम्वना! धेरै ठाउँहरुमा ती र त्यस्ता आधारभूत मापदण्ड पूरा नहुँदै सहर घोषणा गर्दा यसले व्यावहारिक रुपमा समस्या पनि उत्पन्न गरेको छ ।
राज्यले कागतमा सहर बनाउँछु भनेर नगर घोषणा गर्दै हिड्नाले सहर भइहाल्ने पनि होइन । समग्रमा देश विकसित भई सर्व सम्पन्न नागरिक, उच्च आर्थिक अवस्था, गुणस्तरीय शिक्षा प्रणाली, स्वास्थ्य सुविधा तथा सुरक्षाको पहुँच, औद्योगिक विकास, यातायातको विकास, रोजगारीको सिर्जना, पर्यावरणीय तथा पर्यटकीय विकास, जैविक विविधताको संरक्षण, आधुनिक कृषि प्रणाली, ढलनालीको उचित प्रवन्ध, पारिवारिक वातावरण, चोरी डकैती, लुटपाट, हत्या–हिंसा, वलात्कार, अपहरणलगायत विविध कुराहरुमा अपेक्षित सुधार र प्रगति भई जनताले सुख र ढुक्कको सास फेर्न सक्ने वातावरण भएमा मात्र त्यो सार्थक बन्ने हो । दूर्भाग्य ! यहाँ ती र त्यस्ता कुराहरुमा उल्लेख्य सुुधार त कता हो कता हालसम्म भए गरेका क्रियाकलापहरु यथावत राख्नसमेत सकिरहेको अवस्था छैन । यतिसम्म भन्दै गर्दा सकारात्मक प्रगति नभएको भन्ने चाहिँ होइन । जे जति विकासका क्रियाकलाप भएका छन् । ती समयको यो कागजी सहरले जीवन सहरिया हुने सम्भावना कमै देखिन्छ । वास्तविक सहर बन्नका लागि यथेष्ठ आधार तथा भौतिक पूर्वाधारको मापन र सम्भाव्यता खोजी आधार स्तम्भ तयार गरेर अगाडि बढेमा मात्र त्यो वास्तविक सहर बन्ने देखिन्छ । विकसित देशको देखासिकी गरेर होडबाजीमा सहर बन्ने बनाउने कार्य नेपाली परिवेशमा त्यति व्यावहारिक देखिएको पाइँदैन । मागअनुसार अलि व्यावहारिक नभएका मात्र हुन् । यसले त केवल जनतालाई सहरको नाममा महङ्गी र करको दायरा मात्र थपेको छ ।
अहिलेको नेपालको कूल सहरी जनसंख्या प्रतिशत बीस दशमलव पन्ध्र पुगेको देखिन्छ । यो एकदमै धिमा गतिमा बढेको हो । र परापूर्व कालदेखि भनिँदै आएको, “नेपाल गाउँ नै गाउँले भरिएको देश हो ” भन्ने उक्ति त्यत्तिकै उपयुक्त र सार्थक छ । नेपाललाई वास्तवमा स्वर्ग बनाउन सकिन्छ नकि सहर । यहाँबाट के कुराको पुष्टि गर्न सकिन्छ भने सहरभन्दा स्वर्ग धेरै माथिल्लो तह हो । हिमाली भेगमा उपलब्ध स्रोत साधन, जडिबुटीका साथै उपलब्ध खनिज पदार्थको उत्खनन् गर्न सके आर्थिक फड्को मार्न कुनै देशले पनि रोक्न सक्दैन । यसका लागि उच्चतम आर्थिक लगानी, अत्याधुनिक प्रविधि तथा सीपयुक्त दक्ष मानवस्रोतको जरुरी पर्दछ । यी माथि उल्लेख गरिएका पक्षहरुमा सम्बोधन गर्न नसक्नुले नै अवस्था कमजोर बन्दै गएको हो । यी सबैका पछाडिको भूमिका शिक्षाको हो । शिक्षा पौराणिक तथा सैद्धान्तिक मात्र भयो । यो प्रयोगात्मक, व्यावहारिक र जीवनसँग मेल खाने खालको भएन । केही हदसम्म उत्पादन भएको सीपयुक्त मानवस्रोत पनि विदेश पलायन हुने प्रवृत्तिले गर्दा आज आफ्नो देश होइन विश्वका अनेकौँ मुलुक स्वर्गतुल्य बनाउन नेपाली लागि परेका छन् जुन बाध्यता पनि हो । भविष्यमा के गर्नु पर्ने हो भन्नका खातिर शिक्षा प्रदान गर्नु पर्नेमा विगतमा के –के भए भन्ने कुरा शिक्षामा हावी हुँदा र राज्यका तर्फबाट पनि दूरदर्शी विकास लक्ष्य निर्दिष्ट गर्ने कुरामा ध्यान नपु¥याउँदा पचास वर्ष पहिले एकै अवस्थामा भएका कोरिया र नेपाल आज आएर कोरिया विश्वलाई टक्कर गर्ने एक समृद्ध मुलुक भइसक्दा नेपाल जहाँको त्यही छ । यसका लागि समुन्द्री सतहसँग जोडिनु नै पर्छ भन्ने होइन रहेछ । त्यस्तै गरी विश्वका थुप्रै मुलुक यसका उदाहरण हुन सक्छन् ।
यसका साथै सबभन्दा प्रचुर सम्भावना भएको र पुष्टि भएको पक्ष जलविद्युत हो । अझ वास्तविक रुपमा भन्ने हो भने सम्भावनाको एक तिहाई मात्र पनि यस पक्षलाई प्रयोगमा ल्याउने हो भने अरु कुनै बिकल्प खोज्न जरुरी छैन । अझ व्यावहारिक रुपवाट हेर्ने हो भने अन्नको भण्डार मानिएको तराईलाई आधुनिक कृषि प्रणाली भित्र्याई उत्पादनमा वृद्धि गर्न सकिन्छ । यस्तो भएमा कुनै पनि नेपालीलाई हात मुख जोर्नकै नाममा ज्यान नै धरापमा राखी पारिवारिक माया ममतालाई चटक्कै छोडेर विश्वका कुना कन्दरामा दिन बिताउनु पर्दैनथ्यो । मन्दिरै मन्दिरको देश भनेर चिनिने नेपाल विश्वभरि सांस्कृतिक सम्पदामा अंग्रपक्तिमा आउँछ । यसको पुष्टि युनेस्कोले विश्व सम्पदा सूचीमा राखेका नेपालका उच्चतम सांस्कृतिक तथा पुरातात्विक सम्पदाले देखाउँछन् ।
विश्वका शतप्रतिशत सहरी मुलुकमध्ये एक सिंगापुर पनि हो । जुन एक टापु पनि हो । र सुनिन्छ त्यहाँ हरेक दिन सिङ्गो देशलाई नुहाइदिइन्छ अरे ! विश्वमा विकासका नाममा एक होइन अनेक चामत्कारिक क्रियाकलाप भएका छन् । वरिपरि पनि नै पानी भएकोले सम्भव भएसम्मका बाटाहरु भवनहरु, वगैँचा आदि सफा गरिन्छन् होला । त्यति आश्चर्य मान्नु पर्ने कुरै होइन ।
विश्वका घुम्नै पर्ने दश मुलुकहरुमध्ये नेपाल पनि एक हो । यो त्यसै दशओटा सूचीभित्र परेको होइन न कि यो सहरी विकासले परेको हो । यो त प्राकृतिक रुपमै इश्वरले उपहार स्वरुप प्रदान गरेको विविध पक्षले गर्दा भएको हो । राज्यले त्यति साह्रै सहर उन्मुख गराउन खोजेको होइन यो त मान्छे स्वभावैले ग्रामीण भू–भागबाट सुविधा, सम्पन्न ठाउँमा बसाइँ सर्दै जाँदा, अध्ययन गर्न जाँदा, घुम्न जाँदा, तालिम गर्न जाँदा तथा अन्य कुनै पनि उद्देश्यले जाँदाजाँदै मान्छे, भवन, बाटाधारा, लगायत अन्य पूर्वाधार तयार भएर सहर भन्न लायक भएको हो । यसले सहर भएर आफ्नो स्वव्यवस्थापन गर्न सकेको छैन । हैनभने सहरले खै त जल, ध्वनि, वायू तथा भू–प्रदूषण रोक्न सकेको ! यसका साथै खै त मानवीय घटना, दूर्घटना न्यूनीकरण तथा मानवीयताको भावना कायम गर्न सकेको !
यसरी यी विभिन्न पक्षमा जे जस्ता नकारात्मक वा सकारात्मक टिम्पणी भए तापनि नेपाललाई सहर उन्मुखभन्दा पनि स्वर्ग उन्मुख मुलुृक बनाउनु पर्नेमा जोड दिनुपर्ने देखिन्छ । आखिर सहरिया जीवन भनेको सुखसयल, मोजमस्ती र पूर्ण सन्तुष्टिको जीवन न हो । तर यसको अर्को पाटो पनि त छ । सहरका अलावा गाउँ नै भए पनि व्यक्ति व्यक्तिबीच, व्यक्ति र समूहबीच तथा समूह समूह बीच हुने र देखाउने माया, स्नेह जिउँदाका जन्ती र मर्दाका मलामी भएर चलेको जीवनचर्या, निश्वार्थ भावना, विश्वासको वातावरण, अग्र्यानिक उत्पादन र प्रयोग, स्वच्छ वातावरण यी सबै स्वर्गीय आनन्द सहरिया जीवनमा पाइनन् ।
अनेकतामा एकता भन्ने मूल नाराले नेपालीहरुलाई वास्तवमा एउटा मालामा उनेको छ । बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय, बहुधार्मिक बहुभौगोलिकतामा अडेर बसेका नेपाली नागरिक वास्तवमा स्वर्गझैँ बसेको भान हुन्छ ।