चैत्र ३१ गते ।
अब रौतहटलाई विस्तारै चिन्नु परेको छ । धेरै जनाले रौतहटको लोकप्रिय पत्रिकामा रौतहटबारे लेख रचनाहरु आउनु पर्छ भनेका छन्, त्यसैले अब रौतहटको बारेमा केही लेखरचनाहरु नियमित रुपमा जाने यहाँहरुलाई जानकारी गराउन चाहन्छु । यहाँहरुको रौतहटबारे जान्ने चाहनाको सम्बोधन अबको दिनमा हुने विश्वास दिलाउन चाहन्छु ।
रौतहटबारे म नै पूर्ण जानकार छु भन्ने होइन । रौतहटको बारेमा मलाई सबैथोक आउँछ भन्ने पनि होइन तर रौतहटबारे विगतमा पनि लेख्ने गरेको तथा रौतहट परिचय नामको मेरो पुस्तिका पनि प्रकाशन भएको र यस पुस्तिकाले राम्रो सम्मान पाएको देखिएकोले पनि धेरै रौतहटबारे लेख्नलाई भनेको हुन सक्छ ।
रौतहटबारे लेख्नु चानचुने विषय होइन । यो जिल्ला आफैँमा विविधताको संगम हो । यस जिल्लाको बारेमा म लगातार लेख्न सक्छु वा कुनै कुनै अंक बिचमा अन्य सान्दर्भिक विषयमा लेख्न सक्छु ।
धेरै पाठकहरुले पौराणिक कुराबारे चासो राखेका छन् । सबैभन्दा बढी प्रतिक्रिया पौराणिक विषयका लेखमा नै आएका छन् । तिनीहरुलाई कम गर्दछु भन्ने होइन । समयक्रममा पौराणिक विषयका लेखहरु पनि लेखिरहनेछु तर यस पत्रिकामा रौतहटबारे प्राथमिकता राखेर राखेर लेखहरु लेख्नेछु । रौतहटको विषयमा अझै पनि धेरै प्रबुद्ध पाठकहरुले धेरै कुरा बुझ्न बाँकी नै रहेका छन् । सम्भव भएसम्म ती प्रबुद्ध पाठकलाई रौतहटबारेका जिज्ञासाको सम्बोधन गर्दै जानेछु र जहाँ प्रबुद्ध वर्गलाई कुनै दोधार हुन्छ, कुनै समस्या हुन्छ, कुनै ठाउँमा यस्तो लाग्छ कि अझ बढी स्पष्ट हुनुछ, त्यहाँ फेरि पनि छलफल गर्नेछु । रौतहटबारे अलिक बढी अन्तक्र्रिया होओस् भन्ने हेतुले यसरी गर्न खोजेको हुँ ।
रौतहटको इतिहास र भूगोल, रौतहटको नामकरण, रौतहटका प्रमुख धार्मिक स्थानको परिचय, रौतहटमा समय समयमा आएका विभिन्न पौराणिक तथा ऐतिहासिक पात्रहरुबारे जानकारी पनि यस शृंखलामा प्रस्तुत गर्ने छु । कतिपय स्थानको नामकरण कसरी भएको हो वा के कस्ता मिथकहरु प्रचलनमा रहेका छन् भन्ने विषयमा पनि सोधखोज गर्नेछु । कतिपय पर्यटकीय स्थलको बारेमा पनि जानकारी गराउँछु र आर्थिक अवस्थाको आधार पनि प्रस्तुत गर्नेछु ।
धेरैले मसित यस प्रकारका आशाहरु राखेका छन् । यस आशालाई सकेसम्म तथ्यगत तरिकाले तृप्त पार्ने प्रयास गर्नेछु ।
रौतहट अगम्य होइन । यो जिल्ला शिक्षा र साक्षरतामा निकै पछाडि छ । यसै कारणले यस जिल्लाको बारेमा धेरै कम जानकारी सर्वसाधारणलाई हुन स्वाभाविक पनि हो । यसको मूल कारणमा प्रतिभा पलायन हो । जो पढाइमा राम्रो छ, उनलाई जिल्लाबाहिर पढ्न अभिभावकले नै पठाइदिन्छन् । जो बाहिर पढ्न जान्छन्, उत्तैका भइहाल्छन् । जो राम्रोसँग पढेलेखेर जीवनवृत्ति गर्न थाल्छन् तब ऊ यहाँबाट पलायन भइहाल्न रुचाउँछन् । यस कारणले यहाँको शिक्षा र चेतना पनि प्रभावित बनेको छ । साक्षरतामा पनि नकारात्मक प्रभाव परेको छ ।
केही मानिसले रौतहटलाई चिन्न चाहन्छन् तर चिन्ने बाटो पाइरहेका छैनन् । कतिपयले आफ्ना बालबालिकालाई रौतहटबारे जानकारी दिन चाहन्छन् तर जानकारी दिन सकिने सामग्रीको अभाव हुन्छ । कतिपय आफू अलमलिएर केही बोल्न चाहँदैनन् वा कतिपय यस्ता पनि छन् जो अनुमानको भरमा केही बोलिदिन्छन् र लेखिदिन्छन् । अनुमानको भरमा लेख्नु र बोल्नुले स्रोता वा पाठकमा पनि त्यस्तै भ्रम पर्न जान्छ र त्यही स्रोतबाट फेरि त्यस्तै जानकारी बाहिर जान थाल्दछ । यस क्रमले सिकाइ नै गलत हुन जाने डर हुन्छ । फेरि जब कतै कुनै आधिकारिक स्रोत वा सामग्रीको अभाव हुन्छ भने कसरी कसैको कुरालाई पत्याउने वा नपत्याउने भन्ने सबाल पनि रहन्छ । यस्तो अन्यौलको अवस्थालाई यस प्रकारको लेखनले केही हटाउने विश्वास भने गर्न सकिन्छ ।
रौतहटलाई चिनाउने अभियान यहाँबाट सञ्चालनमा रहेका केही अनलाइनबाट गर्ने विचार गरेको थिएँ तर अनलाइनहरुलाई यस प्रकारको कुरो उत्पादक नलागेको हुनुपर्छ । एउटा अनलाइन सञ्चालकसित केही सकारात्मक कुराकानी भए पनि निष्कर्षमा पुग्न सकिएको छैन ।
वर्तमानकाल दैनिकप्रति पनि मलाई विश्वास थिएन यसको निरन्तर प्रकाशनमा तर यसमा रहेका नवयुवा जोशिला पत्रकारहरुले गरिरहेको सामूहिक परिश्रमलाई देखेर यसले निरन्तरता पाउला कि भन्ने आश जागेको छ ।
यस पत्रिकाले आफ्नो पहिचान स्थापित गर्दै लगेको छ । साथमा यस पत्रिकामार्फत केही लेखकहरुले पनि आफूलाई चिनाउन सफल भइरहेका छन् । यसका पत्रकारहरुप्रति विश्वास बढिरहेको छ । यस पत्रिकाप्रति विज्ञापनदाता र सर्वसाधारणको विश्वास बढिरहेको यथार्थलाई विचार गरेर नै अब सम्भव भएसम्म हरेक हप्ता मैले लेख्ने सामग्रीहरु रौतहट र यससँग सम्बन्धित बनाउने प्रयास गर्नेछु । यद्यपि कतिपय अवस्थामा तथ्य र साधन तथा स्रोतको अभाव वा कतिपय अवस्थामा समयको अभाव वा कुनै विशेष तिथिमिति, चाडपर्व वा दिवस आइप¥यो भने त्यस विषयलाई नजरअन्दाज गर्न नसकिने कुरा पनि हो । यो अवश्य हो कि अबको मेरो लेख रौतहट शृंखलाका अधिकांश हुने छन् । रौतहटलाई चिनौँ भन्ने स्तम्भ नै केही महिनाका लागि मान्दा हुन्छ ।
हुन त यस शृंखलाका लागि मैले वर्तमानकाल दैनिक पत्रिकाको टिमसित छलफल गर्न सकेको छैन । मलाई के लाग्दछ भने लेखकीय स्वतन्त्रता हुनुपर्छ भन्ने मान्दछु । तर मैले यहाँ लेखकीय स्वतन्त्रताको दुरुपयोग गर्न चाहेको होइन । पत्रिकाको तर्फबाट यस्तो कुनै संकेत आउनेबित्तिकै रोक्छु पनि । यद्यपि मलाई कतिसम्म विश्वास छ भने यो शृंखला सुरु भएको खण्डमा पत्रिका परिवारका साथै पाठकले पनि मन पराउने छन् । उसै पनि यस पत्रिकामा प्रकाशित कतिपय मेरा लेख आफूले पढेर आफ्ना घरका अरुलाई पनि पढ्न दिने गरेको र कतिपय पत्रिकालाई सिरानीमा र दराजमा सम्हालेर राखेको पनि कतिपय पाठकले बताउने गरेका छन् । त्यस्ता मेरा लेखहरु कि त ऐतिहासिक विषयवस्तुका छन् वा पौराणिक विषयवस्तुमा आधारित रहेका छन् । यसै आधारमा रौतहटसम्बन्धी विषयवस्तुलाई पाठक र पत्रिका परिवारले मन पराउने विश्वासमा रहेको छु ।
कथंकदाचित यस पत्रिकामा रौतहट शृंखला रोकिन पुग्यो भने यो शृंखला अन्यत्रबाट पनि आउन सक्छ । रौतहटबारे अनेक नाम वा शीर्षकमा रौतहटसित सम्बन्धित विभिन्न नाम, स्थान, मिथक वा अन्य सम्बन्धित भएर लेख्ने प्रयास गर्नेछु । कतिपय प्रसंगलाई अझ रोचकतापूर्वक प्रस्तुत गर्नको लागि रहस्यात्मक बनाउने प्रयास पनि गरिने छ । यसलाई पनि पाठकले स्वीकार गर्ने छन् भन्ने मेरो मनले ठानेको छ ।
रौतहटेली पत्रकारितामा यस किसिमको प्रयास नौलो हुनेछ । यसभन्दा पहिले काठमाडौँबाट प्रकाशित रौतहट टाइम्स साप्ताहिकमा रौतहटकै बारेमा केही समय प्रकाश तिमल्सिनाले नियमित रुपमा लेखेका थिए तर त्यसले पनि न त पूर्णता पायो र न त त्यसले कृतिको रुपमा बजारमा आउन पायो । लेखक तिमल्सिना काठमाडौँमा पत्रकारितामा आफ्नो आधिपत्य कायम गरेपछि रौतहटसम्बन्धी लेखनलाई निरन्तरता दिन सकेनन् । यद्यपि रौतहटबारे जानकारी लिन चाहनेलाई उनले अहिले पनि उनको उत्सुकता वृद्धि गरिदिने गरेका छन् । अझ आधिकारिक जानकारीको लागि पत्रकार तिमल्सिनाले मकहाँ फरवार्ड गरिदिने गरेका छन् ।
म इतिहासको विद्यार्थी हुँ । इतिहास विषयमा म स्नातकोत्तर (एम.ए.) गरेको छु । साथै मैले नेपाली साहित्य विषयमा पनि स्नातकोत्तर (एम.ए.) गरेको छु । यसै कारणले कतिपय सन्दर्भमा इतिहासका विषयमा पनि कथाहरु लेख्ने गरेको छु । इतिहासको खोजी तथा अनुसन्धान पनि मेरो कार्य क्षेत्रभित्र पर्दछ ।
हुन त इतिहास आफैँमा विवादास्पद हुन्छ । हरेक घटनामाथि लेखकको आफ्नो दृष्टिकोण हुन्छ वा लेखकले आफ्नो दृष्टिकोणअनुसार लेख्ने गर्दछन् । यसै कारणले इतिहासको विषयवस्तु र प्रस्तुतिमा मतैक्य हुन नसकेको हुनुपर्छ तर रौतहटको बारेमा मैले तटस्थ विचार राख्ने प्रयत्न गर्नेछु । र, अर्को पनि सकारात्मक कुरा के पनि हो भने म रौतहटमै रहेर रौतहटको बारेमा अनुभूति गर्दै कतिपय अवस्थामा स्थलगत तथ्य बुझेर नै लेखेको छु र लेख्नेछु ।
सबैको साथ र सहयोग रह्यो भने रौतहटसम्बन्धी विशिष्ट जानकारीहरुको लेखहरुलाई संग्रह गरेर एउटा कृति पनि प्रकाशन गर्ने सोचाइमा छु । यसको माग व्यापक रहेको छ । यस अर्थमा रौतहट सम्बन्धी हरेक लेख आफैमा पनि एउटा पुस्तकको एउटा पाटोको रुपमा रहने छ । यहाँहरु सबैले सकारात्मक सहयोग गर्नुहुनेछ भन्ने पूर्ण विश्वास राख्दै नयाँ वर्ष २०७८ को सम्पूर्ण पत्रकार, साहित्यकार, लेखक अनि पाठकसहित वर्तमानकाल दैनिक पत्रिका परिवारमा सुख, शान्ति, सुस्वास्थ्य एवम् समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।