चैत्र ३१ गते ।
यसपटक धेरै हदसम्म संयोग मिलेको छ । पहिले तिथिको हिसाबले नै मिति चल्ने गर्दथ्यो । तिथिअनुसार चैत महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिदेखि हिन्दू संस्कृतिको नयाँ वर्ष सुरु हुन्थ्यो । विक्रम सम्वतलाई हिन्दू संस्कृतिको वर्ष मानिन्छ । हुन त यो धेरै पुरानोजस्तो नलाग्न पनि सक्छ तर वर्ष गणना चाहिँ धेरै पछिदेखि हुन थालेको हो । सभ्यताको सुरुआतदेखि नै चैतको शुक्ल पक्षको प्रतिपदाको दिनलाई नयाँ वर्ष मानिँदै आएको थियो । यसै परम्परालाई निकै पछिमात्र गणना गरिन थालिएको हो । वि.स. गणना हुनुभन्दा धेरै पहिलेदेखि नै यस दिनलाई नयाँ वर्षको रुपमा वा नयाँ दिनको रुपमा समाजले मान्दै आएको थियो । संस्कृतिले मान्दै आएको थियो । हिन्दू समाजमा यो एउटा संस्कृतिको रुपमा स्थापित मान्यता थियो, हो र रहिरहनेछ ।
पहिले प्रतिपदाको दिन नै सतुआन हुन्थ्यो । सर्वसाधारणले सतुआन मनाएको भोलिपल्ट जूडशीतल खेल्दथे । कादोमाटीको दिन भनेर जूडशीलतलाई मानिन्थ्यो । यसको अर्थ यो पनि हो कि नयाँ वर्ष दुई दिन मनाइन्थ्यो । जब चैत शुक्ल पक्षको आगमन हुन्थ्यो तब केही दिन उत्सवमय हुन्थ्यो । कम्तीमा सप्तमीसम्म यो उत्सव चल्दथ्यो । सप्तमीको दिन छठको समापन भएपछि सर्वसाधारणले आफ्नो दैनिकी नियमित गर्दथे । जब त्रेतायुग आयो, रामको जन्म यसै युगमा भयो तबदेखि नयाँ वर्षको उत्सव कम्तीमा नवमीसम्म मनाइन थालियो । समयलाई व्यवस्थित गर्न जब विक्रम सम्वत चलाइयो तब केही मान्यताहरु फरक पर्न थाले । अझ चन्द्रशमशेरको पालामा आएर जब हरेक महिनालाई एकदेखि तीससम्म गनिन थालियो तब झन् केही नयाँपन थपियो । त्यसभन्दा पहिले हरेक महिना तीस दिनको त हुन्थ्यो तर हरेक महिनामा बदी र सुदी लेखेर एकदेखि पन्ध्र दिनसम्म जान्थ्यो । हिन्दू संस्कृतिमा अझै पनि चैत शुक्ल पक्षलाई नयाँ वर्ष मान्ने अवशेष कतै कतै पाइन्छ । भारतका कतिपय हिन्दू संस्थाहरुले यसै दिन नयाँ वर्ष मनाउँछन् । यस दिन तेल लगाउने र निमको पात खाने चलन अझै पनि कतिपय समाजमा छँदैछ ।
धेरै कठिनाइहरु लिएर आएको थियो यो वर्ष । गत वर्ष यो तिथि आउँदा जति धेरै डर थियो, त्यत्तिकै धेरै डर अहिले पनि समाजमा रहेको छ । गत वर्ष जेको डर थियो, अहिले पनि सोही कुराको डर रहेको छ । विश्वका मानवले अत्यधिक डरको सामना गरिरहेको छ । यस विकट समयमा पुरानो वर्षलाई सौहाद्र्रपूण विदाइ गरौँ र नयाँ वर्षलाई हार्दिक स्वागत गरौँ ।