रौतहटमा छात्राहरूलाई प्रोत्साहित गर्न मावि पिपरियाका छात्राहरुलाई साइकल वितरण, गरिब दलित छात्राहरुको शैक्षिक पहुँच बढाउने उद्देश्य

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १, बुधबार (९ महिना अघि)
  • ४ पटक पढिएको
रौतहटमा छात्राहरूलाई प्रोत्साहित गर्न मावि पिपरियाका  छात्राहरुलाई साइकल वितरण, गरिब दलित छात्राहरुको शैक्षिक पहुँच बढाउने उद्देश्य

रमेश कुमार यादब
बैशाख ३१, रौतहट

रौतहट जिल्लाको गरुडा नगरपालिका–७ मा अवस्थित श्री मावि पिपरिया दोस्तियामा अध्ययनरत २२ जना छात्राहरुलाई निःशुल्क साइकल वितरण गरिएको छ । बुधबार विद्यालय प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनी प्रसाद जैसवालको प्रमुख आतिथ्यतामा गरिब तथा दलित परिवारका छात्राहरुलाई साइकल हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख जैसवालले घरदेखि विद्यालयको दूरी धेरै भएकाले विद्यार्थीहरुलाई आउजाउमा समस्या भोग्नु परेको उल्लेख गर्दै, छात्राहरुको शैक्षिक यात्रालाई सहज बनाउन र नियमित उपस्थितिको सुनिश्चितताका लागि साइकल वितरण गरिएको बताए। “छात्राहरुलाई विद्यालयमा टिकाइ राख्न र उनीहरुको भविष्य उज्यालो बनाउन पालिकाले यो महत्वपूर्ण कदम चालेको हो,” उनले भने ।

नगरप्रमुखले चालु आर्थिक वर्षमा गरुडा नगरपालिकाले नगरस्तरीय बजेटमार्फत साइकल वितरण कार्यक्रम सञ्चालन गरेको जानकारी समेत दिए । उनले भने, “यस कार्यक्रम अन्तर्गत नगरभित्रका सबै सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा दलित समुदायका छात्राहरुले क्रमशः साइकल पाउनेछन् ।”साइकल वितरण कार्यक्रममा कक्षा ८ मा अध्ययनरत छात्राहरुले साइकल पाउँदा अत्यन्तै खुशी व्यक्त गरेका थिए। उनीहरुले अब विद्यालय आउजाउ गर्न सहज हुने भन्दै शिक्षामा अझै मन लगाउने बताए ।

शिक्षा शाखाका सह–संयोजक शेख चाँन्द अलिले छात्राहरुको पठनपाठनमा सहजता ल्याउन र विद्यालयसम्मको पहुँच सुनिश्चित गर्न यो कार्यक्रम ल्याइएको स्पष्ट पारे । उनले भने, “विद्यालय टाढा भएकाले कतिपय छात्राहरुले अध्ययन बीचमै छाड्ने अवस्था आउँथ्यो । अब साइकल पाएपछि उनीहरुको नियमित उपस्थिति सुनिश्चित हुने विश्वास लिएको छौं ।”कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष प्रबिण सिंह यादवले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै गरिब तथा दलित समुदायका बालबालिकाहरुको शिक्षा सुनिश्चित गर्न पालिका निरन्तर क्रियाशील रहेको बताए ।

उनले साइकल वितरणबाट छात्राहरुको पढाइमा रुचि बढ्ने र विद्यालय त्याग दर घट्ने अपेक्षा गरिएको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीय समाजसेवीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । साइकल वितरणसँगै छात्राहरुमा उत्साह थपिएको देखिन्थ्यो । यस कार्यक्रमलाई शिक्षा क्षेत्रको पहुँच विस्तारका लागि एक सकारात्मक प्रयासका रूपमा हेरिएको छ । कार्यक्रममा उक्त वार्डको वडाप्रत्याशि दिनेश यादब,स्थानिय बासि , संचारकर्मि लगायतहरुको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस