रमेश कुमार यादब
बैशाख ३१, रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिका–७ मा अवस्थित श्री मावि पिपरिया दोस्तियामा अध्ययनरत २२ जना छात्राहरुलाई निःशुल्क साइकल वितरण गरिएको छ । बुधबार विद्यालय प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनी प्रसाद जैसवालको प्रमुख आतिथ्यतामा गरिब तथा दलित परिवारका छात्राहरुलाई साइकल हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख जैसवालले घरदेखि विद्यालयको दूरी धेरै भएकाले विद्यार्थीहरुलाई आउजाउमा समस्या भोग्नु परेको उल्लेख गर्दै, छात्राहरुको शैक्षिक यात्रालाई सहज बनाउन र नियमित उपस्थितिको सुनिश्चितताका लागि साइकल वितरण गरिएको बताए। “छात्राहरुलाई विद्यालयमा टिकाइ राख्न र उनीहरुको भविष्य उज्यालो बनाउन पालिकाले यो महत्वपूर्ण कदम चालेको हो,” उनले भने ।

नगरप्रमुखले चालु आर्थिक वर्षमा गरुडा नगरपालिकाले नगरस्तरीय बजेटमार्फत साइकल वितरण कार्यक्रम सञ्चालन गरेको जानकारी समेत दिए । उनले भने, “यस कार्यक्रम अन्तर्गत नगरभित्रका सबै सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा दलित समुदायका छात्राहरुले क्रमशः साइकल पाउनेछन् ।”साइकल वितरण कार्यक्रममा कक्षा ८ मा अध्ययनरत छात्राहरुले साइकल पाउँदा अत्यन्तै खुशी व्यक्त गरेका थिए। उनीहरुले अब विद्यालय आउजाउ गर्न सहज हुने भन्दै शिक्षामा अझै मन लगाउने बताए ।
शिक्षा शाखाका सह–संयोजक शेख चाँन्द अलिले छात्राहरुको पठनपाठनमा सहजता ल्याउन र विद्यालयसम्मको पहुँच सुनिश्चित गर्न यो कार्यक्रम ल्याइएको स्पष्ट पारे । उनले भने, “विद्यालय टाढा भएकाले कतिपय छात्राहरुले अध्ययन बीचमै छाड्ने अवस्था आउँथ्यो । अब साइकल पाएपछि उनीहरुको नियमित उपस्थिति सुनिश्चित हुने विश्वास लिएको छौं ।”कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष प्रबिण सिंह यादवले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै गरिब तथा दलित समुदायका बालबालिकाहरुको शिक्षा सुनिश्चित गर्न पालिका निरन्तर क्रियाशील रहेको बताए ।

उनले साइकल वितरणबाट छात्राहरुको पढाइमा रुचि बढ्ने र विद्यालय त्याग दर घट्ने अपेक्षा गरिएको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीय समाजसेवीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । साइकल वितरणसँगै छात्राहरुमा उत्साह थपिएको देखिन्थ्यो । यस कार्यक्रमलाई शिक्षा क्षेत्रको पहुँच विस्तारका लागि एक सकारात्मक प्रयासका रूपमा हेरिएको छ । कार्यक्रममा उक्त वार्डको वडाप्रत्याशि दिनेश यादब,स्थानिय बासि , संचारकर्मि लगायतहरुको उपस्थिती रहेको थियो ।


