बैशाख १४ गते
मंगलबारदेखि देशभरका विद्यालयमा भौतिक उपस्थिति बन्द गरिएको छ । बैशाख १६ गते देखि काठमाडौं बिरगंज लगायतका विभिन्न सहरमा निशेधाज्ञा जारी गरिएको समाचार आइरहेको छ । परिस्थितिले देशलाई बन्दाबन्दीतर्फ धकेल्दै छ । दोस्रो चरणको लकडाउनले ढोका ढकढक गर्दै छ । यस्तो लागिरहेको छ कि लकडाउन हाम्रो नियति बनेको छ । कोरोनाको कारण विद्यालयमा भौतिक उपस्थिति बन्द भएपछि आज घरमा बसेको पहिलो दिन अघिल्लो वर्षको लकडाउन कसरी बित्यो त स्मरण गर्ने प्रयास गरेकी छु ।
जीवनमा सबैभन्दा बढी गरेको काम के ?
पढ्ने र पढाउने ।
४ वर्ष हुँदा बाबाको हात समातेर विद्यालय टेकेका पाइलाहरु १२ वर्षपछि विश्ववद्यिालय टेक्नुपर्ने बेलामा पुन विद्यालयमा फर्किए । भुमिका बदलियो । चुलबुले बिद्यार्थीलाई पर्फेक्ट शिक्षक बन्नु थियो । बन्ने पर्यत्न जारी नै छ । बिगत १४ वर्ष देखिको एकै खालको दैनिकी देखि घरी घरी आफैँ आजित हुन्थेँ । केहि वर्षयता म आफ्नै दैनिकीबाट अलिक समय ब्रेक खोजिरहेकी थिएँ । यसकारण पनि मेरा लागि लकडाउन अवसर बनेर आयो । दौडधुप वाला जिन्दगीमा झ्याप्प ब्रेक लाग्यो । तर कोरोना माध्यम बनेर आओस मेरो कामना थिएन । न त घरभित्रै बसिरहनु रोजाइ नै थियो । तर समय जे आयो त्यसैलाई अवसर ठानियो । आफनो हिसाबले सदुपयोग गर्ने प्रयास गरेँ ।
जिन्दगीको पूर्णता नै अपूर्णता भित्र भेटिन्छ । यही सोचेर आजसम्म चित्त बुझाउँदै छु । जागिर ,घरव्यवहार र छोराछोरी तेहोरो भुमिकामा बाँधिदा जति नै प्रयास गर्दा पनि कहीँ न कहीँ केही न केही छुटेको जस्तो ,अपुरो जस्तो भान भैरहेको थियो । २ सन्तानको आमा भएर पनि आमा हुनुको सम्पूर्ण आनन्द महशुश गर्न पाइन कि त ,अक्सर यही लागिरहन्छ । “आज त साहराले मम्मा भनिन् ,नानी त आज उभिएकी , बाबुले आज यसो गरे, उसो गरे ।’’ उनीहरुको पहिलो बोली ,पहिलो उभिएको, हिँडेको दृश्य या यस्ता धेरै पल समाचारका रुपमा दोस्रो मानिसका मुखबाट सुन्दा आमा मन चसक्क हुन्थ्यो । जे छुट्यो ,त्यो त सकियो । जे छ त्यसलाई सार्थक बनाउन त सकिन्छ नि । बन्दाबन्दीको त्यो समय छोराछोरीको रंगमा रंगिएको थियो । छोरीको टिकटक ,खेल , पैदल यात्रा या अन्य रहर उसको साथी बनेर हिँडिरहेकी थिएँ । बि र डी मा झुक्किने छोरासँग स्पेस र ग्रहहरुको बारेमा यति धेरै ज्ञान रहेछ, सुनिरहेकी थिएँ । उसको स्पेस मोहसंगै कथा मोह पनि अनौठो छ । उमेरले ६ को दैलो टैक्दैे गरेको उसले हिन्दी ,अंग्रेजी र नेपाली मिश्रित भाषामा अनौठा कथा सुनाउँछ । मामुको पिठिउँमा चढेर हट घोडा हट गर्दै या काँधमा चढेर म बिगर भएँ भन्दै उसले भन्छ “मामु आप तो वन्डरफुल ओमन हो ।’’ म सधैँ यस्तै भैरहन सकूँ ! अघिल्लो वर्ष यतिखेर म यस्तै सोचिरहेकी थिएँ ।
लकडाउनले सामाजिक दूरी बढाएपनि आत्मिक दुरी भने कम गरेको थियो । यादमा मात्र आइरहने देश बिदेशका प्यारा आफन्तसँग धित मरुन्जेल कुराकानी भएको थियो ।जन्म गाउँका पाखापखेरामा घन्किएका भाकाहरु ग्रुप च्याटमा घन्केका थिए । आफ्नै भाग्य भेटन हतार हतार दौडिरहेका साथीहरु बिसौनीमा बसेर गफिरहेका थियौँ । प्रतिकुलतालाई अनुकुलतामा ढाल्दै बिभिन्न वेबिनार र भच्र्यूल साहित्यिक गोष्ठीहरु भ्याएजती उपस्थित भएकी थिएँ । केही कविता ,केही गजल र केही कथा सृजना गर्न भ्याएकी थिएँ ।
त्यतिखेर थाहा भयो सबैभन्दा बढी एक्सपेरिमेन्ट गर्ने ठाउँ त भान्छा पो रहेछ ! भान्छामा पस्ने बित्तिकै आत्तिने म अचेल स्वादले तानिने भएकी छु । त्यसअघि नपाकेका परिकार हिजोआज पाक्दै छन ,त्यसअघि पाकेका परिकार फरक तरिकाले पाक्दै छन् ।
मेरा लागि पुस्तक पढ्नु पनि आफुलाई मिठो लाग्ने खानेकुरा खानु जस्तै हो । हुन त अघिपछि पनि व्यस्तताका बाबजुद पनि पुस्तक पढन समय हुन्छ । छ । अझै लकडाउनले यो क्रमलाई ह्वात्तै बढाइदियो । अघिल्लो वर्ष लकडाउनका सुरुवाती दिनमानै हरेक दिन एक एक पुस्तक पढेँ । घरमा भएका मध्ये नपढेका पुस्तकहरु थोरैमात्र थिए । सत्यजित रोयका कथाहरु ,हंस , घामकिरी ,लाइफ अ बटरफ्लाई, लेभ टोल्सटोइका विश्वप्रसिद्ध कथा लगायतका कृति पढिसकेपछि केही कवितासंग्रहहरु दोहोराएँ । महारानी , कान्छा महारानी, डुमेरो , परित्यत्ता लगायतका थुप्र्रै आख्यान पढेँ । मनभरी पात्र बोकेर अर्कोकुरामा मेरो ध्यान जाँदैन । जतिसुकै लामो किन नहोस आख्यानलाई एकै बसाईमा सिध्याउनुपर्छ । देशको कारण होस, परिवेशको कारण होस ,सम्बन्धहरुका कारण या यावत कारण मन त दुखिरहन्छ । दुखिरहने मनलाई ठ्याक्कै पेनकिलरको काम गर्छन कुनै किताबहरुले । पुस्तक पढ्ने माहोलमा छोराछोरी पनि समावेश भैसकेका थिए । गौरी खण्डकाव्य , एलिस इन द वन्डरल्यान्ड र केही बालकथाहरु उनिहरुले पनि पढे । नेटफिल्क्स र युटुवमा विभिन्न भाषाका सेरिज र फिल्म हेरेर ,योग र घर वरपर सुरक्षित पदयात्रा गरेर सकरात्मक सोचका साथ आशावादी भएर त्यो कठिन समय बितायौँ ।
हम दो हमरा दो वाला परिवारको नियमित आम्दानीको ठुलो हिस्सा ठप्प भएको थियो । त्यो समयमा चिन्ता होइन चिन्तन गर्याैँ । समय भन्दा बलवान अरु के नै छ र ! जिन्दगी आफ्नो हो । अप्ठ्यारो नै सही यो समय फेरी आउनेवाला छैन । पुरा गर्न सक्नेजती रहर बाँच्ने प्रयास गर्याैँ आखिर जिन्दगी यत्तिकै पनि त बितिजान्छ । त्यो कठिन समय पनि बितिगयो ।
तर २०७७ भन्दा अझ कठिन २०७८ हुने सम्भावना देखिँदै छ । कोरोनाको परिधी संगै भय र चिन्ताको परिधी पनि बढिरहेको छ । छिमेकी देश भारतको दर्दनाक अवस्था र हाम्रो देशमा बढदै गरेको कोरोना संक्रमितको ग्राफले हामी सबै स्वयम सचेत बन्नुपर्ने देखिन्छ । देशभित्र र बाहिर हरेक दिन बढिरहेका संक्रमित र मृत्युको संख्याले मन भत भत पोलिरहेको छ । अघिल्लो पटक झैँ यस पटक पनि यो खराब समय पार गर्नु नै छ । कोरोना मेरै वरिपरि छ भन्ने सोचौँ । आ आफ्नो ठाउँमा सबै सजग बनौँ । सुरक्षित रहौँ ।